प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणले यतिबेला स्थानीय पर्यटन व्यवसायी र पर्यटनप्रेमीहरूमा नयाँ उत्साह थपेको छ। बर्खाको कठिन मौसम, चुनौतीपूर्ण बेनी–जोमसोम सडक र प्रतिकूल यात्राबीच प्रधानमन्त्री शाह आफैँ सवारी चलाउँदै जोमसोम पुग्नु आफैँमा अर्थपूर्ण देखिन्छ।
जोमसोम पुगेपछि प्रधानमन्त्री शाहले मुक्तिनाथको दर्शनसमेत गरेका छन्। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुपम संगम रहेको मुस्ताङमा प्रधानमन्त्रीको यो भ्रमणले मुक्तिनाथसहित समग्र क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश दिएको छ।
मुस्ताङ केवल हिमाल हेर्ने गन्तव्य मात्र होइन, यो प्रकृति, संस्कृति, धर्म, इतिहास र साहसिक यात्राको जीवन्त संगम हो। मुक्तिनाथ, लोमान्थाङ, कागबेनी, मार्फा, धुम्बातालदेखि दामोदरकुण्डसम्मका धार्मिक तथा प्राकृतिक सम्पदाले मुस्ताङलाई विश्वकै आकर्षक गन्तव्य बन्ने ठूलो सम्भावना बोकेको छ।
प्रधानमन्त्रीको भ्रमणले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ, पर्यटन विकास भाषणले मात्र होइन, गन्तव्यमा पुगेर त्यहाँको वास्तविकता बुझेर पनि हुन्छ। वर्षायाममै मुस्ताङ पुगेर सडक, यात्रा र स्थानीय पर्यटनको अवस्थालाई प्रत्यक्ष अनुभव गर्नुले आगामी दिनमा पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनका लागि थप ध्यान पुग्ने अपेक्षा गर्न सकिन्छ।
स्थानीय व्यवसायीहरू पनि प्रधानमन्त्रीको भ्रमणबाट उत्साहित छन्। उच्चपदस्थ व्यक्तिको भ्रमणले मुस्ताङप्रतिको राष्ट्रिय ध्यान बढाउने र त्यसको प्रभाव आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा समेत पर्ने उनीहरूको विश्वास छ।
मुस्ताङको पर्यटनलाई अझ व्यवस्थित, सुरक्षित र दिगो बनाउन सडक पूर्वाधार, हवाई सेवा, होटल तथा होमस्टे, सरसफाइ, सूचना–प्रविधि र पर्यटक सुरक्षा लगायतका क्षेत्रमा दीर्घकालीन योजना आवश्यक छ।
प्रधानमन्त्री बालेन शाहको यो भ्रमण त्यस दिशातर्फको एउटा सकारात्मक सुरुवात बन्न सकोस्। मुस्ताङको सौन्दर्य हेर्न आउने पर्यटक मात्र होइन, मुस्ताङको सम्भावना बुझेर फर्किने वातावरण बनोस्–यही नै समृद्ध पर्यटनको आधार हो।