काठमाडौं– निश्चल बस्नेत र स्वस्तिमा खड्का आगामी फिल्म ‘बेहुली फ्रम मेघौली’लाई लिएर उत्साहित सुनिएका छन् । शुक्रबार फिल्मको नयाँ गीत सार्वजनिक गर्न आयोजित प्रेसमिटमा यो जोडी एकै रङको ‘लाइट ग्रीन’ पहिरनमा आकर्षक पनि देखिए ।
दशैंको फूलपातीमा रिलिज हुने यो सोसल–कमेडी फिल्ममा निश्चल अभिनेताको रुपमा छन् । स्वस्तिमा भने निर्मात्री र अभिनेत्रीको भूमिकामा प्रस्तुति छिन् । उनको प्रोडक्सन कम्पनी मेघौली फिल्म्सले निर्माण गरेको यो पहिलो फिल्म हो ।

उनीहरुले पत्रकार सम्मेलनमा मेकर र एक्टरको रुपमा आफ्ना दायित्वबारे कुरा गरे । निश्चलले धेरै बोलेनन्, जति बोले तौलिएर बोले । उनको यस्तो शैलीको जवाफ पत्रकारले सोधेका उनको निजी र पारिवारिक जीवनबारेका प्रश्नमा केन्द्रित थिए ।

‘दिमाग खराब’पछि निश्चल-स्वस्तिमाको यो नयाँ फिल्म हो । चितवनको मेघौली परिवेशमा बुनिएको यो कथा पारिवारिक र हास्य तत्व रुचाउने दर्शकलाई प्रिय लाग्न सक्छ ।


