सेक्स सम्बन्धी १३ भ्रम 

डा. सुमनराज ताम्राकार     २७ पुस २०७७, सोमबार
सेक्स सम्बन्धी १३ भ्रम 

१) कुमारीत्व सम्बन्धी भ्रम 

कुमारीत्वको कुरा गर्नेबित्तिकै कुमारी झिल्लीको चर्चा धेरैले गर्छन् । पहिलो यौन सम्पर्कमा यो झिल्ली च्यातिने भ्रम धेरैमा रहेको पाइन्छ । अंग्रेजीमा हाइमेन र संस्कृतमा कौमार्य झिल्ली भनिने यो झिल्ली योनिको मुखैमा थोरै भित्रतिर रहेको हुन्छ । कसैमा यो झिल्ली बच्चादेखि नै हुँदैन वा एक कुनामा सानो मात्र हुन्छ । धेरैजसोमा यो झिल्ली इलास्टिकजस्तो योनिको एक भित्तादेखि अर्को भित्तासम्म फैलिएर रहेको हुन्छ । पहिलो सम्भोगसम्म यो भिल्ली योनिमार्गको मुखमा छ भने सम्भोगकाबेला च्यातिएर हल्का रगत आउन सक्छ । तर, सानै उमेरमा खेल्दा, साइकल चलाउँदा, दौडिँदा वा लड्दा, पौडी खेल्दा यो झिल्ली च्यातिन सक्छ । यो झिल्लीको बीचमा महिनावारी हुँदा रगत बग्ने सानो प्वाल हुन्छ । कसैकसैमा यो प्वाल ठूलो भएर त्यसैबाट यौनसम्पर्क सम्भव हुन्छ र बुढेसकालसम्म यो योनिको भित्तामा टाँसिएर रहिरहन्छ । कसैकसैमा यस झिल्लीको बीचमा महिनावारी हुँदा रगत बग्ने प्वाल नभएका कारण रजस्वला हुन थालेपछि सानो शल्यक्रिया गरेर रगत बग्ने बाटो खोल्नुपर्ने हुन्छ । त्यसकारण पहिलो यौनसम्पर्कमा कुमारीझिल्ली फाटेर रगत आएन भन्दैमा पहिलानै यौन सम्पर्क भएको प्रमाण मान्नु सर्वथा गलत हो । कुमारीझिल्ली कुमारीत्वसँग जोडिए पनि यो कुमारीत्वको प्रमाण भने होइन् । 

२) लिंगको आकार सम्बन्धी भ्रम 

व्यक्ति पिच्छे लिंगको लम्बाई र मोटाई फरक हुनसक्छ । उत्तेजित अवस्थामा लिंगमा आउने परिवर्तन उत्तेजना पूर्वको लम्बाई अनुसार नहुन सक्छ । लिंगको लम्बाई भरी मोटाई एकनासको नहुन सक्छ । फेदमा सानो र टुप्पातिर ठूलो हुनसक्छ । विशेषतः पोर्नोग्राफी हेरेकै भरमा व्यक्ति विशेषले आफ्नो यौनाङ्गको आकार सानो वा बाङ्गो भएको तथा आपूmमा यौन क्षमता (यौन सम्पर्क अवधि, शीघ्र स्खलन) कम भएको धारणा बनाउँछ । जुन पूर्णतया गलत छ । कसैको पनि लिंग ठ्याक्कै यति आकारको हुनुपर्छ भन्ने हँुदैन ।लिंग ठूलो हुँदैमा बढी यौन आनन्द प्राप्त हुन्छ भन्ने होइन । सामान्य अवस्थामा योनिको लम्बाई ४ इन्च हुन्छ र छोटो भनिने लिंग पनि यौन सुख दिन पुग्ने हुन्छ ।

