‘द गार्जियन’ दैनिककी अस्ट्रेलियास्थित राजनीतिक संवाददाता हुन्, एमी रेमिकिस । किशोरी एमीले बलात्कारको आघात सहनुप¥यो । त्यसको १० वर्षपछि उनीमाथि बलात्कारको प्रयास भयो । पीडा, आक्रोश र सवालहरू समेटेर उनले यो स्मृति लेखेकी थिइन् ।
एमी रेमिकिस
म बलात्कृत भएँ ।
लामो समयसम्म मैले यो भयावह घटनालाई विश्वास गर्न सकिनँ ।
उसले मलाई पछाडिबाट गर्धनमा समातेर लडाएको थियो । मैले उसको अनुहार देखिनँ । मेरो नाकमा रम र कोकको गन्ध आइरहेको थियो । त्यस्तो गन्ध आउँदा अहिले पनि मलाई ऐँठन हुन्छ र आतंकका कारण घाँटी सुक्छ ।
मैले जुध्ने प्रयास गरेँ, यथाशक्य प्रतिकार गरेँ । तर, मेरो शक्ति पुगेन । उसले मलाई तानेर अँध्यारोमा घाँसमाथि लडायो । आफूमाथि अत्याचार भइरहँदा मेरा आँखा भने त्यहाँबाट टाढा देखिने चर्चको टुप्पोमा केन्द्रित थिए । म सोचिरहेकी थिएँ– ईश्वरले यस्तो हुने अनुमति कसरी दिन सक्छन्?
उसले मेरो शरीरबाट आफ्नो शरीर उठायो, भद्दा गाली बक्यो र मलाई लात हान्यो । मैले हलचल गर्न छोडिदिइसकेकी थिएँ । चिच्याउन पनि बन्द गरिसकेकी थिएँ । उसले आफ्ना हातले मेरो मुख यति कसेर थुनेको थियो, एक हप्तापछि पनि म आफ्नो गालामा उसको औँलाको बैजनी डाम नियालिरहन विवश थिएँ । पूरै शरीर थर्थराउँदै मेरो श्वास फर्कियो ।
म त्यहाँ लामो समय पल्टिरहेँ । आफूलाई बलजफती उभ्याउनुअघि प्यान्टको फस्नर लगाउने प्रयास गरिरहँदा मैले आफू त्यहाँ किन गएकी थिएँ भन्ने सम्झिएँ ।
ट्वाइलेट पेपर ।
हो, ट्वाइलेट पेपरका कारण म त्यहाँ पुगेकी थिएँ । चौबीसै घण्टा खुल्ने पसलतिर गइरहेकी थिएँ । त्यो पसल मेरो फ्ल्याटभन्दा मात्र १० मिनेट टाढा थियो । त्यो स्थान अत्यन्त सुरक्षित मानिन्थ्यो । केटाकेटी पनि एक्लै पसल जान्थे ।
तत्कालै आत्मसमीक्षा सुरु भयो । प्रहरी अधिकृतकी छोरी भएकाले राति सडकमा एक्लै हिँड्नु हुँदैन भन्ने मलाई थाहा थियो ।
घर पुगुञ्जेल मैले आफूलाई गाली गरिरहेँ । घर पुगेलगत्तै म फेरि राति नै सोही स्थानतर्फ फर्केँ । किनभन,े मैले रुम पार्टनरको जुत्ता लगाएकी थिएँ र एउटा जुत्ता त्यहीँ छोडिएको थियो । त्यसबेला अचानक मलाई पछाडि छुटेको जुत्ता फेला नपारी हुँदैनजस्तो लाग्यो ।
सायद त्यो जुत्ता आफूले झिकेकै स्थानमा जस्ताको तस्तै राखिदिन पाए त्यो रात कहिल्यै नघटेजस्तै हुन्थ्यो कि भन्ने सोच मेरो दिमागमा थियो ।
जुत्ता फेला पारेँ । घाँसे जमिनमा पल्टिरहेको थियो । जुन स्थानमा म एक अलग व्यक्ति बनाइएकी थिएँ, त्यही स्थानको चिह्न बनेको थियो त्यो जुत्ता । मैले त्यसलाई बोकेर घर फर्कें । रगत बगाउँदै म घर पुगेँ र बाथरुममा पसेँ । जबसम्म तातो पानी चिसो बनेर म कठ्यांग्रिइनँ, तबसम्म पानीबाट निस्किनँ ।
त्यसबेला लाजका कारण मैले प्रहरीमा रिपोर्ट लेखाउन सकिनँ । त्यसबेला रिपोर्ट नगरेकोमा म अझै लज्जित छु । मैले उसको अनुहार देखेकी थिइनँ। भर्खर मात्र स्कुल सकेकी थिएँ । आफ्नै भरमा बाँच्न के थालेकी थिएँ, म असफल भएकी थिएँ । म राति एक्लै हिँडिरहेकी थिएँ । केही हुँदैन होला भनेर मैले कसरी सोच्न सकेँ ?
