किशोरी तथा महिलामा नियमित रूपमा महिनावारी हुनका लागि स्त्रीमहिलाको वंशाणुअंश,टाउकोभित्रको हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थि एवं डिम्बाशयको काम गराइ, पाठेघरको भित्री तह, पाठेघरको मुख, योनिमार्गको बनावट एवं महिनावारी हुने कार्यलाई सघाउने थाइरोइड तथा एड्रिनल ग्रन्थिको काम गराइ सामान्य हुनुपर्छ ।
महिनावारी सुरु हुनु बालिकाबाट किशोरीवस्थामा प्रवेशको प्रमुख संकेत होे । तर, कतिपय किशोरीमा समयले नेटो काटिसकेपछि पनि महिनावारी सुरु भएको हुँदैन । चिकित्कीय भाषामा ‘एमेनोरिया’ भनिने यस अवस्थाले किशोरी एवं सम्पूर्ण परिवारजनलाई चिन्तित तुल्याउँछ । किशोरीवस्था पूर्व, गर्भावस्थामा, सुत्केरीपछि बच्चालाई राम्ररी स्तनपान गराइरहेका अवधि, कतिपय परिवार नियोजन साधन अपनाइरहँदा एवं रजनोवृत्तिपछि महिनावारी नहुनु प्राकृतिक नै हो ।
किशोरी तथा महिलामा महिनावारी नहुने समस्यालाई प्राइमरी र सेकेन्डरी गरी बाँडिएको हुन्छ । एमेनोरियाका कारण तथा यसको उपचारको दृष्टिले सेकेन्डरी प्रकारको एमेनोरिया तुलनात्मक रूपमा कम जटिल प्रकारको हुन्छ ।
प्राइमरी भर्सेस सेकेन्डरी प्राइमरी प्रकारको एमेनोरियामा कुनै पनि किशोरी १६ वर्ष पुगेपछि तथा स्तन एवं यौनांग राम्ररी विकसित भएपछि, यौनांगवरिपरि र काखीमा रौँ पलाएपछि पनि महिनावारी सुरु भएको हुँदैन भने वा यौनांगको विकास एवं अन्य परिवर्तन नभएको अवस्थामा १४ वर्षको उमेरसम्ममा महिनावारी सुरु नहुनु राम्रो लक्षण होइन ।
प्रभावित किशोरीसँगको सामान्य कुराकानीबाट तथा शारीरिक जाँचबाटै कारक तŒव अनुमान लगाउन सकिन्छ । त्यसैले एकैपटक सबै खाले खर्चालु परीक्षण गर्नुभन्दा अनुमानित कारक तŒवकेन्द्रित सीमित परीक्षण गर्नुपर्छ । यस्तो खाले प्राइमरी एमेनोरियामा औषधोपचारबाट आशातीत सफलता नमिल्न पनि सक्छ ।
हाइपोथालामसदेखि डिम्बाशयसम्मको काम गराइ, महिलामा हुनुपर्ने वंशाणुअंशमा गडबडी, योनिमार्ग तथा जननेन्द्रियको माथिल्लो भागको बनावटमा जन्मजात खराबी, थाइरोइड तथा एड्रिनल ग्रन्थिको काम गराइमा खराबीलगायत जननेन्द्रियको क्षयरोग, कुपोषण, अधिक दुब्लोपना, रक्तअल्पताले गर्दा पनि महिनावारी सुरु नै नहुन सक्छ ।
सामान्य तरिकाले महिनावारी भइसकेका किशोरी÷महिलामा कारणवश छ महिना वा सोभन्दा बढी समय महिनावारी नहुने अवस्थालाई सेकेन्डरी एमेनोरिया भनिन्छ । तल उल्लेख गरिएजस्तै क्रिप्टोमेनोरिया वा कतिपय प्राकृतिक कारण (गर्भावस्था÷स्तनपान गराइरहँदा) पनि केही समयका लागि सेकेन्डरी खालको महिनावारी रोकिने हुनसक्छ ।
