काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस केन्द्र, प्रदेश, जिल्ला र पालिका तहमा भव्य रूपमा मनाउने निर्णय गरेको छ । यही साउन १३ गतेको रास्वपा केन्द्रीय समितिको बैठकले अन्तरराष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले पूर्वमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई अन्तरराष्ट्रिय युवा दिवसको आयोजक समितिको संयोजकको जिम्मेवारी दिएको छ । आयोजक समिति सदस्यमा केन्द्रीय सदस्य, सांसद एवं पार्टीका युवा नेताहरू हिमेश पन्त, कमल सुवेदी, खगेन्द्र सुनार, केपी खनाल, निशा श्रेष्ठ, चन्दनकुमार ठाकुर, भरत केसीलगायत रहेका छन्।
संयुक्त राष्ट्रसङ्घको घोषणाबाट सन् १९९९ देखि अगस्ट १२ का दिन अन्तरराष्ट्रिय युवा दिवस मनाउने गरिएको छ । आयोजक समितिको बैठकले प्रदेशमा अन्तरराष्ट्रिय युवा दिवस मनाउन समन्वय गर्ने सदस्यको जिम्मेवारी तोक्ने र उपसमिति निर्माण गर्ने निर्णय गरेको नेता बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार दिवसका अवसरमा नीति मन्थन, ‘संसद्सम्म युवाको आवाज’ अन्तरसंवाद, राष्ट्रव्यापी सरसफाइ, खेलकुद, रक्तदानलगायत कार्यक्रम हुनेछन् ।