लिंगको आकार ठूलो हुँदा धेरै यौन सन्तुष्टि मिल्ने र सानो हुँदा यौन सन्तुष्टि नमिल्ने भ्रम धेरैमा पाइन्छ । कतिपयले यौन सन्तुष्टि बढाउन लिंगको साइज पनि बढाउनु पर्छ भन्ने भ्रम पालेर बसेका हुन्छन् । पत्रपत्रिकामा छापिने लिंगको साइज बढाउने विज्ञापनको पछि लाग्नेहरू पनि थुप्रै हुन्छन् । तर, लिंगको आकार ठूलो हुँदैमा यौन सन्तुष्टि धेरै हुन्छ भन्ने कुरा गलत भएको मेडिकल साइन्सले पुष्टि गरिसकेको छ । यौनविद् रुसेल आइसम्यान्सले १८ देखि २५ वर्षका महिलाहरूमा लिंगको लम्बाइ र चौडाइले यौन सन्तुष्टिमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अनुसन्धान गरेका थिए । अनुसन्धानमा संलग्न महिलाहरूले यौन आनन्दमा लिंगको आकारले कुनै प्रभाव नपरेको बताएका थिए । लिंग साइज जत्रो भए पनि योनीको क्लिटोरिसमा घर्षण हुँदा महिलाले यौन आनन्द पाउँछन् । 

पुरुषहरू आफ्नो लिंगको आकार सानो भएको कुराले धेरै नै तनावमा हुने गरेको पाइन्छ । ब्लु फिल्ममा काम गर्ने कलाकारहरूको जस्तो लामो र मोटो लिंग हुनुपर्ने भन्दै चिन्ता गर्नेहरू पनि भेटिन्छन् । अमेरिकामा गरिएको एक अनुसन्धान अनुसार पुरुषको उत्तेजित नभएको लिंगको लम्बाइ ३ दशमलव ४ देखि ३ दशमलव ७ इन्च र उत्तेजित लिंगको लम्बाइ ५ दशमलव १ देखि ५ दशमलव ७ इन्च हुन सक्ने जनाएको छ । यौन सन्तुष्टिमा लिंगको आकारभन्दा पुरुष र महिलाबीचको प्रेममय प्रक्क्रीडामा भर पर्छ । 

३) धेरै यौन सम्पर्क राख्दा योनी खुकुलो हुन्छ 

धेरै यौन सम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्नु पनि गलत कुरा हो । योनी आवश्यकता अनुसार रक्तसञ्चारको प्रवाह अनुसार आफैँ खुकुलो र कसिलो हुने अंग हो । महिलालाई यौन उत्तेजना नभएको बेला योनीमार्गमा एउटा औँला पसाउन पनि अप्ठ्यारो हुनसक्छ । तर, यौन उत्तेजना भएका बेला कुनैपनि आकारको लिंग यो भित्र सजिलै पस्न सक्छ । अझ बच्चा जन्माउने बेलामा बच्चा निस्कन सक्नेगरी खुकुलो हुन्छ । जसरी आवश्यक भएको बेलामा योनी खुकुलो हुन सक्ने कुरा वैज्ञानिक सत्य हो, त्यसैगरी यौनसम्पर्कपछि योनिले आफ्नो पुरानै आकार ग्रहण गर्ने कुरा पनि वैज्ञानिक सत्य नै हो । जसरी ठूलो गाँस खाना खाँदा मुख र खाना पेटसम्म जाने खाद्यनली खुकुलो वा ठूलो हुँदैन त्यसैगरी यौनसम्पर्कपछि योनी खुकुलो हुँदैन । 

४) महिनावारी भएको बेलमा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारी भएको बेलामा यौन सम्पर्क गर्न मिल्छ । तर, सुरक्षित सम्पर्कमा ध्यान दिनुपर्छ । कन्डम लगाएर यौन सम्पर्क गरेमा संक्रमणबाट बच्न सकिन्छ । यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेलमा सम्भोग गर्ने इच्छा हुन्छ भने कसैलाई हुँदैन । हाम्रो समाजमा महिनावारी भएका बेला यौन सम्पर्क गर्नुलाई राम्रो मानिँदैन । महनावारी हुँदा छुनै नहुने भन्ने मान्यता पनि छ । महिनावारी भएको बेला यौन सम्पर्क गर्नै नहुने भन्ने चाहीँ होइन । 

