शहरियालाई जरुरी ‘जंगल थेरापी’

योगी विकासानन्द     २६ फागुन २०७७, बुधबार
शहरियालाई जरुरी ‘जंगल थेरापी’

आजको आधुनिक विज्ञानसँग के कति कारणले मानिसलाई रुघा लाग्छ भन्ने स्पष्ट जवाफ छ। औलो रोगको कारण मानिने सूक्ष्म जीवाणुको विषयमा विज्ञान सुस्पष्ट धारणा राख्न सक्छ। 

रुघा लाग्नुको कारण राइनो भाइरस हो भनेर जसरी औषधि विज्ञानले किटान गर्न सक्छ, त्यसरी नै क्यान्सर लाग्नुको कारण यो नै हो भनेर भन्न सक्दैन। मधुमेह रोग यही र यस्तै कारणले लाग्छ वा लागेको हो भने ठोकुवा गर्न सक्दैन। यसको अर्थ आजको विज्ञानले क्यान्सर र मधुमेह रोग लाग्नाका कारण बताउनैसकेको छैन भन्न खोजिएको होइन। 

दुर्घटनाजन्य उपचार र संक्रमणसम्बद्ध रोगको उपचारका सवालमा मानव जातिले अकल्पनीय उपलब्धि हासिल गर्दै गएको छ। तर, नसर्ने दीर्घ रोगको नियन्त्रण तथा न्यूनीकरण हरेक दिन पेचिलो विषय बनिरहेको छ। दीर्घ रोग किन लाग्छ ? यसको स्पष्ट कारण के हो ? भन्ने विषयमा अनेकौँ अध्ययन र अनुसन्धान भइरहेका छन्। 

हरेक अनुसन्धानले नयाँ–नयाँ तथ्य पस्किरहेको पनि छ। सबै शोधहरूको लगभग मेल खाने निष्कर्ष के हो भने दीर्घ रोग लाग्नाका पछाडि मानिसको अप्राकृतिक जीवनशैली नै मुख्य जिम्मेवार छ। तीव्र शहरीकरणसँगै प्राप्त सुविधाका साधनले मानिसलाई प्रकृतिबाट अलग्याइरहेको छ। प्रकृतिसँग दूरी बन्नाले नै मानिस गम्भीर प्रकारका शारीरिक तथा मानसिक समस्या झेल्न बाध्य छ। 

अबको चुनौती मानसिक रोग 
पछिल्लो ५० वर्षमा पूर्वाेत्तर एसियाको जापान तथा पश्चिममा युरोप र अमेरिकाले विज्ञान र प्रविधिमा ठुलो फड्को मारे। विज्ञान र प्रविधकै कारण यी देश धनाढ्य मात्र भएनन्, उनीहरूले विश्वभर सामाजिक, सांस्कृति, सामरिक र शैक्षिकलगायत प्रभुत्वसमेत कायम गरे। 

अभूतपूर्व भौतिक समृद्धि हासिल गरेका यी देश पनि मानसिक र दीर्घ रोगको भयाभह स्थितिबाट गुज्रिरहेका छन्। हाम्रो देशका दूरदराजका नागरिक हैजाको संक्रमणबाट अकाल मृत्यवरण गर्न बाध्य छन् भने सम्पन्न मुलुकका नागरिक क्यान्सरका कारण अकालमा मरिरहेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० सम्ममा मानसिक रोग मानिसको दोस्रो ठूलो स्वास्थ्य समस्या बन्नेछ भने सन् २०३० सम्ममा त यो पहिलो स्वास्थ्य समस्याका रूपमा अगाडि आउनेछ। अबको १२–१५ वर्षभित्र डिप्रेसन र एन्जाइटी डिसअर्डरजस्ता रोगले आजको क्यान्सर, हृदयरोग र मधुमेहभन्दा पनि भयाभह रूप लिनेछन्। हरेक दीर्घ मानसिक समस्याले शारीरिक समस्यालाई आमन्त्रण गर्छ। 