हिचकिचाउँदै साथीहरूलाई भन्ने एउटै प्रयासमा यो कुरा पुष्टि भयो । ‘यति अबेर तिमी किन हिँडेको त ?’ यो सही उद्देश्यले सोधिएको प्रश्न थियो भन्ने अहिले मात्रै मलाई थाहा भयो । साथीहरूले आफू सुरक्षित महसुस गर्न आवश्यक ठानेर यो प्रश्न सोधेका थिए । ‘तिमीले के गल्ती ग¥यौ र त्यो गल्ती नगर्दा ममाथि यस्तो घटना दोहोरिँदैन ?’ उनीहरूको अन्तर्यले सोधिरहेको थियो ।
पीडा घटेकै थिएन । बस्दाखेरि दुख्थ्यो । त्यसबेलै यस्तो प्रश्नले ममा आक्रोशको बीउ रोपिदियो । मेरो गल्तीका कारण ममाथि बलात्कार भएको थिएन । तैपनि मेरो क्रियाकलापको जाँचबुझ गरिँदै थियो । यो घटनालाई मैले आफ्नो मनको सकेसम्म तल्लो पत्रमा पुग्ने गरी धकेलिदिएँ । अस्वीकृतिभित्र मैले यसलाई पुरिदिने प्रयत्न गरेँ । तर, म असफल भएँ । एउटा भयानक हिउँपहिरोले मलाई छोप्यो । छोपिँदै गर्दा मैले सहयोग लिने बाटो रोजेँ ।
जब मैले यसबारे मुख खोलेँ, फेरि त्यही प्रश्न मेरो अगाडि उभियो । त्यति राति तिमी किन बाहिर हिँडिरहेकी थियौ ? तिमी कसरी हिँडिरहेकी थियौ?
एक दशकभन्दा बढी समयपछि यो घटना दोहोरिँदा समेत यही प्रश्नको सामना मैले गर्नुप¥यो ।यस पटक मैले सबथोक ‘सही’ गरेकी थिएँ । म शहरको सबैभन्दा व्यस्तमध्ये एक सडकमा हिँडिरहेकी थिएँ । सडकमा जताततै बत्ती हुनाले पर्याप्त उज्यालो थियो । सीसीटीभी क्यामराको निगरानीमा नभएको स्थानलाई पनि पसलको अग्रभागमा भएका स्टाफले देख्न सक्थे ।
तर, क्लबबाट निस्किँदा उसले मलाई देख्यो र म लम्किँदै गर्दा मेरो पिछा गर्न थाल्यो । म सचेत थिएँ । हातमा फोन र चाबी तयार थियो । मेरो घर पुग्न केही पाइला मात्र बाँकी थियो । मैले बाटो काटेँ । उसले पनि म सँगसँगै बाटो काट्यो । म फेरि बाटो काटेर उही स्थानमा फर्कें । ऊ पनि त्यहीँ आइपुग्यो । म दौडिन थालेँ तर घना ट्राफिकले मलाई त्यसो गर्न दिएन । उसले मलाई अँठ्यायो । खुला चोकमा सबैले देख्ने गरी ऊ कराइरहेको थियो– ‘तिम्रो कपाल, तिम्रो अनुहार मलाई साह्रै मन पर्छ । तिमी मलाई चुम्बन गर्न किन दिन्नौ ?’
