कुनै व्यक्तिप्रति आकर्षित हुनु, कसैलाई बिनाअर्थ, बिनाअपेक्षा मन पराउनु, माया गर्नुलाई क्रस भन्ने बुझिन्छ। किशोरावस्था र युवावस्थामा अत्यधिक मात्रामा एकअर्कामाथि क्रस पर्छ।
मकवानपुर, हेटौँडाका दीपक खड्का मेकानिकल इन्जिनियर हुन्। कलेज पढ्दाताका उनी आफूसँग पढ्ने एक युवतीलाई औधी मन पराउँथे। तर, मनको कुरा भन्न सक्दैनथे। ती युवतीलाई दीपक आफ्नो ‘क्रस’ मान्छन्। भन्छन्, ‘उनी मेरो पहिलो क्रस थिइन्। उनको ‘क्युटनेस’ले मलाई मोहित पाथ्र्यो तर उनीसँग कहिल्यै बोल्न सकिनँ।’
दीपकले आफ्नो क्रससँग नजिकिन अनेक उपाय लगाए। भन्छन्, ‘कहिले उनैलाई पछ्याउँथे त कहिले उनका साथीहरूसँग नजिक हुन्थेँ।’ क्रसबाट आफूले प्रेम, सम्बन्धजस्ता अपेक्षा नराखेको उनी बताउँछन् । ‘मलाई क्रसको स्वभाव, रुचि सबै थाहा थियो,’ उनी सुनाउँछन्, ‘बाँकी कुराको अपडेट लिन क्रसको जिग्रीसँग नजिक हुन्थेँ। क्रससँग बन्जी र प्याराग्लाइडिङ गर्न मन थियो। यसबाहेक अरू अपेक्षा थिएन र छैन पनि।
‘क्रस’ शब्द हिजोआज युवा पुस्तामाझ चर्चित छ। कुनै व्यक्ति (विपरीतलिंगी) प्रति आकर्षित हुनु, कसैलाई बिनाअर्थ, बिनाअपेक्षा मन पराउनु, माया गर्नुलाई क्रस भन्ने बुझिन्छ। किशोरावस्था या युवावस्थामा अत्यधिक मात्रामा एकअर्कामाथि क्रस पर्छ। यसको कुनै समयसीमा हुँदैन। कसैले लामो समयसम्म आफ्नो क्रसलाई माया गरिरहन्छन् भने कतिपयले छोटो समयमै बिर्सन्छन्। एकतर्फी मायामा पर्नु तर भन्न डराउनु ‘क्रस’को विशेषता हो। चाइल्डहुड क्रस, सेलिब्रिटी क्रसलगायत क्रस व्यक्तिले अनुभूत गर्ने गरेका पाइन्छन्। क्रसको कुनै खास परिभाषा हुँदैन। कसैको व्यक्तित्व, कसैको लुक्स, कसैको बोली–व्यवहारबाट प्रभावित हुनु र उसलाई मनमनै माया गर्नु क्रस हो।
क्रसः सकारात्मक ऊर्जा
गीता सुब्बाका चाइल्डहुड क्रस र सेलिब्रिटी क्रस छन्। एक अपरिचित व्यक्ति आफ्नो क्रस भएको उनी बताउँछिन्। भन्छिन्, ‘मेरो क्रस मेरै एरियामा बस्छ। उसलाई लुकी–लुकी हेर्ने गर्छु तर अहिलेसम्म बोलेको छैन। उसको नामसमेत थाहा छैन।’ परिचित होस् या अपरिचित, कसैको व्यक्तित्वबाट सकारात्मक रूपले प्रभावित हुनुलाई क्रसका रूपमा व्याख्या गर्छिन्, उनी। ‘ऊ को हो, के गर्छ भन्ने वास्तविकताभन्दा बाहिर गएर कसैलाई मन पराउनु क्रस होजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘आफ्नो क्रसमा सिंगल–मिंगल, बूढो–तन्नेरीलगायत कुरा हेरिँदैन। न त वर्तमान–भविष्य, शारीरिक–भावनात्मक आवश्यकतासँग जोडेर हेरिन्छ। कसैलाई निःस्वार्थ, बिनाउद्देश्य, बिनाअपेक्षा मन पराउनु क्रस हो।’ क्रसका सकारात्मक प्रभाव हुने उनी बताउँछिन्। भन्छिन्, ‘क्रसलाई सम्झेर मुस्कुराउनु, उसको अगाडि नर्भस हुनु, उसका हरेक पक्ष राम्रो लाग्नु, उसलाई देख्दाबित्तिकै शरीरमा सकारात्मक ऊर्जा आउनु क्रसका प्रभाव हुन्। यी प्रभाव मैले महसुस गरेकी छु।’
कहिल्यै नअघाउने फ्यान्टासी
