रास्वपाको लुम्बिनी प्रदेश अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न

राम्रो अनलाइन     ३१ जेठ २०८३, आइतबार
रास्वपाको लुम्बिनी प्रदेश अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी प्रथम राष्ट्रिय महाधिवेशनतर्फ उन्मुख रही आयोजना गरिएको लुम्बिनी प्रदेशको प्रथम ऐतिहासिक प्रदेश सम्मेलन तथा निर्वाचन प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। पार्टीका अन्य प्रदेश कमिटीहरूमा आन्तरिक विवाद र मतभेद बाहिर आइरहँदा लुम्बिनी प्रदेशमा भने कुनै पनि विवाद नआई अत्यन्तै सौहार्दपूर्ण वातावरणमा अधिवेशन सम्पन्न हुनुलाई राजनीतिक वृत्तमा निकै सकारात्मक रूपमा हेरिएको छ।

यस ऐतिहासिक र लोकतान्त्रिक प्रक्रियालाई मर्यादित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन केन्द्रीय निर्वाचन आयोगको निर्देशनमा गठित विशेष निर्वाचन समितिले उत्कृष्ट भूमिका निर्वाह गर्‍यो।

केन्द्रीय निर्वाचन आयोगका सदस्य गोकुल सापकोटाको संयोजकत्वमा गठित उक्त समितिमा राहुल केसी, पवनराज देवकोटा, सुदन प्रसाद ज्ञवाली र सुमन धरेल सदस्यका रूपमा क्रियाशील थिए। उम्मेदवारी दर्तादेखि निर्वाचन घोषणासम्मका प्रक्रियालाई विवादरहित बनाउन निर्वाचन कमिटीका सदस्यहरूले अहोरात्र खटेर प्रशंसनीय कार्य गरेका छन्।

अधिवेशनलाई सफल बनाउन लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका जिल्ला सभापतिहरूले खेलेको समन्वयकारी भूमिका र दूरदर्शिताको पनि विशेष प्रशंसा गरिएको छ। जिल्ला नेतृत्वको परिपक्वता र अधिवेशनमा उपस्थित सम्पूर्ण प्रतिनिधि साथीहरूको अनुशासित एवं जिम्मेवार उपस्थितिले गर्दा नै लुम्बिनी प्रदेश रास्वपाभित्र एकताको अनुपम उदाहरण बन्न सफल भएको हो।

अधिवेशन सम्पन्न भएपश्चात् निर्वाचन समिति, जिल्ला सभापतिहरू, निवर्तमान प्रदेश सभापति, महामन्त्री, सह–महामन्त्री तथा सम्पूर्ण प्रदेश कार्यसमितिप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ। निवर्तमान नेतृत्वको योगदानको सम्मान गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई दिइएको छ। व्यक्तिगत पदभन्दा माथि उठेर पार्टीको मूल्य, सिद्धान्त र जनताको अपेक्षालाई केन्द्रमा राखी लुम्बिनी प्रदेशमा रास्वपालाई अझ सशक्त र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्रतिक्रिया