सौन्दर्यमा लेजर उपयोग

डा. धर्मेन्द्र कर्ण, छाला रोग तथा सौन्दर्य विशेषज्ञ     ०५ माघ २०७७, सोमबार
सौन्दर्यमा लेजर उपयोग

लेजर गरेपछि एकदमै सुन्दर भइन्छ भन्ने धारणा गलत हो। मानिसले जन्मिँदै ल्याएको अनुहारको स्वरूप बदलिने होइन। दाग, कोठी पनि पूर्ण रूपमा हटाउन असम्भव हुन्छ। 


लेजर भनेको किरणको माध्यमले उपचार गरिने पद्धति हो। विशेष खालको मेसिनबाट इलेक्ट्रोम्याग्नेटिक रेडिएसनद्वारा यो पद्धतिमा उपचार गरिन्छ। विशेष खालको कृत्रिम प्रकाश, जसलाई मेसिनको सहायताबाट एकत्रित गर्दा खास प्रकारको शक्ति निस्कन्छ, त्यही शक्तिको माध्यमबाट यो विधिमा उपचार हुन्छ। लेजरको प्रयोग कुनै अंगलाई काट्न, प्वाल पार्न, फोर्न, क्षति गर्न र उत्तेजित गर्न प्रयोग गरिन्छ। सबैभन्दा पहिला आँखाको अपरेसनमा प्रयोग भएको यो विधि अहिले मानव शरीरका विभिन्न भागका उपचारमा प्रयोग गरिन्छ। 

सन् १९६० पछि छालाका विभिन्न समस्यामा लेजर प्रयोग हुन थालेको हो। छालाको उपचारमा प्रयोग हुन थालेपछि लेजरलाई कस्मेटिक प्रयोजनसँग पनि जोड्न थालियो। 

लेजर दुई प्रकारका हुन्छन्, एब्लेटिभ र ननएब्लेटिभ। एब्लेटिभ लेजरले छालाको माथिल्लो तहमा घाउ बनाउँछ। ननएब्लेटिभले छालाको माथिल्लो भागमा घाउ नबनाई छालामा असर देखाउँछ। लेजरले अनुहारमा भएका कोठी, ट्याटू, मुसा, जन्मजात रहेका नीलो रङका कोठी निकाल्न र अनावश्यक रौँ हटाउन सकिन्छ। एब्लेटिभ लेजर गर्नुपर्दा लेजर गर्ने भागमा अस्थायी एनेस्थेसिया दिएपछि कोठी तथा दागको प्रकार हेरेर कुन खालको लेजर प्रयोग गर्नुपर्ने हो, त्यो निक्र्यौल गरिन्छ। लेजरमा किरणको माध्यमबाट ‘अनवान्टेड टिस्यू’ लाई हटाउने गरिन्छ। यो पद्धतिमा ब्लेडले चिरेजस्तो नभए पनि दाग तथा धब्बा भएको ठाउँमा एक किसिमको सर्जरी नै भएको हुन्छ।

सीओटू, एर्बियम याग, एनडी याग आदिमध्ये कस्तो समस्यामा कस्तो खालको लेजर प्रयोग गर्ने भन्ने कुरा विशेषज्ञ चिकित्सकले मात्र निक्र्यौल गर्न सक्छन्। अहिले आईपीएल ९इन्टेन्स पल्स्ड लाइट०, जुन एक प्रकारको उपकरण हो, यसलाई लेजर हो भन्दै प्रचार गर्ने गरिएको छ। छालासम्बन्धी विभिन्न रोगमा लेजरले जादु गरेजस्तै क्षणभरमा चट पारिदिने जस्ता भ्रामक प्रचारका कारण धेरैले आफ्नो छालाको भइरहेको सौन्दर्य पनि गुमाइरहेका छन्। आईपीएल एउटै मेसिनमा रौँ हटाउने, डण्डीफोर हटाउने, चायापोतो हटाउने, चाउरीपन हटाउने भन्दै विभिन्न वेभलेन्थ फिक्स्ड गरिएका हुन्छन्। यसलाई सामान्य तालिम लिएकाले जथाभावी ढंगले चलाइरहेका छन्। ब्युटिपार्लरले समेत यस्ता आईपीएल मेसिन राखेर रौँ हटाउने, चाउरी हटाउने भन्दै सेवा दिन थालेपछि थप भ्रम र अन्योल सिर्जना भएको छ। वास्तवमा यो लेजर होइन। लेजरको प्रकारअनुसार त्यसमा छुट्टाछुट्टै वेभलेन्थ सेट गरिएको हुन्छ। कस्तो समस्यामा कुन वेभलेन्थको लेजर प्रयोग गर्नुपर्छ भन्ने जानकारी नभईकन लेजर प्रयोग गर्दा त्यसले नकारात्मक असर देखाउँछ। छालाको समस्यामा कसैले लेजर प्रयोग गर्दै छ भने उसले लेजरको बारेमा राम्रोसँग जानकारी हासिल गर्नुका साथै ऊ छालारोग विशेषज्ञ हुनु पनि जरुरी छ। ‘मेसिन हो, सिकेपछि जसले चलाए पनि हुन्छ’ भन्ने ढंगले जथाभावी लेजर प्रयोग गर्नु हुँदैन। 

अत्याधुनिक एउटै लेजर मेसिनको एक करोड रुपैयाँसम्म पर्छ। त्यसैले लेजर जहाँसुकै सर्वसुलभ ढंगले उपलब्ध छैन भन्ने बुझ्नु जरुरी छ। धेरैले आईपीएल मेसिनलाई नै लेजरका रूपमा प्रचार गरेकाले धेरैलाई लेजरसम्बन्धी भ्रम रहेको छ। 

लेजर गरेपछि एकदमै सुन्दर भइन्छ भन्ने धारणा गलत हो। मानिसले जन्मिँदै ल्याएको अनुहारको स्वरूप बदलिने होइन। दाग, कोठी पनि पूर्ण रूपमा हटाउन असम्भव हुन्छ। त्यसलाई केही मात्रामा कम गरेर नदेखिने बनाउन सकिन्छ। कोठीको साइज ठूलो छ भने प्लास्टिक सर्जरी गरेर हटाउनुपर्छ। कोठी हटाएको ठाउँ र अन्य ठाउँको छालाको रङमा केही अन्तर देखिन्छ। लेजर तथा कस्मेटिक सर्जरी गरेपछि छालालाई घामबाट जोगाउन सकिएन भने विभिन्न खालका समस्या देखिन सक्छन्। 

सौन्दर्य जोडिएका जुनसुकै समस्यामा पनि लेजरले जादुमय प्रभाव देखाउने प्रचारको पछि लाग्दा भइरहेको सुन्दरता पनि गुम्ने खतरा बढी छ। लेजरले अनावश्यक रौँ, कोठी, ट्याटू हटाउन सकिए पनि चाउरीपन पनि लेजर गरेरै जान्छ भनेर कसैले भन्छ भने त्यो गलत हुनेछ। विभिन्न मिडियामा विज्ञापन देखेकै भरमा लेजरका लागि मरिहत्ते गर्नेहरूले सर्वप्रथम लेजरबारे सामान्य रूपमा भए पनि जान्ने कोसिस गर्नुपर्छ। लेजर सेवा उपलब्ध भएका अस्पताल तथा छालारोग विशेषज्ञसँग परामर्श गरेर मात्र लेजर प्रयोग गर्ने कि नगर्ने भन्ने निक्र्यौल गर्न सकियो भने भविष्यमा आउने सक्ने समस्याबाट जोगिन सकिन्छ। 

प्रतिक्रिया