काभ्रेपलाञ्चोक–रसुवामा भएको विपद्जन्य घटनाका कारण आज काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको बाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठी छोट्याइएको छ । बिहान ९ बजे सुरु गरिएको उक्त गोठी अपराह्न ५ बजेसम्मका लागि तय भएको थियो तर रसुवा विपद्का कारण बिहान ११ः३० बजे नै समापन भएको छ ।
बाग्मती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा एक वर्षको सुरक्षा स्थिति तथा आगामी सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले आयोजित उक्त गोष्ठीमा मन्त्रालयका मन्त्री सुरजचन्द्र लामिछानेलगायत सङ्घीय गृह मन्त्रालयका सचिवलगायत सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
मन्त्री लामिछानेका अनुसार गृहमन्त्री रमेश लेखकको उपस्थितिमा समग्र सुरक्षास्थितिको समीक्षासहित सुरक्षा निकायलाई निर्देशन दिने आजको कार्यक्रम रसुवा बाढीपहिराका कारण प्रभावित भएको छ । सो कार्यक्रममा गृहमन्त्री लेखक सहभागी हुनसक्नुभएन भने निर्धारित समयभन्दा अघि नै कार्यक्रम समापन गरी सम्बद्ध अधिकारीहरू कार्यक्षेत्रतर्फ प्रस्थान गरिसक्नुभएको आयोजक पक्षले जनाएको छ । उनले भने, “रसुवामा आज बिहानको घटनाका कारण गृहमन्त्रीज्यू आउन सक्नुभएन, उक्त घटनाका कारण हामीले पनि निर्धारित समयभन्दा करिब छ घण्टा कार्यक्रम छोट्याउनुप¥यो ।”
बिहान ८ बजे सुरु हुने भनिएका कार्यक्रम ९ बजे सुरु भई ११ः३० बजे नै सकिएको छ । बिहान सम्पन्न सो कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा तथा नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापाले विभागीय निर्देशन दिएका थिए।
यसैगरी, गृहसचिव गोकर्णमणि दुवाडीले तीनै तहका सरकारबीच समन्वय र सहकार्यका बारेमा प्रस्तुत गरेको सो कार्यक्रममा राष्ट्रिय विपद् न्यूनीकरण प्राधिकरणका प्रमुख दिनेश भट्टले प्रदेशमा विपद्को अवस्था र सरकारले गरेको कामबारे जानकारी गराएका थिए।
यसैगरी, बाग्मती प्रदेश सरकारका मुख्य सचिव भूपाल बरालले भएका समस्या, चुनौती र समन्वय तथा प्रदेशस्तरमा प्रहरी समायोजनका विषयबारे जानकारी गराएका थिए।
गोष्ठीमा प्रदेशस्थित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।