सिन्धुपाल्चोकबाट २८ वर्षअघि काठमाडौँ आउँदा अभिनेत्री पूजा शर्मा जम्मा तीन महिनाकी थिइन् । छोराको आश गरेर बसेको पूजाको परिवार उनी जन्मिएपछि निराश भएको थियो । तर, छोरीको सुन्दर भविष्यको कल्पना गर्दै आमा दुर्गा सापकोटा पूजालाई काखी च्यापेर काठमाडौँ छिरिन् । दुर्गा एक्लैले पूजालाई पढाइन् र अघि बढाइन् ।
‘आठ कक्षा पढ्दासम्म अन्तर्मुखी स्वभावकी थिएँ, खासै कसैसँग बोल्दिनथेँ,’ पूजाले भनिन्, ‘अहिले त बोल्नमा मलाई कसैले भ्याउँदैन ।’ स्कुलमा उनी पढाइसँगै अतिरिक्त क्रियाकलामा पनि निकै अगाडि थिइन् । उनलाई नाच्न–गाउन एकदमै मन पथ्र्यो । एसएलसीपछिको तीनमहिने छुट्टीको सदुपयोग गर्न चाहन्थिन् । ‘त्यो बेला म्युजिक भिडियोको एकदमै चार्म थियो,’ उनले भनिन्, ‘चिनजानको एकजना दाइ हुनुहुन्थ्यो । उहाँबाटै गायक सुगम पोखरेलकोे ‘स्कुल पाठशाला’ गीतको भिडियोमा खेल्ने मौका पाएँ ।’ त्यो गीतको म्युुजिक भिडियोमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् । ‘म आफैँ सुगम दाइको गीतको ठूलो फ्यान थिएँ,’ उनले भनिन्, ‘उहाँकै गीतको भिडियोमा खेल्न पाउँछु भन्ने त कल्पनासमेत गरेकी थिइनँ ।’
स्नातक पढ्दापढ्दै उनले हिमालयन टेलिभिजनमा सञ्चारकर्मीका रूपमा काम गरिन् । ‘त्यहाँ म ‘एक्सक्युुज मी’ नामको ‘रोड सो’ चलाउँथेँ,’ उनले भनिन्, ‘फिल्मसम्बन्धी रिपोर्टिङ पनि गर्थें । त्यही क्रममा मेरो भेट सुदर्शन थापासँग भयो ।’ सुदर्शनसँगको भेटपछि उनको करिअर फिल्मतर्फ मोडियो । ‘म फिल्म इन्ड्रस्टीमा हावाको तालमा आएँ,’ उनले भनिन्, ‘फिल्म लाइनमा आउँदा मलाई फिल्मसम्बन्धी केही जानकारी थिएन ।’ ‘थ्री लभर’ उनको डेब्यू फिल्म हो । तर, पूजा भने ‘मधुमास’लाई आफ्नो डेब्यू फिल्म मान्छिन् । ‘‘थ्री लभर’ मा काम गर्दा अभिनयमा म गम्भीर थिइनँ,’ उनले भनिन्, ‘तर, ‘मधुमास’ मा काम गर्दासम्म म अभिनेत्री नै बन्छु भन्ने अठोट गरिसकेकी थिएँ ।’
‘मधुमास’पछि उनले ‘मेरो बेस्ट फ्रेन्ड’, ‘अझै पनि’, ‘चंखे शंखे पंखे’ मा काम गरिन् । तर, दर्शकमाझ खासै ‘नोटिस्ड’ भइनन् । यी फिल्मले उनलाई अभिनेत्रीका रूपमा स्थापित गराउन सकेनन् । ‘‘यस्ती पनि नायिका हुन्छन् ?’ भनेर धेरैले भनेका थिए,’ पूजाले सम्झिइन्, ‘मिडिया र दर्शक दुवैबाट निकै आलोचना खेप्नुप¥यो ।’ त्यही आलोचनाले गर्दा आफू अहिलेको स्थानमा आइपुगेको उनी बताउँछिन् । ‘गालीलाई तालीमा परिवर्तन गर्नु त्यति सहज थिएन,’ उनले भनिन्, ‘त्यसको लागि मैले निकै मेहनत गर्नुप¥यो ।’