त्यसबेला मेरो मुखबाट निस्केको आवाज कुन जन्तुको थियो, मैले चिनिनँ । कसले चिथ¥यो, नंग्य्रायो, त्यस पुरुषलाई आक्रमण ग¥यो ? त्यो पनि मैले जानिनँ । पहिलो झापड लागेपछि गालाको हड्डी चूर भएको महसुस गरेँ । दोस्रो, तेस्रो र चौथो झापडले मेरो अनुहारलाई तरल पदार्थजस्तो बनाइदियो ।
सबैभन्दा खराब क्षण त्यसबेला आइपुग्यो, जब ट्राफिक बत्तीमा एउटा मानिस रोकियो, मसँग आँखा जुधायो र आफ्नो मुन्टो अर्कोतिर फर्कायो । मलाई आक्रमण गर्ने मान्छेले मलाई घिसार्न थालेको थियो । ग्राबेलमा मेरो घुँडा दरफराइरहेको थियोे र ऊ मलाई अँध्यारोतिर तानिरहेको थियो ।
एक दम्पती पनि मलाई देखेको नदेख्यै गरी गाडीमा अघि बढे । तर, उनीहरूमध्ये एकले ‘ऊ तिम्रो छोरी भएको भए के गथ्र्यौ ?’ भनेपछि उनीहरू रोकिए । पछि घरेलु झगडा होला भन्ने ठानेर त्यसरी अघि बढेको उनीहरूले मलाई बताए ।
ज्यानमा भएजति सारा शक्ति लगाइरहेकी थिएँ म । गाडीका दम्पती फुटपाथमा पुगेर रोकिएपछि आक्रमणकारी भाग्यो । म सीधै प्रहरी चौकी गएँ ।
एक जासुसकी छोरीलाई सुहाउने तरिकाले मैले बयान दिएँ । मेरो नङभित्र उसको डीएनए पनि थियो । आधा घण्टाभित्रै ऊ समातियो ।
उसलाई बलात्कार प्रयासको आरोप लगाइयो । तर, हामी अदालत पुग्नुअघि नै एक निवेदन दिएर यसलाई आक्रमणमा मात्र सीमित गरियो ।
अदालती सुनुवाइमा पुग्ने बाटै बन्द भयो ।
फेरि पनि यसका बारेमा कुरा गर्दा मलाई उही प्रश्न सोधियो । त्यति अबेर तिमी किन बाहिर हिँडिरहेकी थियौ ? तिमी कसरी हिँडिरहेकी थियौ ? तिमीले के लगाएकी थियौ ? के तिमी ऊतिर हेरेर मुस्कुरायौ ?
यसपटक पनि ती प्रश्नको अर्थ उही थियोः ‘तिमीले के गल्ती ग¥यौ र हामी त्यो गल्ती गर्नबाट बच्न सक्छौँ ? मैले आफ्नाहरूलाई कसरी सुरक्षित राख्न सक्छु ? म कसरी सुरक्षित रहन सक्छु ?
मैले अदालतका लागि आफ्नो बयानमा सकेजति लेखेँ । मैले न्यायाधीशलाई प्रश्न गरेकी थिएँ, बलात्कारबारेको संवाद एकदम स्पष्ट कुरालाई छोडेर किन तत्काल मेरो क्रियाकलापतिर सोझिन्छ ? किन पुरुषहरू सडकमा महिलामाथि आक्रमण गरिरहेका छन् ? आफ्नै घरमा, पार्कमा, सार्वजनिक यातायातका साधनमा, ट्याक्सीमा अनि डाक्टरले बिरामी जाँच्ने टेबलमा महिलामाथि पुरुषले किन आक्रमण गरिरहेका छन् ? यस्ता सीधा प्रश्नमाथि किन चर्चा हुँदैन ?