रोशन भुजेलको सेलिब्रिटीसँग क्रस परेको छ। उनी हुन्, हलिउड अभिनेत्री जेनिफर लरेन्स। फिल्म ‘प्यासेन्जर’ हेरेपछि उनी जेनिफरसँग भुतुक्कै भएँ। ‘एउटा फ्यानले आफूलाई मन पर्ने सेलिब्रिटीलाई अलिअलि मात्र फलो गर्छ,’ उनी भन्छन्, ‘एज अ क्रस म जेनिफरलाई चाहन्छु। मेरो मनभित्र उनका लागि माया, चाहना र भावना छ।’ रोशनले जेनिफरका हरेक फिल्म, सिरिज, अन्तर्वार्ता हेरेका छन्। उनीबारे कसैले नराम्रो टिप्पणी गरे उनको चित्त दुख्छ। ‘मलाई थाहा छ, जेनिफर मेरा निम्ति आकाशकी फल हुन्,’ उनी भन्छन्, ‘तर, पनि म उनीसँग निकट रहेको अनुभव गर्छु। उनी मेरो कहिल्यै नअघाउने फ्यान्टासी हुन्।’
क्रसको जेन्डर हुँदैन
प्रशान्त कार्की बाल्यावस्थादेखि नै विश्वप्रसिद्ध अर्जेन्टिनी फुटबलर लियोनल मेसीका फ्यान हुन्। आफ्नो कोठालाई उनले मेसीमय बनाएका छन्। भित्ताभरि मेसीका पोस्टर टाँसेका छन्। बेड कभर, लगाउने लुगा, चिया खाने कपमा समेत मेसीकै तस्बिर राखेका छन्। ‘मेसी मेरा क्रस हुन्,’ प्रशान्त भन्छन्, ‘मान्छेहरूले अपोजिट सेक्ससँग मात्र आकर्षित हुनुलाई क्रस मान्छन्। मलाई त्यस्तो लाग्दैन। जुनसुकै व्यक्तिलाई मन पराउन, माया गर्न सकिन्छ। किनकि, क्रसको जेन्डर हुँदैन।’ उनको जिन्दगीको एक मात्र सपना भनेको कुनै दिन मेसीलाई भेट्नु हो।
‘एटेन्सन सिकर’
रिया क्षत्री १२ कक्षामा पढ्छिन्। कलेजका एक जना टपर उनका क्रस हुन्। उनी आफूलाई ‘अटेन्सन सिकर’ भन्न रुचाउँछिन्। ‘मेरै कलेजको सिनियर मेरो क्रस हो,’ उनी भन्छिन्, ‘अरू केही गर्न नसके पनि क्रसले मप्रति ध्यान देओस् भन्ने चाहन्छु।’ क्रसका लागि आफूले थुप्रै उटपट्याङ काम गरेको उनी बताउँछिन्। ‘म क्रससँग सीधै कुरा गर्न सक्दिनँ,’ उनी भन्छिन्, ‘कलेजमा साथीहरूलाई भन्दा उनीहरूले उल्टै उडाइदेलान् भन्ने डर ! त्यसैले म कहिले उसको ब्यागमा चिठी राखिदिन्छु, कहिले उसले थाहा नपाउने गरी पछ्याउँछु। फेक आईडी बनाएर म्यासेन्जरमा कुरा गर्छु। क्या आनन्द आउँछ !’
क्षणिक ‘डिजायर’
स्कुल पढ्दादेखि अहिलेसम्म लक्ष्मण गिरिको थुप्रै युवतीमाथि क्रस पर्यो। क्रसमध्ये उनले थुप्रैलाई अप्रोच पनि गरे। उनी क्रसलाई क्षणिक ‘डिजायर’का रूपमा अथ्र्याउँछन्। ‘यो क्षणिक डिजायर मात्र हो, जति पनि मेरा क्रस छन्, तीप्रति म सेक्सुअल्ली आकर्षित हुन्थेँ,’ उनी भन्छन्, ‘एकपटक अप्रोच गरेपछि सुरुमा जस्तो मन पराइँदैन, न त त्यस्तो भावना रहन्छ। सबै कुरा क्षणिक हुन्छ।’
क्रस अर्थात् एकोहोरो लगाव
डा. सुबोधकुमार पोखरेल, यौन मनोविद्
अंग्रेजीमा एउटा भनाइ छ– ‘एभ्री टिन ह्याज अ क्रस’। अर्थात्, विपरीतलिंगीप्रति विशेष किसिमको भावनात्मक लगावको पहिलो अनुभव मानिसले किशोरावस्था पार गर्नुअघि नै गरिसक्छ। बच्चाले बजार पस्नेबित्तिकै मन परेको पहिलो खेलौना देख्नासाथ त्यसलाई किनिदिन गरेको बालहठजस्तै अवस्था हो यो।