महिनावारीको बेला यौन सम्पर्क गर्दा महिलालाई भने फाइदा हुन्छ । यस्तो बेलमा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । कतिपय महिलाले अरु बेलाभन्दा महिनावारी भएको बेला सम्पर्क गर्दा बढी आनन्द लिने सन्तुष्ट हुने गर्छन् । तर, असुरक्षित सम्पर्क गरेमा यौन रोग लाग्ने र गर्भवती हुनसक्ने खतरा पनि हुन्छ । महिनावारी सुरु हुँदा प्रोजेस्ट्रोन भन्ने हार्मोनले गर्दा पाठेघरमा कन्ट्र्याक्सन सुरु गराउँछ, जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थ महिनावारीको रुपमा बाहिर निस्कन्छ । यो बेला सम्पर्क गर्दा प्राप्त हुने चरमसुखका बेला पाठेघरमा अझ बढी कन्ट्र्याक्सन हुने भएकाले सम्भोगपछि रगत अलि बढी बग्न सक्छ । जसले महिनावारीको समयावधिलाई कम गर्छ । 

५)हस्तमैथुन र स्वप्नदोषले कमजोरी गराउँछ भन्ने भ्रम 

पूर्वीय दर्शनमा वीर्यको तुलना रगतसँग गरिन्छ । सय थोपा रगत बराबर एक थोपा वीर्य हुन्छ भन्ने मान्यता छ । यसले गर्दा पनि स्वप्नदोष हुँदा या हस्तमैथुन गर्नेहरूले आफूलाई कमजोर भएको ठान्छन् । यौन चाहना पूरा गर्न गरिने हस्तमैथुनले जो कोहीलाई पनि स्वस्थ र फुर्तिलो बनाउँछ । पछिल्लो समयमा विश्वमा चिकित्सकहरूले हस्तमैथुन गर्न हौसाइरहेका छन् । बढ्दो एचआईभी संक्रमण, यौनरोग, बलत्कारजस्ता जघन्य अपराध घटाउन युवालाई हस्तमैथुन गर्न प्रेरित गरिएको छ । 

किशोर÷किशोरीलाई स्वप्नदोषले अलमलमा पारेको हुन्छ । यसलाई रोग, कमजोरी या शारीरिक दोषका रुपमा बुझेर भ्रमित हुने धेरै छन् । विपरीत लिंगीप्रतिको तीव्र आकर्षणले व्यक्तिको मनोदशा विशेष खालको हुन्छ । र, ऊ विभिन्न मानसिक तथा शारीरिक अवस्थाबाट गुज्रन्छ । त्यस्तै, अवस्थामध्ये एक हो स्वप्नदोष जसलाई अंग्रेजीमा नाइटफल वा वेट ड्रिम्स भनिन्छ । राति सुतेका बेला लिंग उत्तेजित भई वीर्य निस्कने र महिलामा योनिरस पैदा हुने अवस्थालाई स्वप्न दोष भनिन्छ । यो युवास्थामा हुने स्वाभाविक र प्राकृतिक प्रक्रिया हो । यो प्रायः १३÷१४ वर्षको उमेरमा सुरु हुन्छ र १८ देखि २१ वर्षको उमेरमा सबैभन्दा बढी हुन्छ । 

हाम्रो समाजमा स्वप्नदोषसम्बन्धी केही भ्रमहरू रहेका छन् । स्वप्नदोष भएपछि टाउको दुख्छ, रिगंटा लाग्छ, शरीर कमजोर हुन्छ, बसेर उठ्दा आँखामा अध्याँरो छाउँछ, कम्मर दुख्छ, मन चञ्चल हुन्छ, स्मरणशक्ति कमजोर हुन्छ लगायत भ्रमहरू रहेका छन् । स्वप्नदोष एकदमै सामान्य र यौनप्रतिको हाम्रो शरीरको प्राकृतिक प्रक्रिया हो । सपनामा यौन क्रियाकलाप गरेको देखेर स्खलित हुनु त आनन्दको विषय हो । स्वप्नदोष न कुनै रोग हो, न कुनै कमजोरी । यसले व्यक्तिलाई यौनका मामिलामा कमजोर बनाउँदैन । महिला÷पुरुष दुवैमा स्वप्नदोष हुन्छ । 