गम्भीर प्रकारका मानसिक समस्या वा रोग लागेपछि त्यसको उपोत्पादनका रूपमा  शारीरिक रोग लाग्छन्। मानसिक समस्याबाट निम्तने शारीरिक रोगमा हृदयाघात, मधुमेह र क्यान्सर नै पर्छन्। यसरी हेर्दा मानव सभ्यता सन् २०३० को दशकमा पुग्दानपुग्दै मानसिक र असाध्य रोगका कारण थिलथिलो बन्नेछ। 

मानव स्वास्थ्य रक्षाका लागि विगत ५० वर्षमा अनेकौँ कार्य भएका छन्। संसारका अधिकांश मानिसको खानपान सुधारिएको छ। खानेपानीलाई संसारका हरेक मुलुकले उच्च प्राथमिकतामा राखेका छन्। शुद्ध पानी खान पाउने व्यक्तिको अधिकार मौलिक अधिकारका रूपमा स्थापित भएको छ। 

पानीसम्बद्ध समस्याहरू पनि समाधान हुँदै गएका छन्। संक्रमणजन्य रोग लाग्नै नदिने अवस्था निर्माणका लागि शिशु अवस्थाबाटै खोपको प्रबन्ध गरिएको छ। सरसरफाइ सिंगो संसारको प्राथमिक मुद्दा भएको छ। संसारका विपन्न र गरिब भनिएका मुलुकका घरघरमा शौचालय निर्माणको कार्य तीव्र भइरहेको छ। यति गर्दागर्दै पनि मानिस किन रोगी बनिरहेको छ ? 

यतिबिधि प्रयत्नका विपरीत रोगहरू किन घट्दैनन् ? बिफर, दादुरा, पोलियोजस्ता रोगका लागि निश्चित समयको खोप लगाइदिएपछि मानिस लगभग ढुक्क बस्न सक्छ। एउटा खोपले रोग लाग्दैन भनेर आश्वस्त हुने अवस्था छ। तर, त्यही कुरा क्यान्सरमा किन लागू हुँदैन। ठेउलाको सवालमा एउटा खोपले ढुक्क भएजस्तै ढुक्क हुने अवस्था मधुमेहमा किन छैन ? 

प्रकृतिसँगको दूरी 


हामीले आज उपभोग गरिरहेको भौतिक विकास औद्योगिक क्रान्तिबाट प्रारम्भ भएको हो। सन् १७८० को दशकको आसपास बेलायतबाट सुरु भएको औद्योगिकीकरणको प्रतिफल नै आज हामीले भन्ने गरेको एक्काइसौँ शताब्दीको अत्याधुनिक सभ्यता हो। 

अठारौँ शताब्दीको मध्यान्तरलाई आधुनिक विकासको प्रस्थानविन्दु मान्ने हो भने आजभन्दा करिब तीन सय वर्षअघिसम्म संसार भरका मानिसहरूको जीवनशैली उस्तै थियो। किनकि, सबैको जीविकाको आधार कृषि र पशुपालन नै थियो। भूगोल र हावापानीअनुसार कृषि उपज र पशुपालनको आयाममा पृथक्ता भए पनि मानिस कृषि र पशुपालनबाट नै आफ्नो गुजारा गरिरहेको थियो। 

यसरी सिंगो संसार नै कृषिमा आश्रित रहेको युगमा लन्डनमा पनि एउटा किसान दिनभरि खेतमै काम गथ्र्याे। अमेरिकामा पनि अर्काे पशुपालक दिनभरि जंगलमा भेडा चराउन जान्थ्यो। यता काठमाडौँमा पनि गौचरन र खेतमै किसानहरू व्यस्त हुन्थे। 

कृषि समाजमा अधिकांश मानिस दिनभरि घरबाहिर हुन्छन्। केटाकेटी र वृद्धवृद्धा मात्र घरमा बस्ने गर्छन्। कृषिकर्मसँग जोडिएको मानिस दिनभरि नै खेत, जंगल र खलियानमा हुन्छन्। यसरी खेत र जंगलमा हुनु भनेको प्रकृतिसँग हुनु हो। 

