संसार जतिसुकै आधुनिक बने पनि, मानिसले खोज्ने अन्तिम गन्तव्य भनेको शान्ति, आनन्द र आत्मिक सन्तुष्टि नै हो। त्यो शान्ति महँगा भवन, विलासी जीवन वा कृत्रिम मनोरञ्जनमा भन्दा प्रकृतिको काखमा सजिलै प्राप्त हुन्छ। दुर्भाग्यवश, हामीले प्रकृतिको महत्त्वभन्दा कृत्रिम जीवनलाई बढी प्राथमिकता दिन थालेका छौं। यही कारणले प्रकृतिले दिएको अनुपम उपहारलाई बुझ्न र जोगाउन सकेका छैनौं।
प्रकृतिले हामीलाई के दिएको छैन ररु हिमाल दिएको छ, पहाड दिएको छ, हरियाली वनजङ्गल दिएको छ, कलकल बग्ने नदी, झरना, तालतलैया, गुफा, दुर्लभ जडीबुटी, उर्वर भूमि, शुद्ध हावा र जीवनदायी वातावरण दिएको छ। यी सबै मानव जीवनका अमूल्य सम्पत्ति हुन्।
नेपाल प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण राष्ट्र हो। सगरमाथा, अन्नपूर्ण, धौलागिरि, मनास्लु, माछापुच्छ्रे, लाङटाङ र कञ्चनजङ्घाजस्ता हिमशृङ्खलाहरू, रारा, शे–फोक्सुण्डो, फेवाताल, बेगनास, तिलिचोजस्ता तालहरू, कोशी, गण्डकी, कर्णाली, महाकाली, बागमती र त्रिशूलीजस्ता नदीहरू, इलामका चियाबगानदेखि मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला, मुगु, मनाङ, सोलुखुम्बु, ओखलढुङ्गा र कास्कीका डाँडाकाँडाहरू नेपालका अनुपम सम्पदा हुन्।
त्यस्तै, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम, लुम्बिनी, पाथिभरा, मनकामना, हलेसी महादेव, त्रिपुरासुन्दरी, स्वर्गद्वारी, खप्तड, बौद्धनाथ, स्वयम्भूनाथ, नमोबुद्धका गुम्बाहरू, सिद्ध गुफा, महेन्द्र गुफा, गुप्तेश्वर गुफा र असंख्य धार्मिक तथा प्राकृतिक स्थलहरूले नेपाललाई विश्वकै आकर्षक गन्तव्य बनाएका छन्।
हामीले प्रकृतिलाई केवल उपयोग गर्ने वस्तु होइन, जीवन दिने गुरुका रूपमा बुझ्नुपर्छ। प्रकृतिले हामीलाई कहिल्यै विभेद गर्दैन। यसले सबैलाई समान रूपमा हावा, पानी, अन्न, औषधि र जीवन दिन्छ। त्यसैले प्रकृतिप्रतिको सम्मान, संरक्षण र सदुपयोग नै साँचो सभ्यता हो।
आउनुहोस्, आफ्नै देशका हिमाल, डाँडाकाँडा, वनजङ्गल, गुफा, मन्दिर, गुम्बा, नदी, ताल र सम्पूर्ण प्राकृतिक सम्पदालाई माया गरौं। नेपाललाई चिनौं, नेपालको गौरव संसारभर फैलाऔं। प्रकृतिलाई जोगाउनु भनेको आफ्नै भविष्य जोगाउनु हो। प्रकृतिलाई चिन्न सक्यौं भने नेपाल वास्तवमै स्वर्ग हो।