रङसँग जब भाङ मिल्थ्यो 

राम्रो अनलाइन     ०३ चैत २०७८, बिहिबार
रङसँग जब भाङ मिल्थ्यो 

होली रङको पर्व हो । अहिले होलीमा एक दिन मात्र बिदा दिइन्छ । मधेशमा पनि सायद एक दिन मात्रै मनाउने चलन छ । तर, पहिले मधेशमा होली दुई दिन मनाइन्थ्यो । वीरगञ्जमा मधेश र पहाड मूलका मानिस बसोबास गर्थे । उनीहरूले दुवै दिन होली मनाउँथे । 

म २०२० सालतिर काठमाडौँ आएको हुँ । त्यति बेला काठमाडौँमा अहिलेको जस्तो रङ खेल्ने, लोला हान्ने चलन थिएन । अबीरले होली खेलिन्थ्यो । तर, वीरगञ्जमा भने रङ र अबीर दुवैले होली खेल्ने गरिन्थ्यो । रङ नै बढी प्रयोग हुन्थ्यो । दुई दिन मात्र बिदा भए पनि एक साताअघिबाटै होली खेल्न थाल्थ्यौँ । भाङ खाने चलन थियो । बाटोमा आउने–जानेलाई रङ लगाइदिने, पिचकारीमा पानी भरेर भिजाइदिने गथ्र्यौं । त्यतिखेर पित्तल र बासका पिचकारी हुन्थे । आफू पुराना लुगा लगाउँथ्यौँ । अरूले लगाएको नयाँ र सफा लुगामा रङ छ्यापिदिन्थ्यौँ ।

होलीका दिन खूब भाङ खाइन्थ्यो । भाङ खाने ठाउँ टोलको चोकमा वा कसैको घरमा हुन्थ्यो, जहाँ मान्छे जम्मा हुन सक्छन् । त्यो ठाउँमा दूध ल्याएर, भाङको पात ल्याएर भाङ बनाइन्थ्यो । त्यसरी खाँदा पैसा तिर्नु पर्दैन्थ्यो । अगाडि नै पैसा उठाइन्थ्यो । हामी त केटाकेटी थियौँ । केटाकेटी भए पनि प्रशस्तै खान पाउँथ्यौँ । भाङ खाएपछि कोही नाच्थे, कोही गाउँथे । खूब नाचगान हुन्थ्यो । 

रङ लगाउनेबाहेक अरूलाई सताउने काम पनि हुन्थ्यो । रमाइलो चकचक हुन्थ्यो । साना साइकलका टायर बाटोमा हिँडनेमाथि फ्याँकेर सर्प भन्दै तर्साउँथ्यौँ । पैसा बाँधेर झुक्याउने खेल पनि हुन्थ्यो । एक वा दुई रुपैयाँको नोटलाई धागोले बाँधेर बाटोमा राखिन्थ्यो । बटुवाले नदेख्ने ठाउँमा लुकेर बस्थ्यौँ । पैसा देखेपछि मान्छे टिप्न खोज्थे । टिप्न खोज्दा पैसा पर सथ्र्यो । वरिपरिका मान्छे हाँसेपछि बटुवाले थाहा पाउँथ्यो र लजाएर भाग्थ्यो । 

मेरो बाल्यकाल बितेको कुमाल टोलमा ठूलो रूख थियो । होलीका दिन त्यो रूखमा गाउँका गन्नेमान्ने मान्छेको नाम लेखी पर्चा टाँसिन्थ्यो । युवादेखि बूढाबूढीसम्म सबैका लागि त्यसमा अनेक कुरा लेखिएको हुन्थ्यो । एक किसिमको मनोरञ्जन हुन्थ्यो र समाचार पनि हुन्थ्यो । ती पर्चाका माथि ‘बुरा ना मानो होली है’ लेखिएको हुन्थ्यो । ठूलठूला पिचकारी बोकेर हिँड्नेहरू पनि थिए । कोही गोजीमा मसला बोकेर हिँड्थे । महिला–पुरुष भनेर छुट्टाउने चलन थिएन । तर, एकल महिला र मुस्लिम समुदायका मानिसलाई जबर्जस्ती रङ लगाइँदैनथ्यो । आलुका चानामा अनेक लेखेर छाप लगाउने गरिन्थ्यो । पछि बिस्तारै होलीमा विकृति सुरु हुन थाल्यो । रङ, अबीर, पानीसँगै मोबिल प्रयोग हुन थाल्यो । कहिलेकाहीँ झगडा हुन्थे । भाङभन्दा पनि रक्सी खानेहरूले बढी झगडा गर्थे । 

काठमाडौँ आएपछि अबीरको होली खेलियो । लोला पनि हानियो । त्यतिखेर अबीरकै लोला हुन्थे । त्यो लोलाले कसैलाई हानेपछि अबीर झथ्र्यो । अहिले त त्यो लोला पनि फेरिएर बेलुन भएको छ, पानी हान्ने चलन बसेको छ । 

वीरगञ्ज र काठमाडौँ दुवै होलीको अनुभूति छ, मसँग । वीरगञ्जमा पूरै शहर होली खेल्थ्यो । पूरै कुमाल गाउँ होली खेल्थ्यो । एकअर्कालाई मिठाई, मसला बाँड्ने गर्थे । चोक–चोकमा भाङ बाँड्ने चलन थियो । नचिनेको ठाउँमा पनि भाङ खान पाइन्थ्यो । वीरगञ्जमा भाङ हालेको बर्फी पाइन्थ्यो । त्यो पनि खूब खाइयो । 
काठमाडौँ आएपछि भने होली सीमित भयो । आफ्ना साथीभाइसँग मात्र होली खेलियो । त्यो बेला म चाबहिल बस्थेँ । त्यहीँको एउटा पसलमा भाङ हालेको बर्फी पाइन्थ्यो । नगेन्द्रराज शर्मा, धु्रव सापकोटा, विनोद दीक्षित र म काठमाडौँका सडकमा होली खेल्दै हिँड्थ्यौँ । बानेश्वर, चाबहिल, कालिकास्थानतिर डुल्थ्यौँ । पछि–पछि होली झन्–झन् सीमित हुँदै गयो । 

पछिल्लो समय होलीमा रङ खेलेको छैन । होली नखेलेको १० वर्षभन्दा बढी भयो । उमेरले दिँदन भन्ने होइन तर उमेर हुँदा मात्रै यस्ता कुराको मजा हुँदोे रहेछ । अहिले त बाहिर निस्किएर अरूले होली खेलेको पनि हेर्दिनँ । साथीभाइसँग फोनमा  कुराकानी हुन्छ । केही साथीले आफ्नो घरबाट देखिएका दृश्य सुनाउँछन् । फोनमा होलीका रमझम सुनाउँछन् । 
 
 

प्रतिक्रिया