काठमाडौँ—सन् १९९४ मा जब ‘द हिडन ट्रेजर’ ले नेपालमा मिस नेपालको यात्रा सुरु गर्यो, धेरैका लागि यो केवल ग्ल्यामर, सुन्दर पहिरन र चमकधमकपूर्ण मुकुट पहिरिने एउटा मञ्च मात्र थियो। तर, तीन दशक लामो यात्रा पूरा गरी सन् २०२४ मा आफ्नो ३०औँ वार्षिकोत्सव मनाइसक्दा यस प्रतियोगिताले नेपाली समाजमा सौन्दर्यको परिभाषा नै बदलिदिएको छ। आज मिस नेपाल केवल रूपको चमक मात्र होइन, यो बौद्धिकता, नेतृत्व, सामाजिक दायित्व र महिला सशक्तिकरणको एउटा बलियो पर्याय बनेको छ।
राजधानी काठमाडौँमा हरेक वर्ष आयोजना हुने नेपालकै सबैभन्दा पुरानो र ठूलो यो राष्ट्रिय सौन्दर्य प्रतियोगिताले ३० वर्षको अवधिमा ७०० भन्दा बढी युवतीहरूलाई आत्मविश्वास र नयाँ सोचका साथ अघि बढ्ने मञ्च प्रदान गरिसकेको छ।
कुनै पनि संस्थाका लागि तीन दशकसम्म निरन्तरता पाउनु सहज थिएन। विविध सामाजिक चुनौती, बदलिँदो धारणा र आलोचनाहरूलाई पार गर्दै द हिडन ट्रेजर र मिस नेपालले सन् २०१९ र २०२० मा आ–आफ्नो २५औँ वार्षिकोत्सव (सिल्भर जुब्ली) मनाएका थिए। यस अवधिमा संस्थाले सौन्दर्य प्रतियोगिताको वास्तविक मर्म र उद्देश्यको खोजी गर्यो।
नतिजास्वरूप, आज मिस नेपालको मञ्चबाट निस्किएका प्रतिभाहरू फेसन र मोडलिङमा मात्र सीमित छैनन्, उनीहरू राजनीति, सामाजिक कार्य, उद्यमशीलता, चिकित्सा, पत्रकारिता र वातावरण संरक्षण जस्ता विविध क्षेत्रमा देशको नेतृत्व गरिरहेका छन्।
‘हाम्रो उद्देश्य अर्थात् खजानाबाट त्यस्ता अनमोल रत्नहरू पहिल्याउनु हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सच्चा ब्रान्ड एम्बेसडर बनेर नेतृत्व गर्न सकून्,’आयोजक द हिडन ट्रेजरको भनाइ छ।
मिस नेपालको मुख्य दर्शन ‘उद्देश्यसहितको सौन्दर्य’ मा आधारित छ। यस प्रतियोगिताले जोड दिने मुख्य विषयहरू हुन्ः
सामाजिक उत्तरदायित्वः प्रत्येक सहभागीले समाज वा वातावरणका लागि ठोस योगदान पुर्याउने प्रतिबद्धता जनाउनुपर्छ।
सशक्तिकरण र नारीवादः महिलालाई आफ्ना विचार स्पष्टसँग राख्न र नेतृत्व लिन सक्षम बनाउने।
मानवीय मूल्यः दया, नम्रता, दृढ संकल्प र एकता जस्ता गुणहरूलाई पहिलो प्राथमिकतामा राख्नु।
हाल मिस नेपालका विजेताहरूले विश्वका सर्वोच्च अन्तर्राष्ट्रिय प्रतियोगिताहरू—मिस वर्ल्ड, मिस अर्थ, मिस इन्टरनेसनल र सन् २०२५ देखि थपिएको मिस कस्मोमा नेपालको झण्डा फहराउँदै आएका छन्।
विगत एक दशकमा नेपाली सुन्दरीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेका सफलताहरू केवल व्यक्तिगत जित मात्र होइनन्, तिनले नेपालको सामाजिक र वातावरणीय सचेतनालाई विश्वसामु चिनाएका छन्।

ऐतिहासिक सुरुवात (२०१३ इसानी श्रेष्ठले मिस वर्ल्ड २०१३ मा प्रतिष्ठित) ब्युटी विथ अ पर्पजु अवार्ड जितेर इतिहास रचिन्। यो कुनै पनि नेपाली प्रतियोगीले अन्तर्राष्ट्रिय मञ्चमा पाएको पहिलो सबैभन्दा ठूलो सम्मान थियो।
विरासतको निरन्तरता (२०१८ र २०१९) श्रृङ्खला खतिवडाले मिस वर्ल्ड २०१८ मा ‘ब्युटी विथ अ पर्पज’ जित्दै नेपालको साख कायम राखिन् भने अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ मा ‘ब्युटी विथ अ पर्पज’ र ‘मल्टिमिडिया अवार्ड’ दुवै जितेर नेपालको उपस्थिति झनै बलियो बनाइन्।
क्षेत्रीय र वातावरणीय पहिचान ९२०२२०स् प्रियंका रानी जोशीले मिस वर्ल्ड २०२२ मा ‘ब्युटी विथ अ पर्पज (एसिया र ओशिनिया) अवार्ड हात पारिन्। सोही वर्ष मिस अर्थ २०२२ मा डा. सरिशा श्रेष्ठले ुबेस्ट इको–भिडियो अवार्ड (एसिया र ओशिनिया) जितिन्।
सिर्जनशीलता र प्रतिभा (२०२४ र २०२५) मिस अर्थ २०२४ मा सुमना केसीले ‘अपसाइकल एलायर कम्पिटिसन’ मा रजत पदक जित्दै दिगो फेसनको सन्देश दिइन्। लगत्तै मिस अर्थ २०२५ मा सोनी गलेले ‘ट्यालेन्ट राउन्ड’ मा स्वर्ण पदक जितेर नेपालको प्रतिभाको डङ्का बजाइन्।
मिस नेपालको यात्रा आज सामाजिक परिवर्तन र विश्वव्यापी पहिचानको एउटा मुख्य माध्यम बनेको छ। ३० वर्षको यो यात्राले के स्पष्ट पार्छ भने—सच्चा सौन्दर्य त्यो होइन जसले आँखालाई लोभ्याउँछ, बरु सच्चा सौन्दर्य त्यो हो जसले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ र अरूका लागि प्रेरणाको स्रोत बन्दछ।