मेरो एक जना साथीले भनेअनुसार त्यसरी आक्रमण गर्नेहरू पुरुष होइनन्, पशु हुन् । ‘त्यस्ता जनावरसँग तर्क गरेर के अर्थ ?’ ऊ भन्छ ।
उसको मान्यता गलत छ । बलात्कार गर्नेहरू पशु होइनन्, पुरुष हुन् ।
ती छोरा हुन्, दाजुभाइ हुन् । ती पिता हुन्, पति हुन्, केटा साथी र साथी हुन् । ती सहकर्मी हुन् र तपाईं कफी पिउन जाने क्याफेमा पुग्नेहरू नै हुन् ।
उनीहरू को हुन् ? हामी चिन्छौँ । किनभने, न्यायप्रणालीको सामना गरेका हामी जस्ताले उनीहरूको चारित्रिक प्रमाणपत्र थाहा पाउँछौँ । उनीहरू कति असल व्यक्ति, छोरा, दाजुभाइ, पिता, पति, साथी केटा साथी र सहकर्मी थिए भन्ने हामीलाई सुनाइन्छ, जसले एउटा गल्ती गर्न पुगेका थिए ।
उनीहरू कसरी आफ्ना कर्मले जनाएजस्तो मानिस थिएनन्, उनीहरू कसरी पिएर मात्तिन पुगे र उनीहरूको यो हर्कत कसरी बलात्कार थिएन र त्यो केटी कसरी गलत धन्दामा सामेल थिईजस्ता कुराको वर्णन गरिन्छ ।
उनीहरू दानव होइनन् । तर, बलात्कारको आरोप लागेकालाई दानवका रूपमा प्रस्तुत गर्नु निकै सजिलो छ । किनभने, भूतको खोजी कहाँ गर्नुपर्छ, हामीलाई राम्रोसँग थाहा छ । जिन्दगीभर हामीले यसबारे तालिम लिइरहेका हुन्छौँ । ओछ्यानमै भूत हुँदा पनि हामी त्यसलाई खाटमुनि खोजिरहेका हुन्छौँ ।
ती दानव होइनन् । ती मान्छे हुन् । र, तिनलाई मान्छे वा लोग्नेमान्छे नसोच्ने हो भने गरिएको अपराध र ती अपराध गर्नेहरूबीचको दूरी झनै लामो हुन्छ । एउटा पुरुषले मलाई बलात्कार ग¥यो । अर्कोले बलात्कारको प्रयास ग¥यो । म कसरी हिँडे वा मैले के लगाएकी थिएँ भन्ने कुराको उनीहरूले गरेको कर्मसँग कुनै सम्बन्ध थिएन ।
‘हुन्न’ भन्ने शब्दले रक्षाकवचको काम गर्ने कुनै स्वैरकाल्पनिक स्थानमा बस्नुसँग पनि यसको कुनै सम्बन्ध छैन । बरु पछि गएर पुरुष बन्ने साना केटाहरूलाई पछि गएर महिला बन्ने साना केटीहरूबारे कस्तो कुरा सिकाउँछौँ, त्यसको चाहिँ यस्तो घटनासँग मुख्य सम्बन्ध हुन्छ ।
म भाग्यमानी हुँ, यो कुरा मलाई थाहा छ । त्यसैले म मरेकी छैन । मेरो नाममा कोही जाग्राम बसेका छैनन्, मेरो स्मृतिमा दीप प्रज्वलन भएको छैन । किनभने, जुन नियतिले त्यो बलात्कारीलाई मेरो बाटोसम्म ल्याइदियो, त्यो नियतिले उसलाई हत्यारा चाहिँ बनाएन ।
अझै पनि जब म जति पटक स्कर्टको लम्बाइ, मेकअपको मात्रा अथवा हिँडिएको बाटोबारे कुनै प्रश्न सुन्छु, आक्रोशित हुन्छु । यस्ता प्रश्न गर्ने महिलासँग पनि म आक्रोशित हुन्छु । किनभने आफू कसरी सुरक्षित हुन सकिन्छ, उनीहरू त्यही मात्र जान्न चाहन्छन् । म ती सबैका लागि शोक व्यक्त गर्न चाहन्छु ।