अझ १५ हजार वर्षअगाडि त अधिकांश मानिस जंगलमै हुन्थे। जंगलमा हुनु भनेको झन् विशुद्ध प्रकृतिसँग नै एकाकार हुनु हो। 
कृषि र जंगली युगमा रहेका मानिस संक्रमणजन्य रोग र दुर्घटनाका कारण मर्ने गर्थे। तर, उनीहरू दीर्घ रोगको प्रकोपबाट निकै सुरक्षित थिए। 

उतिबेलाको समाजमा नसर्ने रोगहरू कुनै मुद्दा नै थिएनन्। करिव तीन सय वर्षअघि खासै समस्याका रूपमा नरहेका रोगहरू आज मुख्य स्वास्थ्य समस्याका रूपमा किन अगाडि आए भन्ने विषयमा धेरै अनुसन्धान भएका छन्। ती अनुसन्धानले मानिस जब माटो, जंगल वा प्रकृतिबाट टाढियो, तब दीर्घ रोगहरू मुख्य स्वास्थ्य समस्याका रूपमा देखापरे भन्ने स्पष्ट पारेका छन्। 

झन् डरलाग्दो भविष्य
हामीसम्मको पुस्ता त दिनभर कुनै न कुनै शारीरिक क्रियाशीलता भोगेर हुर्कियो। बाल्यकालको अधिकांश समय हामीले व्यायामजन्य खेल खेलेरै बितायौँ। तर, इन्टरनेटको तीव्र पहुँच र प्रयोग भइरहेको वर्तमान समयका बालबालिका घरबाहिर निक्लन छाडेका छन्। 

प्रकृतिसँगको सामीप्य त परै जाओस्, सामान्य शारीरिक क्रियाशीलताबाट समेत नयाँ पुस्ता विमुख भइरहेको छ। यो एकदमै डरलाग्दो अवस्था हो। कोठामा कैद हुँदै गएको यो पुस्ता झनै ठूलठूला मानसिक र शारीरिक स्वास्थ्य समस्याको शिकार बन्ने निश्चित छ। 

डा. जेरी टिनान्टको ‘हिलिङ इज भोल्टेज’ भन्ने विश्वचर्चित पुस्तक छ। दीर्घ रोगहरू किन लाग्छन् भन्ने कारणसँग सम्बन्धित यस किताबले शारीरिक क्रियाशीलता नहुनेबित्तिकै रोग सुरु हुन्छ भनेर स्पष्ट पारेको छ। सामान्यतः कहिल्यै निको नहुने रोग (डिजेनरेटिभ डिजिज) किन लाग्छ भन्ने स्पष्ट जवाफ दिन सकिँदैन। 

तर, डा. टिनान्टले ‘हिलिङ इज भोल्टेज’मार्फत महŒवपूर्ण कारणलाई उजागर गरेका छन्। हाम्रो शरीर ५० देखि सय ट्रिलियन कोषहरू मिलेर बनेको छ। हरेक कोष विद्युत्मार्फत चलिरहेका हुन्छन्। यदि कोषमा हुने विद्युतीय भोल्टेज कम भयो भने कोषको स्वाभाविक सञ्चालनमा अवरोध पैदा हुन्छ। कोष सहज सञ्चालनका लागि हरेक कोषभित्र २२ देखि २५ मिलिभोल्टेजसम्म विद्युत् आवश्यक पर्छ। विद्युत्को कमीका कारण कोष चलेन वा कोषको क्रियाशीलतामा कमी भयो भने हामीलाई असाध्य रोग लाग्न थाल्छ।

कोषलाई आवश्यक विद्युत् आपूर्तिका लागि शारीरिक ‘मोसन’ र मानसिक ‘इमोसन’लाई ठीकठाक राख्नुपर्छ। विद्युतीय भोल्टेज कायम राखिराख्नका लागि शारीरिक क्रियाशीलता वा व्यायाम अनिवार्य शर्त हो। शारीरिक क्रियाशीलताले मात्रै कोषहरूको विद्युत् आपूर्ति सहज हुन्छ। 

