केही वर्षअघिसम्म ‘उपचार हुँदैन’ भनेर मानिँदै आएको सेतो दुबीको उपचारमा काम गरिरहेका छन्, छाला तथा सौन्दर्य विशेषज्ञ डा. धमेन्द्र कर्ण । सेतो दुबीको उपचारमा प्रभावकारी मानिएको मेलानोसाइट्स प्रत्यारोपण गर्ने उनी नेपालका एक मात्र चिकित्सक हुन् । १० वर्षयता उनले मेलानोसाइट्स प्रत्यारोपण गर्दै आइरहेका छन् ।
हाम्रो शरीरमा हुने मेलानोसाइटले मेलानिन बनाउँछ । यसले छालामा रङ दिने काम गर्छ । मेलानिन जसको छालामा बढी हुन्छ, त्यो व्यक्ति कालो देखिन्छ । जसको छालामा मेलानिन कम हुन्छ, त्यो व्यक्ति गोरो देखिन्छ । नेपालीको छाला न धेरै कालो न धेरै सेतो, गहुँगोरो खालको हुन्छ । कुनै पनि व्यक्तिको छालामा रङ बढी भएमा त्यो कालो दागका रूपमा लिइन्छ भने कम भएमा सेतो दागका रूपमा लिइन्छ । अनुहार तथा शरीरको विभिन्न भागमा देखापर्ने यस्तो सेतो दाग (जसलाई सामान्य भाषामा सेतो दुबी भनेर चिनिन्छ) कुनै रोग होइन । यो छालामा हुने एक प्रकारको समस्या हो । जुन शरीरमा रङ दिने कोषहरूमा कमी भएर देखापर्छ । हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता हुन्छ । यो अटो इम्युनिटी डिसअर्डरबाट देखापर्ने समस्या हो । हाम्रो शरीरमा रहेको रोग प्रतिरोधक क्षमताले उल्टो असर देखाउँदा यो समस्या देखापर्छ । छालालाई रङ दिने कोशिका मेलानोसाइटलाई रोग प्रतिरोधक क्षमताले खाइदिएपछि छालाको स्वाभाविक रङ परिवर्तन भएर सेतो देखिन थाल्छ । यो समस्या जुनसुकै उमेरमा पनि देखापर्न सक्छ । १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा बढी देखापर्छ । सेतो दुबी प्रायः शरीरको धेरै चलिरहने अंगमा देखापर्छ । आँखा वरिपरि, ओठ, कम्मर, कुइना, घुँडामा बढी देखिन्छ ।
छालाको स्वाभाविक रङभन्दा भिन्नै देखिनेबाहेक यसबाट कुनै हानि हुँदैन । ‘मेरो अनुहार वा हातगोडा अरूको भन्दा भिन्न देखियो’ भनेर हीनताबोध हुनेबाहेक यसबाट अन्य स्वास्थ्य समस्या केही हुँदैन । केही वर्षअघिसम्म निको नहुने समस्याका रूपमा रहेको सेतो दुबीको उपचार सम्भव हुन थालेको धेरै भइसक्यो । यसलाई रोगका रूपमा नलिने र सेतो दुबी देखिएकै कारण हीनताबोध नगर्ने कतिपयले यसको उपचार पनि गराउँदैनन् । छालाको रङ सेतो हुने यो समस्याले हेर्दा नराम्रो देखिनेबाहेक अन्य केही समस्या गर्दैन । यसलाई मेडिकल भाषामा ल्युकोडर्मा, भिटिलिगो भनिन्छ । बोलचालको भाषामा सेतो दाग, श्वेत कुष्ठ, दुबी, पाण्डुरोग, फुलबहरी आदि नामले चिनिन्छ ।
हाम्रो समाजमा सेतो दागलाई कुष्ठ रोग मान्ने भ्रमसमेत पाइन्छ । यो समस्यालाई संक्रामक सोच्नेहरू पनि छन् । यो समस्याले कसैलाई हानि पुर्याउँदैन । यो एक व्यक्तिबाट अर्कोमा सर्दैन । यो सरुवा रोग होइन । यसको सामान्य लक्षण छालाको प्राकृतिक रङ मधुरो हुँदै जानु हो । यस्तो सेतो दाग चिलाउने, दुख्ने वा पोल्ने केही पनि हुँदैन । यस्तो दाग भएको ठाउँमा छालाको संवेदशीलतासमेत सामान्य हुन्छ ।
उपचार
नेपालमा सेतो दागको सबै खाले उपचार उपलब्ध छ । यसको उपचार सामान्य रूपले औषधि, क्रिमद्वारा समेत गरिन्छ । यसमा फोटोथेरापी पनि उपयोग गरिन्छ । औषधिबाट उपचार सम्भव नभए शल्यक्रिया गरिन्छ । सानो दागलाई शल्यक्रिया गरी निकालेर टाँका लगाउन सकिन्छ । यसका लागि छाला प्रत्यारोपण आवश्यक हुँदैन । ठूलो दाग हटाउन भने छाला प्रत्यारोपण आवश्यक हुन्छ । त्यस्तै, लेजर शल्यक्रिया पनि प्रभावकारी मानिन्छ । सेतो दाग छोप्न ट्याटू बनाउने गरेको पनि पाइन्छ । मेलानोसाइट कल्चर, प्लेटलेट रिच प्लाज्मा र मेलानोसाइट ट्रान्सप्लान्टेसन गरेर पनि यसको उपचार गर्न सकिन्छ ।
