क्यारेक्टरमा फिट मीना 

राम्रो अनलाइन     १६ साउन २०७८, शनिबार
क्यारेक्टरमा फिट मीना 

मीना लामाको पुख्र्यौली थलो दोलखा हो । उनी काठमाडौँमा हुर्किएकी हुन् । एसएलसी पास गरेपछि नै उनी कलाकारितामा लागेकी हुन् । काठमाडौँमा हुर्किए पनि उनी तामाङ कला–संस्कृतिलाई पछ्याउन रुचाउँथिन् । ‘म सानैदेखि जातीय पहिचान झल्किने पहिरन र गहना लगाउन रुचाउँथेँ,’ मीना भन्छिन्, ‘कलाकारका रूपमा पनि आफ्नै समुदायको विभिन्न चरित्रमा काम गर्ने इच्छा थियो ।’ 

कलाकार भइसकेपछि क्यारेक्टरअनुसार विभिन्न जातजाति तथा समुदायको चरित्रमा अभिनय गर्नुपर्छ । तर, अनुहारको बनोट, बोलीको लवज र चालढाल आफूले चरित्र निर्वाह गरिरहेको जाति वा समुदायसँग मेल खानुपर्ने मीना बताउँछिन् । ‘चुच्चो नाक भएकी बाहुन युवतीलाई तामाङ युवतीको भूमिका निर्वाह गर्न लगाउँदा पक्कै पनि उसको अनुहारले साथ दिँदैन,’ उनी भन्छिन्, ‘कुनै मंगोलियन युवतीलाई तामाङ युवतीको भूमिका दिँदा भने उसको अनुहारले पनि साथ दिन्छ । उसले निर्वाह गरेको चरित्र स्वाभाविक पनि लाग्छ ।’ 

टेलिसिरियल, म्युजिक भिडियो र फिल्ममा विभिन्न समुदाय, जातिका युवतीले अभिनय गर्दा उनीहरूको अनुहार, बोलीको लवज तथा सम्बन्धित जातिको पहिरन लगाउँदा पनि अमिल्दो लागेको देखेपछि मीना तामाङ युवतीको भूमिकामा अभिनय गर्ने उद्देश्यका साथ कलाकारितामा होमिएकी हुन् । गैरतामाङले तामाङको भूमिका निर्वाह गर्नुभन्दा तामाङले तमाङकै भूमिका निर्वाह गर्दा अभिनयमा निखार ल्याउन सकिने उनी बताउँछिन् । स्कुल पढ्दादेखि नै नाचगान र अभिनयमा विशेष रुचि भएकी उनी तामाङ समुदायको अब्बल कलाकार बन्ने लक्ष्यका साथ यो क्षेत्रमा लागेको बताउँछिन् । 

उनी कलाकारितामा लागेको एक दशक पुग्न लाग्यो । ‘घरबेटी बा’, ‘हर्के हल्दार’, ‘झ्यानाकुटी झ्याइँ’, ‘जय होस्’, ‘उल्टोसुल्टो’ लगायत हास्य टेलिसिरियलमा अभिनय गरेकी छिन् । मीनाले थुप्रै म्युजिक भिडियो र जनचेतनामूलक विज्ञापनमा काम गरेकी छिन् । उनी कोरियोग्राफर र निर्देशक पनि हुन् । १० वर्षदेखि सिरियलहरूमा अभिनय गर्दागर्दै उनले निर्देशनको काम पनि सिकेकी छिन् । ‘‘अरूले निर्देशन गरेको म्युजिक भिडियोमा काम गर्दा यो गीतमा यसरी कोरियोग्राफी गरेको भए अझै राम्रो हुन्थ्यो’, ‘क्यामरा एंगल यस्तो भएको भए हुन्थ्यो’ भन्ने लाग्थ्यो,’ उनी भन्छिन्, ‘जसले गर्दा मलाई निर्देशनतिर सक्रिय हुन मन लाग्यो ।’ उनले आफ्नो निर्देशन यात्रा म्युजिक भिडियोबाट सुरु गरेकी हुन् । उनी गीतकार पनि हुन् । गीत गाउँछिन् पनि । आफैँले लेखेको गीतको म्युजिक भिडियोको निर्देशन मीना आफैँले गरेकी छिन् । उनी संगीतकार पनि हुन् । केही गीतमा संगीत पनि दिएकी छिन् । अभिनय, कोरियोग्राफी, निर्देशन, गीत लेखन, संगीतजस्ता विविध विधामा एकसाथ काम गरिरहेकी उनी बहुप्रतिभाशाली कलाकार हुन् । 

हास्य टेलिसिरियलमा तामाङ युवतीको भूमिकामा अभिनय गर्ने उनलाई म्युजिक भिडियोमा मोडर्न ड्रेसअपमा नाचिरहँदा धेरैले चिन्दैनन् । क्यारेक्टरअनुसार फरक÷फरक लुकमा प्रस्तुत हुन पाउँदा आफूलाई निकै सन्तुष्टि मिल्ने उनी बताउँछिन् । ‘भविष्यमा फिल्म निर्देशक बन्ने लक्ष्य लिएर म्युजिक भिडियोको निर्देशनमा हात हालेकी हुँ,’ उनी भन्छिन् । 

घरपरिवारबाट पूर्ण सहयोग पाएर कलाकारितामा लागेको बताउने बताउँछिन्, मीना । तामाङ क्यारेक्टर चाहिनेबित्तिकै धेरैले उनलाई नै सम्झिन्छन् । ‘अभिनय पनि गर्न सक्ने र रियलमा तामाङ भएकाले मलाई तामाङ समुदायको महिला क्यारेक्टर गर्न सजिलो हुन्छ,’ उनी भन्छिन् । कलाकारले आफ्नो जात वा समुदायको मात्र क्यारेक्टर निर्वाह गरेर नपुग्ने भएकाले उनी अन्य भूमिकामा पनि अभिनय गर्छिन् । विभिन्न जातजाति र समुदायलाई होच्याउने हिसाबले मुख तथा लवज बिगारेर क्यारेक्टर प्ले गर्न नहुने उनी बताउँछिन् । भन्छिन्, ‘अलिकता अनुहारमा कालो दलेर र बोली बिगारेर तराईवासीको जस्तो गर्दैमा तराईवासीको वास्तविक चरित्र निर्वाह गर्न सकिँदैन ।’ 

‘कलाकार बन्छु भनेर मात्र हुँदैन,’ मीना भन्छिन्, ‘कतिपयले ‘रुचि थियो, त्यही भएर कलाकारितामा लागेको’ भन्छन् । क्यारेक्टरअनुसार अभिनय गर्न सक्ने र काम नपाउँदा पनि धैर्य गरेर बस्न सक्ने नै यो क्षेत्रमा लामो समय अडिन सक्छ ।’

प्रतिक्रिया