फिल्म क्षेत्र छोडेर अन्यत्र मोडिन मन छैन : नीता 

राम्रो अनलाइन     ०८ जेठ २०७८, शनिबार
फिल्म क्षेत्र छोडेर अन्यत्र मोडिन मन छैन : नीता 

बालकलाकारका रूपमा सात वर्षको उमेरमै फिल्ममा अभिनय गर्न थालेकी अभिनेत्री नीता ढुंगानाले फिल्म क्षेत्रमा स्थापित हुन अरूले जस्तो धेरै संघर्ष गर्नुपरेन । आठ वर्षको उमेरमा फिल्म ‘मितिनी’ र ११ वर्षको हुँदा उनले ‘अजम्बरी नाता’ फिल्ममा अभिनय गरिसकेकी थिइन । सुर्खेतमा जन्मेकी, हेटौँडा र काठमाडौँमा बाल्यकाल बिताएकी उनले एसएलसी परीक्षा दिएपछि निर्देशक दीपक रायमाझीको फिल्म ‘चाँडै आऊ’ बाट डेब्यू गरेकी हुन् । 

यो फिल्मभन्दा पछि सुटिङ भएको ‘हाम्रो माया जुनीजुनीलाई’ पहिला रिलिज भयो । ३२ वटाभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी नीता ‘नोटबुक’ फिल्मबाट भने दर्शकमाझ चिनिएकी हुन् । यो फिल्मबाट उनले ‘बेस्ट एक्ट्रेस’को अवार्ड पाएकी थिइन् । ‘नोटबुक’ फिल्मको ‘गाला रातै’ बोलको गीतमा उनले गरेको नृत्यको धेरै नै प्रशंसा भएको थयो । यो फिल्ममा उनले गरेको अभिनयलाई दर्शकले रुचाएका थिए । नीर शाहले निर्देशन गरेको ‘मसान’ फिल्मबाट उनले राष्ट्रिय अवार्ड जितेकी थिइन् ।

दीपकराज गिरी र दीपाश्री निरौलालगायत अन्य हास्यकलाकारले मिलेर बनाएको पहिलो फिल्म ‘६ एकान ६’ बाट पनि नीताले प्रशस्त प्रशंसा बटुलिन् । यो फिल्मको सफलतापछि दीपकराज र दीपाश्रीले ‘वडा नं. ६’, ‘छक्का पन्जा’ र ‘छक्का पन्जा २’ फिल्म निर्माण गरिसकेका छन् । आफूले अभिनय गरेको फिल्म हिट भएर एउटा बलियो ब्यानर निर्माण हुन सक्नुलाई नीता आफ्नो ठूला सफलता ठान्छिन् । ‘मैले अभिनय गरेको ‘६ एकान ६’ हिट नभएको भए दीपक र दीपाले अरू फिल्म बनाउनुहुँदैनथ्यो होला,’ उनी भन्छिन्, ‘उहाँहरूको ब्यानर पनि यति सशक्त हुँदैनथ्यो होला । त्यही भएर सुपरडुपर हिट फिल्म ‘६ एकान ६’ मा मुख्य अभिनेत्रीका रूपमा अभिनय गर्न पाउनु मेरो करिअरको महत्वपूर्ण टर्निङ प्वाइन्ट हो । नीताले अमेरिकाको सनफ्रान्सिस्कोमा भएको नेपाली फिल्म फेस्टिभलमा  ‘पञ्चायत’बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी थिइन् । सात वर्षको उमेरदेखि सक्रिय भएको फिल्म क्षेत्र छोडेर अन्यत्र मोडिने कुनै चाहना नभएको नीता बताउँछिन् । 

नीता उनले अभिनय गरेका फिल्मका कारणले मात्र हिट छैनन् । औपचारिक कार्यक्रममा सहभागी हुँदा उनले लगाउने पहिरनका कारण पनि उनको चर्चा हुने गरेको छ । नीता सहभागी भएका अधिकांश कार्यक्रममा उनको पहिरनको विशेष चर्चा हुने गरेको छ । ‘म ड्रेसमा खासै ध्यान दिन्नँ तर अरूभन्दा फरक देखिने पहिरन होस् भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘त्यही फरक खालको पहिरनले नै मलाई चर्चामा ल्याउने गरेको छ । सेलिब्रिटी भएपछि अरूले नोटिस गरोस् भन्ने त भइहाल्छ । त्यही अनुसारको ड्रेसअप गर्दा मेरो चर्चा हुने गरेको छ ।’ 
 

प्रतिक्रिया