वीर्य स्खलन हुँदा कमजोर हुन्छ भन्नु थुक्दा मुख सुक्यो भन्नुजस्तै हो । पिच्च–पिच्च थुकी रहे पनि मुख सुख्खा हुने गरी कहिल्यै सुक्दैन । वीर्य स्खलन भएर सकिने चिज होइन । अण्डकोष स्वस्थ रहुन्जेल यसको निर्माण प्रक्रिया एकदम तीव्र गतिमा हुन्छ । अण्डकोषको निश्चित भाग जसमा वीर्य बस्ने गर्छ त्यो भाग भरिएपछि यो बाहिर निस्कन्छ । यौन सम्पर्क नगरेको लामो समय भयो वा हस्तमैथुन पनि गरेको छैन भने अण्डकोषमा जम्मा भएको वीर्य स्वप्नदोषमार्फत स्खलित हुन्छ । यो एकदमै सामान्य प्रक्रिया हो । वीर्य पतनबाट कुनै पनि किसिमको हानि हुन्छ भन्नु भोक लागेको मानिसले खाना खाएर वा निन्द्र लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नु जस्तै हो । 

६) गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन ?

दम्पतीहरू बीच गर्भवती अवस्थामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने अन्योल रहेको पाइन्छ । यस विषयमा धेरैले परामर्श लिन पनि अप्ठ्यारो मान्छन् । तर, सामान्य अवस्थामा भन्दा केही सावधानी अपनाएर गर्भवस्थामा पनि यौन सम्पर्क गर्न सकिन्छ । 
गर्भावस्थामा प्रायः महिलालाई यौन इच्छामा कमी आउन सक्छ । तर, केही महिलालाई भने यौन सम्पर्क राख्ने इच्छा बढेको पनि पाइएको छ । गर्भावस्थाको पहिलो तीन महिनामा यौन सम्पर्क राख्नु हुँदैन । यतिबेला गर्भपात हुने सम्भावना हुन्छ । यसैगरी सात महिनापछि पनि यौन सम्पर्क राख्नु हुँदैन । तीन महिनादेखि सात महिनाका बीचमा पेटको बच्चालाई असर नपु¥याउने आसनमा मात्र सम्भोग गर्नुपर्छ । गर्भवती अवस्थामा महिला माथि र पुरुष तल बसेर सम्भोग गर्ने आसन, महिलालाई पछाडिबाट सम्भोग गर्ने आसन प्रयोग गर्नुपर्छ । कन्डम प्रयोग गरेर सम्भोग गर्दा पेटमा हुर्किरहेको भ्रुणलाई इन्फेक्सन हुन दिँदैन । पहिला गर्भ तुहिएकाले सावधानी अपनाउनु पर्छ । 

७) सेक्स अवधि कति हुनुपर्छ ?

सेक्स अवधि यति नै हुनुपर्छ भन्ने कुनै मापदण्ड छैन । तर, धेरै जना शीघ्र पतन तथा ढिला पतनको विषयमा सोचेर हैरान हुने गरेका छन् । पोर्न फिल्ममा देखाइजस्तो लामो अवधि सेक्स गर्न खोज्नेहरू धेरै हुन्छन् । चाँडो वीर्य स्खलन हुने समस्या सापेक्षित कुरा हो । तुलनात्मक रुपमा महिलालाई चरम सुखमा पुग्न ढिलो हुन्छ । त्यसैले पनि पुरुषले शीघ्र स्खलनको अनुभूति गर्छन् । सेक्स अवधिलाई लिएर अनावश्यक चिन्ता गर्नु व्यर्थ छ । आफ्नो यौन पार्टनरसँग राम्रोसँग ‘फोरप्ले’ गरिएको छ भने एकदेखि तीन मिनेटसम्म यौन सम्पर्क गर्दा पर्याप्त हुन्छ । 