किशोरी वा महिला विशेषको पाठेघरको भित्री तह टाँसियो, क्षयरोग भयो, पटक–पटक पाठेघरको भित्री तह खुर्कियो (क्युरेट गरियो) भने, स–साना तर धेरै अपरिपक्व अण्डा बढ्ने समस्या भयो, समय अगावै (४० वर्षअगावै) डिम्बाशयले काम गर्न छोड्यो, महिलाको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा चाहिनेभन्दा कम भयो भने, हाइपोथालामसदेखि पिट्युटरी ग्रन्थिमा सुत्केरी भएको बेला बढ्ता रक्तस्राव भयो भने वा कुनै खराबी भयो भने एवं मानसिक तनाव, कुपोषण, मधुमेह अधिक मोटोपना वा दुब्लोपना भयो, कतिपय औषधिको सेवन, थाइरोइड ग्रन्थिको कम काम गराइबाट सेकेन्डरी प्रकारको महिनावारी रोकिने हुनसक्छ ।
सेकेन्डरी खालको एमेनोरियाको कारण खुट्याउनुअघि कतै ती किशोरी वा महिला गर्भवती त छैनन् भनी छुट्याउनुपर्छ । भिडियो एक्सरे (अल्ट्रासाउन्ड), रगतमा हर्मोनको मात्रा, ल्याप्रोस्कोपीबाट सेकेन्डरी प्रकारको एमेनोरियाको अधिकांश कारण पत्ता लगाउन सकिन्छ । कतिपय बेला वंशाणुअंश (क्रोमोजोम), टाउकोको एक्सरे, ग्रन्थिरससम्बन्धी रगत जाँच, टाउकोको सीटी स्क्यान जरुरत पर्न सक्छन् ।
महिनावारी नहुने समस्याको सुरुवात बिस्तारै भयो कि एक्कासि, मानसिक तनाव हुने खालको कुनै घटना, शारीरिक तौलमा एक्कासि कुनै परिवर्तन, महिनावारी रोकिनुको साथै अनुहारमा डन्डीफोर, रौँ बढी पलाउने, स्वरमा कुनै परिवर्तन, स्तनबाट असामान्य स्राव, टाउको दुख्ने, आँखा धमिलो हुने, पटक–पटक पाठेघर सफा गरिएको, सुत्केरी व्यथाका बेला बढ्ता रगत बगे÷ नबगेको सोधपुछ गरेर सेकेन्डरी प्रकारको एमेनोरियाको कारण आकलन गर्न सकिन्छ ।
प्रभावित किशोरी वा महिलाको उपचार चरणबद्ध रूपमा गर्नुपर्छ । सामान्य जाँचपडतालपछि कुनै गम्भीर समस्या नभएको ठहर भएमा सुरुमा इस्ट्रोजेन त्यसपछि इस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनयुक्त औषधि सुरु गरी रोकिएको बेला महिनावारी खुल्छ, खुल्दैन हेर्नुपर्छ । यति गरेर पनि महिनावारी खुलेन भने समस्या गम्भीर खालको हुन सक्छ । यस क्रममा मानसिक तनाव हटाउनका लागि परामर्श पनि आवश्यक हुन्छ । एमेनोरिया भएका महिलामा बच्चा पाउने चिन्ता हुन सक्छ ।
पुरुषको वीर्य जाँच सामान्य छ र महिलाको डिम्बवाहिनी नली खुल्ला छ भने सोही अनुसार उचित व्यवस्थापन गर्न सकिन्छ । समग्रमा सेकेन्डरी प्रकारको एमेनोरियाका लागि कारणअनुसार उपचार गर्नुपर्छ । कतिपय अवस्थामा शल्यक्रियाले राम्रो हुन सक्छ । सेकेन्डरी प्रकारको एमेनोरियामा सीमित जाँचपडताल र कारणअनुसारको पछि अपेक्षाकृत राम्रो नतिजा पाइन्छ । करिब ६० प्रतिशतमा विनाउपचार पनि जाँचपडतालकै क्रममा महिनावारी सुरु भइसक्छ ।
के हो क्रिप्टोमेनोरिया ?
एमेनोरियाभन्दा अलि फरक क्रिप्टोमेनोरियामा मासिक स्राव भए पनि बाहिर देखिँदैन । यदि किशोरी अवस्थामा योनिद्वारको झिल्ली रहिरहेमा, योनिद्वारमा तेर्सो गरी बाक्लो झिल्ली रहेमा वा योनिमार्गको माथिल्लो भाग वा पाठेघरको मुख साँघुरिँदा क्रिप्टोमेनोरियाको समस्या निम्तिन्छ । यस्तो समस्याले ग्रसित किशोरीमा महिनावारी हुँदा तल्लो पेट अत्यधिक दुख्ने हुन्छ । साधारण शल्यक्रियाले पनि समस्या सल्टिने यो समस्याका लागि सम्बन्धित चिकित्सकको सहयोग चाहिन्छ ।