मलाई थाहा भएसम्म ‘क्रस’ शब्दको ठ्याक्कै मिल्ने पर्यायवाची शब्द नेपाली भाषामा छैन। प्रेम पनि यसको पर्यायवाची शब्द होइन। तैपनि कतिले नबुझेर पहिलो क्रसको अर्थ पहिलो प्रेमका रूपमा लगाउँछन्। क्रस हुँदै, हराउँदै जान्छ। आज यसप्रति, भोलि अर्काप्रति। जसरी बच्चाको खेलौना किन्ने प्राथमिकता अर्को खेलौना देख्नेबित्तिकै पुरानोबाट नयाँतिर जान्छ, त्यसै गरी क्रस पनि परिवर्तन भइरहेको हुन्छ। क्रस भनेको एउटा यस्तो मानसिक स्थिति हो, जसलाई अनुभव गर्नेलाई जन्म–जन्मान्तरसम्मको माया बसेको अनुभूति पनि हुन सक्छ। तर, यथार्थमा कुरा त्यस्तो हुँदैन। क्रस एउटा आँधी हो, जो जसरी आउँछ, त्यसै गरी जान्छ। पटक–पटक आइरहन पनि सक्छ।
किशोरावस्था अर्थात् १३ देखि १९ वर्षको उमेरबीचको समयमा मानव शरीर र मनमा यौनसम्बन्धी शारीरिक र भावनात्मक दुवै विकास अत्यन्त तीव्र गतिमा हुन्छ। यतिखेर किशोर–किशोरीको भावनात्मक संवेगलाई अनुभूत गर्ने क्षमता अत्यन्त तीखो हुन्छ। साथै, विपरीतलिंगीका बारेमा जतिसक्दो बढी जान्ने र संगत गर्ने रहर पनि अत्यन्त प्रखर हुन्छ। तिर्खाएको मानिसले पानीको पहिलो स्रोत भेट्नासाथ सफा-फोहोर नहेरी त्यसलाई पिउने इच्छा प्रबल भएजस्तै किशोरावस्थामा आफूलाई सहज पर्नेबित्तिकै पहिलो क्रस जोसँग पनि हुन सक्छ।
सामान्यतया मानिसको विपरीतलिंगीप्रतिको झुकाव आफ्नै उमेर मिल्दोसँग बढी हुन्छ। सामान्य अवस्थामा जे भए पनि किशोरावस्थामा आफूसँग मीठो बोल्ने, राम्रो व्यवहार गरिदिने वा सहानुभूति देखाउने कुनै व्यक्तिसँग पनि लगाव हुन सक्छ। अर्कातिर आफूसँग झगडा गर्ने, प्रतिस्पर्धा गर्ने वा घृणाको भाव देखाउने व्यक्तिसँग पनि अन्तरमनमा आफ्नो बेग्लै साइनो गाँसिएको अनुभव हुन सक्छ। जुन विपरीतलिंगीले आफ्नो अस्तित्वलाई सकारात्मक वा नकारात्मक मान्यता दिन्छ वा आफूप्रति चासो देखाउँछ, त्यससँग पहिलो क्रस हुने सम्भावना बढी हुन्छ।
कतिपय किशोर–किशोरीको आफूलाई पढाउने शिक्षक-शिक्षिका (जसले अलि बढी वास्ता गरेजस्तो लाग्छ) सँग क्रस भएका अनगिन्ती उदाहरण भेटिन्छन्। कतिको बाल्यकालदेखि सधैँ झगडा परिरहने छिमेकी वा सहपाठीसँग किशोरावस्थामा प्रवेश गर्नेबित्तिकै क्रस परेका उदाहरण पनि छन्। विभिन्न विधामा नाम कमाएका सेलिब्रिटीसँग किशोर–किशोरीको क्रस परेको पाइन्छ।
क्रस धेरैजसो एकोहोरो लगावबाट सुरु हुन्छ। पछि सहज अवस्था उत्पन्न भएर आपसी संवादको विकास भएपछि दोहोरो पनि हुन सक्छ। एउटै उमेर समूहका किशोर–किशोरीबीचको क्रस कहिलेकाहीँ दुईतर्फी प्रेममा परिणत भएका उदाहरण पनि छन्।
क्रसले अत्यन्त गहिरो प्रेमभन्दा किशोरावस्थाको भावनात्मक ज्वारले ल्याउने उत्ताउलोपन र प्रदर्शनकारी स्वभाव बढी बोकेको हुन्छ। विषाणुको संक्रमणले ल्याउने ज्वरोजस्तो हुन्छ, क्रसको स्वभाव। जति छिटो चढ्छ, त्यति छिटो उत्रन्छ। एउटासँग भएको क्रस फेरि दोहोरिन पनि सक्छ। बुढेसकालसम्म पनि क्रस परेको मानिस मनमा रहिरहने अवस्था पनि हुन्छ।