मेलानोसाइट प्रत्यारोपण अत्याधुनिक पद्धति हो । यसका लागि शरीरको छालाको सानो टुक्रा काटिन्छ । त्यसको रङ बनाउने कोषलाई छुट्याएर त्यसलाई तरल पदार्थमा परिवर्तन गरिन्छ । यो तरल पदार्थ जहाँ सेतो दाग छ, त्यहाँ लगाइन्छ । यसो गर्दा छालाको पहिलाको जस्तै रङ बन्छ ।
एक सय वर्ग सेन्टिमिटर छालाको मेलानोसाइट प्रत्यारोपणका लागि १० वर्ग सेन्टिमिटर स्वस्थ छाला चाहिन्छ । यसअन्तर्गत स्वस्थ छालालाई एउटा रसायनमा राखेर छालालाई रङ दिने कोष छुट्याएर यसको झोल बनाइन्छ । यो झोललाई सेतो दाग भएको छालाको पहिलो पत्र निकालेर लगाइन्छ । यसको सफलताको दर ९५ प्रतिशतभन्दा बढी रहेको छ । छाला पूर्ण रूपमा पहिलेझैँ हुन एक महिनादेखि तीन महिनासम्म लाग्न सक्छ । कपालमा सबैभन्दा बढी मेलानोसाइट हुने भएकाले कपालबाट छालालाई रङ दिने तत्व निकालेर प्रत्यारोपण गर्दा छाला काट्नु पर्दैन ।
फोटोथेरापी
अल्ट्राभ्वाइलेट रेज घामबाट निस्कने प्राकृतिक किरण हुन् । आँखाले देख्न नसकिने यी किरणले मानव शरीरमा फाइदा तथा बेफाइदा दुवै पु¥याउँछन् । विभिन्न किसिमका यूभी रेजहरू ए, बी, सीमध्ये यूभी बी छालाका विभिन्न रोगमा उपयोगी हुन्छ । फोटोथेरापी भन्नाले प्रकाशको किरणद्वारा विभिन्न छाला रोगको उपचार गर्ने प्रविधि हो । केही छाला रोग घाममा बस्दा सुधार हुने कुरा सत्य नै हो । किनभने, सूर्यको किरणमा यूभी ए र बी हुन्छ । घाममा बस्दा उपयुक्त मात्रामा सूर्यको किरण शरीरको पूरै भाग वा चाहिएको भागमा लाग्दैन । तर, फोटोथेरापीमा कृत्रिम यूभीए र बीको वैज्ञानिक तरिकाबाट चाहिनेजति मात्रामा सूर्यको किरण उत्पन्न गरिएको हुन्छ ।
फोटोथेरापी दुई किसिमका हुन्छन्, यूभी ए र यूभी बी । यूभीए फोटोथेरापी प्रयोग गर्दा चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गरेर वा लगाएर सेक्नुपर्ने हुन्छ । यूभी बीको नयाँ फोटोथेरापी प्रविधिलाई न्यारो ब्यान्ड फोटोथेरापी भनिन्छ । यसमा कुनै प्रकारको औषधि सेवन नगरीकन फोटोथेरापी मेसिनमा सेकिन्छ । सामान्यतया फोटोथेरापीको प्रयोग विभिन्न रोग (सेतो दुबी, कत्ले रोग, शरीरको एलर्जी, घामको एलर्जी, जीउमा चिलाउने कालो दाग, डाबर आदि) को उपचारमा प्रयोग गरिन्छ ।
फोटोथेरापीले कसरी काम गर्छ
यसले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरेर छालाको एलर्जी, डाबर तथा सुक्खापनलाई घटाउँछ । छालाको कोषलाई सुक्खा हुनबाट जोगाउँछ । फोटोथेरापी सुरु गर्नुअघि पर्याप्त मात्रामा तैलीय पदार्थ प्रयोग गर्नुपर्छ । यो साधारणतया हप्तामा तीन चोटि गरिन्छ । जति–जति सुधार हुँदै जान्छ, यसको डोज घट्दै जान्छ । हप्तामा तीन पल्टबाट हप्तामा दुई पल्टबाट हप्तामा एक पल्ट हुँदै जान्छ ।
न्यारो ब्यान्ड फोटोथेरापी अत्याधुनिक प्रविधि हो । यसमा औषधि सेवन गर्नुपर्दैन । यो प्रविधि गर्भवती महिला, स्तनपान गराउने महिला, रक्सी सेवन गर्ने व्यक्ति, बच्चादेखि वृद्धलाई तथा मधुमेह, उच्च रक्तचाप, जीर्ण कलेजो र मिर्गाैलाको समस्या भएका बिरामीलाई समेत दिन सकिन्छ ।