तारकेश्वर–अपेन तारकेश्वर नगरकमिटीको आयोजनामा आज जरन्खु पुलदेखि तारकेश्वर नगरपालिकाको भवनसम्म यूकेजी तहका बालबालिकालाई लक्षित गर्दै भव्य शैक्षिक पैदलयात्रा सम्पन्न भएको छ। १७ विद्यालयबाट करिब ५०० बालबालिकाको सहभागितामा सम्पन्न यो कार्यक्रमले कक्षा बाहिरको वास्तविक परिवेशमार्फत सिकाइको अनुभूति दिलाउँदै बालमैत्री शिक्षाको प्रभावकारी अभ्यास प्रस्तुत गरेको छ।

नगरपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णहरि महर्जन, उपमेयर सृजना बुर्लाकोटी,प्रमुख प्रसासकीय अधिकृत धर्मराज लम्साल र शिक्षा शाखा प्रमुख सुदिन राज बुढाथोकी तथा अपेन तारकेश्वर नगरकमिटीकी अध्यक्ष रेखा शाही हमालले मन्तव्य व्यक्त गर्दै बालसिकाइलाई समुदायसँग जोड्ने ‘हेरेर–बुझेर–सिक्ने’ संस्कारलाई प्रोत्साहन गर्न यस किसिमका गतिविधिको निरन्तरता आवश्यक रहेको बताए ।

कार्यक्रमले स्थानीय सरकारको संरचना, भूमिकासम्बन्धी बालमैत्री ज्ञान बढाउने उद्देश्य राखेको थियो। विद्यालय र नगरपालिकाबीचको साझेदारीलाई मजबुत बनाउँदै साझा उत्तरदायित्वको भावना जगाउने, साथै पैदलयात्रामार्फत अनुशासन, सहयोग, सुरक्षा बोध र सामाजिक व्यवहारजस्ता जीवनोपयोगी सीप अभिवृद्धि गर्ने अभिप्रायसहित कार्यक्रम आयोजना गरिएको थियो।

नगरप्रमुख महर्जन र उपमेयर बुर्लाकोटीले सबै सहभागी बालबालिकालाई मायाको चिनोस्वरूप पेन्सिल र इरेजर वितरण गरे । सुरक्षा तथा व्यवस्थापनका लागि एजल्स नेसनल स्कुलका स्काउट टोली, मारिया मन्टेश्वरी ट्रेनिङ सेन्टरको स्वयंसेवक समूह र नगरप्रहरीको टोलिले सक्रिय सहयोग पुर्याएका थिए।
प्रधानाध्यापक, शिक्षक, विद्यार्थी अन्य कर्मचारी ,पत्रकार र नगरप्रहरीहरुको उत्साहपूर्ण सहभागिताले सम्पन्न उक्त शैक्षिक पैदलयात्रालाई तारकेश्वरमा बालमैत्री शिक्षाको एक प्रभावकारी अभ्यासका रूपमा उच्च प्रशंसा गरिएको छ।