अर्काेतर्फ, यदि नकारात्मक विचारलाई दिमागमा लामो समयसम्म राखिराख्यो वा तनावपूर्ण रूपमा बसिरह्यो भने कोषमा आपूर्ति हुनुपर्ने विद्युत्लाई उक्त विचार वा तनावमार्फत उत्पन्न भएको रसायनले नष्ट गरिदिन्छ। यसरी हेर्दा शरीर चलेन भने र मन चाहिनेभन्दा बढी चल्यो भने कोषलाई आवश्यक विद्युत् आपूर्तिमा बाधा पुग्छ। तर, अहिले हाम्रो जीवनशैली नै दिमाग बढी चलाउने र शरीर चलाउँदै नचलाउनेतर्फ अगाडि बढिरहेको छ। यस्तो जीवनशैलीले निको नहुने दीर्घ रोगहरूको बढोत्तरीमा झनै सहयोग पुर्या‍उने निश्चित छ।

‘जंगल थेरापी’ 
मनलाई शान्त र शरीरलाई क्रियाशील गराइराख्नका लागि पछिल्लो समय जंगल थेरापी प्रचलनमा आइरहेको छ। जंगल थेरापी जापानबाट सुरु भएको हो। जंगल थेरापी भन्नाले सामान्य रूपमा जंगलमा गएर हिँड्नु भन्ने बुझिन्छ। यसरी हिँड्दा कम्तीमा पनि तीनचार घण्टा हिँड्नुपर्छ। हिँड्दाखेरि हाम्रा पाँच वटा इन्द्रियलाई खुला गर्नुपर्छ। जंगलमा छिर्नासाथ आउने झ्याउँकिरी र चराचुरुंगीको आवाजमा आफूलाई डुबाउँदै लैजानुपर्छ। 

रूखपातबाट आइरहेका विभिन्न जंगली बास्नालाई महसुस गर्नुपर्छ। जंगलका रूखबिरुवाबाट निस्कने रसायनलाई फाइटोन भनिन्छ। हावामार्फत हामीसम्म आइपुग्ने उक्त रसायनले हामीलाई हानि पुर्या‍उने कीटाणु र ब्याक्टेरियालाई नष्ट गरिदिन्छ। मानसिक शान्तिका लागि संसारमा ‘बर्ड वाचिङ’ अर्थात् चरालाई हेर्ने विधि प्रचलनमा छ। हामी जंगलमा हिँडिरहँदा चराचुरुंगीदेखि बोटबिरुवालाई बडो धैर्यपूर्वक नियाल्न सक्छौँ। 

जंगल थेरापीका क्रममा गोडामा जुत्ता वा चप्पल लगाएको हुनु हुँदैन। खुला गोडा वा छालाले माटो, पानी, हावा र बोटबिरुवाको सम्पर्क प्राप्त गरिरहनुपर्छ। मानसिक तथा शारीरिक स्वास्थ्यका लागि जंगल थेरापी अत्यन्तै प्रभावकारी मान्न थालिएको छ। जापानबाट सुरु भएको यो विधि निकै छोटो समयमा विश्वव्यापी बनेको छ। 

जंगल थेरापी मानिसलाई प्रकृतिसँग साक्षात्कार गराउने विधि हो। जो गाउँमा बस्छ, उसको हरेक दिन खेतबारी, करेसा, खोला, पँधेरो र वनजंगलजस्ता प्राकृतिक क्षेत्रसँग सम्पर्क भइरहन्छ। उनीहरूका लागि यसको आवश्यकता पर्दैन। 

शहरमा बस्नेका लागि मात्र जंगल थेरापी आवश्यक छ। स्वास्थ्यका लागि जंगल थेरापीजस्ता विधि प्रभावकारी हुनु भनेको मानिस प्रकृतिबाट अलग्गिनु हुँदैन भन्ने सन्देश हो। यो सन्देशलाई हामी जति बेवास्ता गर्छाैं, उति रोगको शिकार बन्दै जान्छौँ। 

प्रतिक्रिया