मधेश प्रदेशका मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिने

राम्रो अनलाइन     १५ जेठ २०८१, मङ्गलबार
मधेश प्रदेशका मुख्यमन्त्रीले जेठ २३ गते विश्वासको मत लिने

 

काठमाडाैं– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यही जेठ २३ गते मधेश प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत पुनः लिन लागिएकाे हाे ।

सरकारलाई विश्वासको मत दिएका कुनै पनि दलले विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः ३० दिनभित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागिएकाे हाे ।

प्रदेश सभाको बैठक अगामी जेठ २१ गतेको बोलाउनका लागि प्रदेश सरकारबाट आग्रह भएको मुख्यमन्त्री यादवले जानकारी दिए । उनले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज पत्रकारहरूसँग कुरा गर्दै विश्वासको मत आफूले पाउनेमा ढुक्क रहेको दाबी गरे । 

स्थानीय तहहरूमा शसर्त अनुदान पठाउने आफ्नो दायित्व भएको बताउँदै यसमा विरोध गर्नुको कुनै तुक नभएको मुख्यमन्त्री यादवले बताए । मधेश प्रदेशका जिल्लाहरूमा खानेपानीको व्यापक अभाव भएको बताउँदै उहाँले पानीको समस्या समाधानका लागि प्रदेश सरकारले आपतकालिन रुपमा काम गर्न लागेको बताए ।

एक प्रश्नको जवाफमा मुख्यमन्त्री यादवले सङ्घीयतालाई बलियो हुन नदिनका लागि पटक पटक सरकार फेर्ने काम भएको र थोरै समयमा कर्मचारीको सरुवा गर्ने गरेको बताए ।

विकास खर्च नहुनुमा राजनीतिक अस्थिरता नै प्रमुख कारण भएको बताउँदै सङ्घीयताको विरुद्धमा हुने कुनै प्रकारको षड्यन्त्रलाई मधेश प्रदेश सरकारले स्वीकार नगर्ने बताए ।

प्रतिक्रिया