८)जी स्पटको भ्रम 

योनीमार्गको अघिल्लो भागमा तथा पिसाब खुल्ने प्वालको साइडमा हुने एकदेखि तीन इन्च लामो सिमी आकारको भागलाई ग्राफेनबर्ग स्पट भनिन्छ । छोटकरीमा यसलाई जी स्पट भनिन्छ । यसलाई महिलाको सर्वाधिक उत्तेजना क्षेत्र मानिन्छ । जी स्पटबारे सन् १९४० देखि नै अध्ययन गरिए पनि यसको आकार, अवस्थिति तथा परिभाषालाई लिएर निकै विवाद छ । सन् २००९ मा बेलायतमा गरिएको एक अध्ययनको निष्कर्ष अनुसार भौतिक रूपमा जी स्पट भन्ने हुँदैन । यो त केवल व्यक्तिगत अनुभूति हो । तर, अल्ट्रासाउन्डको प्रयोग गरी गरिएको अर्को अध्ययनमा सम्भोगका बेला चरमोत्कर्ष अनुभव गरेकी महिलामा जी स्पटको कार्यगत उपस्थिति देखाइएको छ । कतिपयले यो क्षेत्रलाई भगांकुरको फैलावट मान्ने गरेको कारण जी स्पटको उत्तेजनापछि चरमोत्कर्ष प्राप्त हुने विश्वास गर्छन् । 

९) महिलाले पनि गर्छन हस्तमैथुन 

महिलाहरूले पनि आफ्नो यौन सन्तुष्टि पूरा गर्न हस्तमैथुन गर्छन् । यौन साथी नभएको अवस्थामा मानिसले आफ्ना यौनांगलाई आफैँ घर्षण गराएर आनन्द लिने गर्छन् । महिलाहरूले आफूलाई कसो गर्दा सन्तुष्टि मिल्छ त्यही अनुसार हस्तमैथुन गर्छन् । धेरैजसो महिलाले आफ्नो भगांकुर चलाउने, योनीमा केही पसाउनेदेखि संवेदनशील अंगलाई सुम्सुमाएर वा मर्दन गरेर हस्तमैथुन गर्छन् । महिलाले हस्तमैथुन गर्दा योनिमा केही पसाएर आनन्द लिने गरेकाले योनीमा कुनै वस्तु पसाउनुअघि ध्यान दिनुपर्छ । 

१०) बच्चा पाएपछि योनी खुकुलो हुन्छ

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम धेरैमा पाइन्छ । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ । अधिकांश पुरुषलाई बच्चा पाएपछि योनी खुकुलो भयो र सेक्स गर्दा मजा नआएको भ्रम हुन्छ । 

महिलाहरू सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेका कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । यस्तो बेलमा योनीमार्गमा पर्याप्त मात्रामा यौन रस निस्केको हुँदैन । यस्तो बेलमा यौन सम्पर्क गर्दा महिलालाई पीडा हुन्छ । तर, पुरुषहरू चाहीँ कसिलो योनीमा सम्भोग गर्न पाएको भ्रममा हुन्छन् । वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने बुझ्नु आवश्यक छ । महिला सम्भोगको लागि पूर्ण रुपमा तयार हुँदा योनी सधैँ लचकदार हुन्छ । महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रुपमा नै योनी लचकदार हुन्छ । लचकदार योनी खुकुलो नै हुन्छ । खुकुलो योनीमा सम्भोग गर्दा नै चरमसुख प्राप्त हुन्छ । 

