मोटरसाइकल र्‍यालीले मनाइँदैन नेपाल संवत् !

ओम धौभडेल     २६ कात्तिक २०८०, आइतबार
मोटरसाइकल र्‍यालीले मनाइँदैन नेपाल संवत् !


नेपाल संवत् ११४३ वर्ष पूरा भएर ११४४ वर्ष लाग्दै छ । यो चन्द्रमाको गतिअनुसार चल्छ । यसकै आधारमा अहिले पनि ज्योतिष शास्त्र, खगोलीय ब्रह्माण्डका कुरा, सूर्यग्रहण र चन्द्रग्रहणका कुरालाई हिसाब गरेर तिथिमिति निकाल्न सकिन्छ । यस कारण पनि यो एकदमै व्यावहारिक संवत् हो । त्यस्तै, नेपाल संवत्को नाममा कैयौँ जात्रा र सांस्कृतिक पर्व चलिरहेका छन् । नेपाल संवत्लाई लामो समयसम्म सर्वसाधारण व्यापारी शंखधर शाख्वाले चलाएको भनेर प्रयोगमा ल्याएनन् । तर, पछि तत्कालीन मल्ल राजाहरूले यो संवत्लाई महत्वका साथ प्रयोग गरेको पाइन्छ । 
नेपाल संवत् नेवार समुदायको मात्र संवत् हो भन्ने एक खालको गलत धारणा छ । त्यो बिलकुलै गलत हो । यसलाई जनता तथा सरकार दुवैले संकीर्ण भावनाले हेर्नु हुँदैन । यसलाई नेवारी भाषामै ‘भिन्तुना’ दिनुुपर्छ भन्ने छैन । आ–आफ्नै भाषामा शुभकामना दिए पनि हुन्छ । संसारमा धेरै संवत् छन् । ती संवत् प्रायः राजा–महाराजाका नामबाट चलाइएका छन् । नेपाल संवत् मात्र एउटा यस्तो संवत् हो, जसले देशलाई जनाउँछ । जसले देशलाई चिनाउँछ । काठमाडौँ, भक्तपुर र ललितपुरदेखि देशका विभिन्न ठाउँमा आफ्नै तरिकाले शुुभकामना आदान–प्रदान गरिन्छ । देशका साथै विदेशमा पनि नेपाल संवत्को शुभकामना दिने प्रचलन छ । 

तर, पछिल्लो समय नेपाल संवत्लाई महत्वका साथ हेर्न छोडिएको छ । यसलाई स्थान दिनुपर्छ भन्ने मानसिकता बिस्तारै हट्दै गएको छ । ‘न्हुँ दःया भिन्तुना’ भन्दै धेरै मोटरसाइकल र्‍यालीमा पनि उत्रिन्छन् । हर्न बजाएर बाटोमा हिँड्ने मान्छेलाई नै अप्ठ्यारो हुने गरी नेपाल संवत् मनाउँछन् । पहिला–पहिला त मान्छेहरू भिन्तुना र्‍याली आउनेबित्तिकै स्वागत द्वार राखेर सबैलाई सगुनसहित स्वागत गर्थे । अहिले त कसैले पनि वास्ता गर्दैन । त्यो सबै मनाउने शैलीमा विकृति मिसिएर हो । अहिलेका त मानिसहरूले र्‍यालीलाई चासो दिएर हेर्नसमेत छाडिसके । मोटरसाइकल र्‍यालीभन्दा सांस्कृतिक र्‍यालीमा जोड दिनुपर्छ । यसो गर्दा एक त वातावरण प्रदूषित हुँदैन अर्को दुर्घटना र झैझगडाको स्थिति आउँदैन । आफ्नो संस्कृतिको जगेर्ना पनि हुन्छ ।

मोटरसाइकल र्‍याली एक किसिमको तडकभडक नै हो । ‘भिन्तुना’ भन्दै अंग्रेजी गीत बजाउँदै नाचेर मात्र हुँदैन । बियर र भोड्का खाँदै बाटोमा हिँडेकालाई जिस्काउनुु हाम्रो संस्कृति होइन । हामीले हाम्रो माटो, हावा, पानी, संस्कृति, भौगोलिक र आर्थिक अवस्थाअनुुसार यो दिन मनाउनुपर्छ । नेपाल संवत्को र्‍याली गर्नेले आफ्नै मौलिक पाटो अपनाउनुपर्छ । 

हिजोको दिनमा जनतालाई चेतना दिनका लागि एक ठाउँको मान्छे अर्को ठाउँमा हिँडेर जान सम्भव थिएन । मोटरसाइकल र्‍यालीमा जानुु उपयुुक्त थियो । जुन उद्धेश्यले पहिला र्‍याली गरिएको हो त्यो अहिले पूर्ण भइसकेको छ । नेपाल संवत्ले एक प्रकारको राष्ट्रिय मान्यता पाइसकेको छ । सरकारले पनि नेपाल संवत् सुरु गरेका शंखधर शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । र्‍याली गर्नुभन्दा यसलाई व्यवहारिक बनाउनेतर्फ जोड दिनुपर्छ ।

यो संवत्ले देशकैे महत्व बोकेको छ । नेपाल संवत् फेरिने दिन मात्र यसबारे कुुरा गरेर हुँदैन । हामीले अरूको भन्दा आफ्नै संवत्लाई प्राथमिकता दिनुपर्छ । हामीले अरू संवत्को नयाँ वर्ष धुमधामले मनाउँछौँ । तर, नेपाल संवत् फेरिएको दिनलाई अझै पनि नयाँ वर्षका रूपमा लिन सकिरहेका छैनौँ । 

हाम्रा बाजा, वेशभूषा र संस्कृति छन् । सबै जातजाति र भाषा धर्मका मान्छेले आफ्नै संस्कृतिअनुुसार र्‍याली निकालेर नेपाल संवत् मनाउन सक्छन् । सांस्कृतिक र्‍यालीले नेपाल संवत्लाई प्रवद्र्धन गर्न सहयोग पुर्‍याउँछ । नेपाल संवत्लाई मनाउने मात्र हैन । मिति लेख्ने बेला प्रयोगमा पनि ल्याउनुपर्छ । 

प्रतिक्रिया