लोमान्थाङको राजदरबारमा एउटा अविस्मरणीय भेट

गुरु केदार बराल     २८ साउन २०८३, बिहिबार
लोमान्थाङको राजदरबारमा एउटा अविस्मरणीय भेट

लोमान्थाङको ऐतिहासिक भूमिमा मुस्ताङी राजपरिवारका २६औँ युवराज जिग्मे सिग्मे परवल विष्टसँग भेटघाट तथा आत्मीय कुराकानी गर्ने अवसर पाएँ। उहाँसँग राजपरिवारको इतिहास, लोमान्थाङको मौलिक संस्कृति, गणतन्त्रपछि राजपरिवारको जीवनशैली तथा तिब्बत–चीनसँग जोडिएको सीमाक्षेत्रका विविध विषयमा कुराकानी भयो।

जीवनको यात्रामा मैले विभिन्न राजदरबारमा पुग्ने, राजपरिवारसँग बसेर संवाद गर्ने तथा धार्मिक परम्पराअनुसार पूजा–आराधना गर्ने अवसर पाएको छु। पूजारी तथा झाँक्रीका रूपमा मेरो आफ्नै साधना र परम्परासँग जोडिएको यात्रा पनि छ। नेपालका विभिन्न राजपरिवारदेखि राजनीतिक नेतृत्व र प्रधानमन्त्रीहरूसम्मसँग बसेर संवाद गर्ने अवसर पाएको अनुभव मसँग छ।

तर लोमान्थाङको राजदरबारमा युवराज जिग्मे सिग्मे परवल विष्टसँग बसेर गरेको कुराकानीले मनमा छुट्टै प्रभाव छाड्यो।

उहाँको सरलता, शालीनता र इतिहासप्रतिको सम्मानसँगै भविष्यका बारेमा रहेको सोच र दृष्टिकोण मलाई निकै राम्रो लाग्यो। राजपरिवारको इतिहास बोकेर पनि उहाँमा कुनै अहंकार देखिनँ; बरु आफ्नो भूमि, संस्कृति र पहिचानलाई कसरी जोगाउँदै आगामी पुस्तासम्म पुर्‍याउने भन्ने विषयमा रहेको चिन्तन र योजनाले मलाई प्रभावित बनायो।

राजा रहेनन्, राजतन्त्र रहेन; तर इतिहास सकिएको छैन। इतिहास कुनै शासन व्यवस्थाको पक्ष वा विपक्ष मात्र होइन, त्यो राष्ट्रको पहिचान र पुस्तौँको अनुभव हो।

लोमान्थाङ आफैँ एउटा जीवित इतिहास हो। यहाँका पुराना दरबार, गुम्बा, कला, वास्तुकला, संस्कार र मौलिक जीवनशैली नेपालको अमूल्य सम्पत्ति हुन्। यिनलाई संरक्षण गर्न सकियो भने लोमान्थाङलाई नेपालको मात्र होइन, विश्वकै महत्वपूर्ण सांस्कृतिक तथा आध्यात्मिक पर्यटन गन्तव्य बनाउन सकिन्छ।

त्यसैले मेरो एउटा आग्रह छ–प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाल सरकारले मुस्ताङ र लोमान्थाङको इतिहासलाई नजिकबाट बुझेर, यहाँको मौलिकता र सांस्कृतिक सम्पदा संरक्षण गर्दै दीर्घकालीन विकासको योजना बनाओस्।

विकास भनेको केवल सडक, भवन र पूर्वाधार निर्माण गर्नु मात्र होइन। आफ्नो इतिहास बचाउनु, संस्कृति जोगाउनु र त्यसैको आधारमा भविष्य निर्माण गर्नु पनि विकास हो।

युवराजसँगको भेटपछि मेरो मनमा एउटा विश्वास अझ बलियो भएको छ–लोमान्थाङको भविष्य उज्यालो हुन सक्छ, यदि यहाँको इतिहास बुझ्ने, संस्कृति जोगाउने र भविष्य देख्ने सोचसँग राज्यको योजना जोडिन सक्यो भने।

आत्मीय भेट, सरल व्यवहार र सकारात्मक सोचका लागि युवराज जिग्मे सिग्मे परवल विष्टप्रति हार्दिक आभार।

लोमान्थाङको राजदरबारमा मैले केवल एक राजपरिवारका सदस्यसँग भेटिनँ–मैले एउटा जीवित इतिहाससँग संवाद गरेँ। 

प्रतिक्रिया