‘साइनिङ’ सुरक्षा 

राम्रो अनलाइन     २८ वैशाख २०७८, मङ्गलबार
‘साइनिङ’ सुरक्षा 

नेपाली फिल्म इन्डस्ट्रीकी ‘साइनिङ स्टार’ सुरक्षा पन्तलाई कुनै समय लाग्थ्यो– फिल्म खेल्नु सबैभन्दा सजिलो काम हो । तीन घण्टाको फिल्म तयार पार्न लामो मेहनत हुन सक्छ भन्ने उनलाई थाहै थिएन । त्यस्तै, अभिनय पनि उनलाई जोसुकैले गर्न सक्ने सहज काम लाग्थ्यो । तर, विगतको आफ्नो धारणालाई अहिले उनी आफैँ आलोचना गर्छिन् । उनको आत्मसमीक्षा छ– फिल्मबारे कल्पना गर्नु र फिल्ममा अभिनय गर्नु फरक–फरक कुरा हुन् । भन्छिन्, ‘एउटा पूर्ण फिल्म बन्नका लागि बाहिर बसेर कल्पना गरेभन्दा धेरै मेहनत आवश्यक हुँदोरहेछ ।’
फिल्म बजारमा सुरक्षा पन्त नाम नयाँ होइन ।  फिल्म ‘धनपति’ले उनलाई हिरोइनका रूपमा चिनाइदियो । सुरक्षाले ‘अझै पनि’, ‘धनपति’, ‘सुस्केरा’ ‘चंगा चेट’ ‘आमा’ लगायत फिल्ममा अभिनय गरेकी । तैपनि, हरेक फिल्ममा अभिनय सुरु गर्दा आफूलाई केही थाहा नभएको ‘अज्ञानी’का रूपमा पाउँछिन् उनी । 

पहिलो पटक अभिनय गर्न जाँदाको क्षण पनि कम रमाइलो छैन उनको । सुटिङ स्पटको दृश्यले उनलाई अचम्ममा पारेको थियो । थुप्रै मान्छेहरू काम गरिरहेका थिए । लाइट लिएर कोही यताउता गरिरहेका थिए । कसैले पहिरनको जिम्मेवारी सम्हालिरहेका थिए । वरिपरिबाट उनलाई घेर्नेहरूको संख्या ठूलो थियो । मान्छेहरू असिनपसिन भएर आ–आफ्ना काम गरिरहेका थिए । उनले यतिबेलै बुझेकी हुन्– फिल्म सानो बुताले बन्दैन ।

कपाल बिग्रिएको छ भने पनि अरूले आएर मिलाइदिन्थे । उनलाई छाता ओढाउन मान्छेहरू खटिएका थिए । अभिनय गरेर पसिनैपसिना भएको, गनाएको उनको कपडा अर्काे मान्छेले मिलाएर राखिरहेको थियो । मेकअप गरिदिनेहरू छेउछाउमा थिए । यो सबै देखेर उनलाई लाग्यो– ‘म त राजकुमारी हुँ कि क्या हो !’ आफैँले गर्न सक्ने काम पनि अरूले किन गरिदिएका होलान् जस्तो लाग्थ्यो उनलाई । पहिलो फिल्म खेल्दाको अनुभव सम्झिँदा अहिले पनि उनलाई रमाइलो लाग्छ । ‘म त मनमनै हाँसिरहेकी हुन्छु,’ उनी भन्छिन्, ‘मानौँ, कमेडी मुभीको कुनै सिन मेरो दिमागमा घुमिरहेको छ ।’ 
उनको पहिलो फिल्म बजारमा आयो । दर्शकले राम्रै प्रतिक्रिया दिए । आफ्नो अभिनय पर्दामा हेर्दा उनी पनि दंग परिन् । 

पहिलो फिल्ममै अभिनयलाई लिएर नकारात्मक प्रतिक्रिया आउन थाल्यो भने यो क्षेत्रमा नलाग्ने सोचसमेत बनाएकी थिइन् । तर, सबैतिरबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि आफूलाई अन्य फिल्ममा पनि अभिनय गर्न हौसला पुगेको उनी बताउँछिन् । त्यसो त शारीरिक पक्षलाई लिएर उनको कुरा नकाटिएको होइन । कतिका लागि त उनको कद आपत्तिको विषय पनि बन्यो । ‘यो हिरोइन अग्ली छैन, फिगर राम्रो छैन’ भन्नेहरू थुप्रै थिए । तर, उनका लागि यस्ता कुराले खासै अर्थ राख्दैनन् । मुख्यतः फिल्ममा अभिनय कस्तो रह्यो भन्ने कुरा उनका लागि महत्वपूर्ण थियो ।

कलाकारलाई दर्शकले पछ्याइरहेका हुन्छन् । उनीहरू धेरैका लागि आदर्शका पात्र बन्ने गर्छन् । सँगै बसेर फोटो खिच्नेदेखि लिएर अटोग्राफ लिन चाहनेसम्म हुन्छन् । फिल्म खेल्न थालिसकेपछि व्यक्तिगत रूपमा केही गाह्रो परिरहेको अनुभव गरिरहेकी छिन्, उदाउँदी अभिनेत्री सुरक्षाले । ‘सामान्य जिन्दगीमा हुने स्वतन्त्रता गायब भएको छ,’ ‘साइनिङ’ सुरक्षा भन्छिन् । आफूले कहिल्यै आदर्श व्यक्तित्व नछानेकी उनलाई अचेल धेरै जनाले ‘तपाईं मेरो आइडियल पर्सन हो’ भन्दै म्यासेज पठाउँछन् । भन्छिन्, ‘यस्तो भएपछि हरेक पाइला ध्यान दिएर चाल्नुपर्दाे रहेछ ।’ सकेसम्म उनी स्वतन्त्र नै हुन खोज्छिन् । बजार जान्छिन्, सडकमा निष्फिक्री हिँड्छिन् । ‘आफू सेलिब्रिटी हुँ’ भन्ने अहंकार उनीसँग छैन । ‘फिल्म खेल्नेबित्तिकै एउटा साधारण मान्छे रातारात विशिष्ट वा विलक्षण हुने होइन ।’ 

आफूले अभिनय गरेको फिल्मको संख्या बढ्दै जाँदा उनको व्यक्तिगत जीवन भने धरापमा पर्दै गएको छ । अन्य कलाकारको जस्तै हिजोआज उनको पनि आलोचना हुन्छ, प्रशंसा हुन्छ । अन्य अभिनेत्रीसँग उनलाई दाँजिन्छ । नचाहँदा–नचाहँदै पनि घेराबन्दीमा परिसकेकी छिन् सुरक्षा । 
अब उनका लागि अभिनयबाट टाढा जान निकै गाह्रो छ । उनका लागि अभिनय गर्नु र ‘मेडिटेसन’ गर्नु उस्तै हो, दुवैबाट आनन्द आउँछ । अभिनयले उनलाई धेरै पाठ पनि सिकाइरहेको छ । ‘फिल्मले मेरो जिन्दगीमा धेरै सकारात्मक परिवर्तन ल्याएको छ,’ उनी भन्छिन् । 

प्रतिक्रिया