११) चरमोत्कर्षबारे भ्रम

अधिकांश पुरुषलाई के भ्रम हुन्छ भने चरमोत्कर्षमा नपुगी महिला पार्टनरको यौन प्यास मेटिँदैन । त्यही भएर उनीहरू चरमोत्कर्षमा पुग्यौ कि पुगेनौ भनी पार्टनरलाई सोध्ने र पुग्न दबाब दिने अथाव यसका लागि सक्दो मेहनत गर्ने गर्छन् । यस्तो संवाद हुनु राम्रै हो । तर, बुझ्नुपर्ने अर्को कुरा के हो भने महिलाहरू यौनका मामिलामा संयमित हुन्छन् । पुरुषलाई झैँ उनीहरूलाई हरेक पटक चरमोत्कर्ष नभए पनि हुन्छ । कतिपय अवस्थमा उनीहरू फोरप्लेमै पनि चित्त बुझाउन सक्छन् । 

महिला यौन सम्पर्कका बेला चरम उत्कर्षभन्दा आत्मीयता र प्रेमको खोजीमा हुन्छिन भन्ने कुरा बिर्सनु हुँदैन । कतिपय पुरुषहरू यौन सम्पर्कका बेला महिलाहरूले आवाज निकाले मात्र उनीहरूले आनन्द प्राप्त गरेको ठान्छन् । अझ अश्लील फिल्म हेर्न पल्केका पुरुषहरूले यो भ्रम धेरै नै पालेका हुन्छन् । वास्तवमा चरम उत्कर्षका बेला महिलाले कुनै प्रतिक्रिया नै देखाउँदैनन् । उनीहरू शान्त हुन्छन् । 

१२) खेलकुदवा अन्य कुनै महत्वपूर्ण काम गर्नुभन्दाअघि यौन सम्पर्क गर्नाले व्यक्तिगत प्रदर्शनमा ह्रास आउँछ भन्ने भ्रम 

विश्वकप, ओलम्पिक लगायत प्रतियोगितामा खेलाडीहरूले आफ्ना श्रीमती वा गर्लफ्रेन्डसँग रात बिताउन नपाउने विषयले बेलाबेलामा चर्चा पाउने गरेको छ ।  कसैले खेल स्थलमा श्रीमती वा प्रेमिका लिएर गएको छ र उसको प्रदर्शनमा खराब भयो भने यौन सम्पर्कका कारण यस्तो भएको भनेर दोष दिने गरिन्छ । यसै विषयमा गरिएको एक स्वीस अध्यायनका क्रममा यौन सम्बन्ध भएको २ देखि १० घण्टापछि स्ट्रेस टेष्ट (तनाव परीक्षण) गर्दा यौन कार्यको २ घण्टापछि व्यक्तिगत प्रदर्शनमा थोरै गिरावट (कमी) आएपनि १० घण्टापछि भने यौनकार्यमा सहभागीको प्रदर्शनमा कुनै कमी नआएको देखिएको थियो । 

१३) कण्डम लगाएर सेक्स गर्दा सन्तुष्टि प्राप्त हुँदैन भन्ने भ्रम 

कण्डम लगाएर सेक्स गर्दा सन्तुष्टि प्राप्त हुँदैन भन्ने भ्रम धेरैमा पाइन्छ । वास्तवमा सही कण्डम छनोट गर्न सकियो भने यसले यौन पार्टनरलाई चरम यौन सन्तुष्टि दिन मद्दत पु¥याउँछ । एक अध्यायन अनुसार कण्डम प्रयोगकर्ता मध्ये करिब ६८ प्रतिशतले गलत साईज वा आकारको कण्डम छनौट गर्ने गरेका छन् । कण्डमको प्रयोगले यौन मज्जा घटाउँछ भन्ने मानसिकतालाई दृष्टिगत गरी कण्डम निर्माताले हाल विभिन्न फ्लेवरका, काँडेदार, ग्रिप, स्किनलेस, निकै पातला कण्डम मार्केटमा ल्याएका छन् । जसको प्रयोग गरेर यौन सम्पर्क गर्दा चरम सन्तुष्टिमा कुनै असर गर्दैन । अझ बढी सन्तुष्टि प्राप्त हुन्छ ।  


 

प्रतिक्रिया