पूजाले अहिलेसम्म आधा दर्जन फिल्ममा मात्रै अभिनय गरेकी छिन् । तीमध्ये फिल्म ‘प्रेमगीत’ उनको जीवनमा ‘टर्निङ प्वाइन्ट’ बनेर आयो । फिल्ममा अभिनेता प्रदीप खड्कासँग उनको ‘केमस्ट्री’लाई धेरैले मन पराए । फिल्म हिट भयो । फिल्मसँगै पूजा पनि एकाएक हिट भइन् । तर, पूजा आफू एकाएक हिट नभएको बताउँछिन् । ‘त्यो मैले सुरुवाती दिनदेखि गरेको मेहनतको फल थियो,’ उनले भनिन्, ‘सफलता पाउन समय लाग्छ । तर, धैर्य गुमाउनु हुँदैन । मैले धैर्य गुमाइनँ र सफल भएँ ।’
पूजा अहिले अभिनेत्री मात्र होइनन्, निर्माता पनि हुन् । उनले पछिल्लो समय फिल्म ‘म यस्तो गीत गाउँछु’ निर्माण गरिन् । जसमा पल र पूजाको जोडीलाई दर्शकले एकदमै रुचाए । फिल्मले सफलता पायो । अहिले उनले निर्माण गरेको अर्को फिल्म ‘रामकहानी’ प्रदर्शनको तयारीमा छ । निमार्ताका रूपमा काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको उनी बताउँछिन् । ‘एउटा फिल्म निर्माण गर्नु भनेको १० वटा फिल्म खेल्नु बराबर हो,’ उनले भनिन्, ‘प्रतिस्पर्धा र चुनौतीलाई काम र मेहनतले चिर्दै लैजानुपर्छ । सानोतिनो मेहनतले कहाँ दर्शकको आँखामा परिन्छ र ?’
पूजाले अहिलेसम्म अभिनय गरेका सबै फिल्म निर्देशक सुदर्शन थापाको ब्यानरका मात्र भएकाले बेलाबखतमा उनको नाम सुदर्शनसँग जोडिन्छ । उनी भने सुदर्शन र आफू राम्रो साथी मात्र भएको बताउँछिन् । चुलबुले बानी र हक्की स्वभावका कारण उनी बेलाबखत विवादमा समेत तानिने गरेकी छिन् । ‘म एकदमै ठाडो स्वभावकी छु, चित्त नबुझेको कुरा प्याच्च बोलिहाल्छु,’ उनले भनिन्, ‘त्यसैले होला प्रायः विवादमा परिरहन्छु ।’
भविष्यबारे कहिल्यै नसोच्ने पूजा बताउँछिन् । ‘आज जे छ, त्यसमै रमाउँछु,’ उनले भनिन्, ‘भोलि के हुन्छ ? त्योसँग मलाई सरोकार छैन ।’ भोलि जेसुकै आइपरे पनि एक्लै सामना गर्नेे आँट आफूसँग भएको उनी बताउँछिन् । ‘सबै आँट र साहस मैले मेरी आमाबाट बटुलेकी हुँ,’ उनले भनिन्, ‘आज जे छु, आमाकै कारणले छु ।’ पूजा हत्तपत्त कसैसँग डराउँदिनन् । आफू निडर हुनुको श्रेय पनि उनी आमालाई नै दिन्छिन् । ‘उहाँले मलाई सही तरिकाले जिउन सिकाउनुभयो,’ उनले भनिन्, ‘नबिराउनु नडराउनु भन्ने मैले आमाबाट सिकेको सबैभन्दा ठूलो पाठ हो ।’