मन्त्री ज्वालासँग नैतिकता भन्ने चिज नै छैन : केपी ओली

राम्रो अनलाइन     ०८ फागुन २०८०, मङ्गलबार
मन्त्री ज्वालासँग नैतिकता भन्ने चिज नै छैन : केपी ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनामा जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राजीनामा दिनुपर्ने बताएका छन् ।

पार्टी कार्यालयमा मंगलबार सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकार भ्रष्टाचार, अनियमितता र कुशासनको बढवा गर्नतर्फ मात्र केन्द्रित भएको बताए ।

‘सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दाखेरि त्यहाँ मान्छे मर्ने स्थिति आयो । तोकेर भनिएको छ । यस्तो सरकार छ कि । मन्त्रीसँग नैतिकता भन्ने चिज नै छैन, न राजीनामा गर्छ । न सरकारसँग, प्रधानमन्त्रीसँग हटाउने हुती छ’ मंगलबार पार्टी कार्यालय च्यासलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले भने ।

१३ पुसमा ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । प्रहरीको कारबाहीमा दुई युवाको मृत्यु भएको थियो । सरकारले गठन गरेको जाँचबुझ आयोगले दुई युवाको ज्यान जानुमा आन्दोलन भइरहेका बेला त्यहाँ पुगेका मन्त्री प्रकाश ज्वालाको पनि दोष रहेको देखाएको थियो । एमाले अध्यक्ष ओलीले आयोगले दोषी देखाएका मन्त्रीले पद नछाडेर लोकलाज पनि नराखेको बताएका छन् ।


 

प्रतिक्रिया