देश बनाउन प्रधानमन्त्री मात्र होइन, सक्षम टोली र सचेत नागरिक पनि चाहिन्छ

गुरु केदार बराल     १९ साउन २०८३, मङ्गलबार
देश बनाउन प्रधानमन्त्री मात्र होइन, सक्षम टोली र सचेत नागरिक पनि चाहिन्छ

“गमलामा फुलेको फूललाई मालीको आवश्यकता पर्छ, तर भिरमा फुलेको फूल आफ्नै संघर्षले फुल्छ।” यो भनाइ केवल प्रकृतिको वर्णन होइन, नेतृत्वको पनि एउटा गहिरो दर्शन हो। संघर्षबाट अघि बढेको नेतृत्वले जनताको आशा बोकेको हुन्छ। तर एउटा फूलले मात्रै बगैंचा सुन्दर हुँदैन। बगैंचाका सबै बिरुवा स्वस्थ र हरियाला हुनुपर्छ। त्यस्तै, एउटा प्रधानमन्त्री इमानदार, मेहनती र दूरदर्शी भएर मात्र देश बन्दैन। उहाँसँग काम गर्ने मन्त्री, कर्मचारी, राजनीतिक दल र नागरिक पनि त्यत्तिकै जिम्मेवार हुनुपर्छ। 

जस्तो उत्कृष्ट ड्राइभर भए पनि यात्रुहरूले नियम नमाने यात्रा सुरक्षित हुँदैन। कुशल पाइलट भए पनि जहाजभित्र अनुशासन नभए गन्तव्यमा सहज रूपमा पुग्न सकिँदैन। राष्ट्र सञ्चालन पनि यही सिद्धान्तमा चल्छ। प्रधानमन्त्रीले दिशा देखाउन सक्छन्, तर त्यो दिशामा देशलाई अघि बढाउने जिम्मेवारी सम्पूर्ण राज्य संयन्त्रको हुन्छ।

आज नेपाली जनताले परिवर्तन खोजेका छन्। त्यो परिवर्तन केवल अनुहारको होइन, व्यवहारको हो। केवल सरकार फेरिने होइन, शासन गर्ने शैली फेरिनुपर्छ। जनताको अपेक्षा पारदर्शिता, जवाफदेहिता, सुशासन र परिणाममुखी कामको हो। बालेन शाहलाई धेरैले आफ्नै संघर्षबाट उठेको, भिरमा फुलेको फूलजस्तो नेतृत्वका रूपमा हेर्छन्। उहाँप्रति जनताको आशा र विश्वास पनि त्यही कारणले निर्माण भएको हो। तर यदि उहाँको वरिपरि रहने मन्त्री, सल्लाहकार र नेतृत्व टोलीले त्यही स्तरको इमानदारी, क्षमता र कार्यदक्षता प्रदर्शन गर्न सकेनन् भने, एउटा व्यक्तिको इच्छाशक्तिले मात्र देशलाई अपेक्षित उचाइमा पुर्‍याउन कठिन हुन्छ।

देशको नेतृत्व गर्ने स्थानमा पुग्नु मात्रै ठूलो कुरा होइनस त्यो जिम्मेवारीलाई परिणाममा बदल्नु अझ ठूलो कुरा हो। मन्त्रीहरू नीतिगत रूपमा स्पष्ट, नैतिक रूपमा दृढ र कार्यान्वयनमा सक्षम हुन सकेनन् भने सरकारको गति स्वाभाविक रूपमा कमजोर हुन्छ। 

सरकारको सफलता प्रधानमन्त्रीको मात्र होइन, सम्पूर्ण मन्त्रिपरिषद्को सामूहिक जिम्मेवारी हो।हामीले अर्को एउटा सत्य पनि बिर्सनु हुँदैन। देशलाई बिगार्ने वा बनाउने जिम्मा नेताहरूको मात्रै होइन। नियम पालना नगर्ने नागरिक, भ्रष्टाचारलाई सामान्य ठान्ने समाज, गलतलाई देखेर पनि मौन बस्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थलाई राष्ट्रिय हितभन्दा माथि राख्ने सोचले पनि देशलाई कमजोर बनाउँछ। त्यसैले परिवर्तनको सुरुवात सरकारबाट मात्र होइन, समाज र नागरिकबाट पनि हुनुपर्छ।नेपाललाई आज व्यक्तिपूजा होइन, प्रणाली सुधार चाहिएको छ। देशप्रेम भाषणले होइन, इमानदार कामले प्रमाणित हुन्छ। 

हामीले कुनै एक व्यक्तिलाई देवत्वकरण गर्ने वा कुनै एक व्यक्तिलाई सबै समस्याको दोष दिने दुवै प्रवृत्तिबाट माथि उठ्नुपर्छ। सक्षम प्रधानमन्त्री, सक्षम मन्त्री, इमानदार कर्मचारी, जिम्मेवार राजनीतिक दल र सचेत नागरिक—यी सबै मिलेर मात्र समृद्ध नेपालको आधार तयार हुन्छ।देश एउटा व्यक्तिले होइन, सम्पूर्ण राष्ट्रले मिलेर बनाउने हो। यदि हामी सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निभायौँ भने मात्र जनताले खोजेको वास्तविक परिवर्तन सम्भव हुनेछ।

देशलाई माया गर्ने हो भने व्यक्तिभन्दा माथि उठेर राष्ट्र, सुशासन र जिम्मेवारीलाई माया गरौँ।

प्रतिक्रिया