सौन्दर्य भन्नेबित्तिकै महिलाका लागि मात्र चाहिने विषय हो भन्ने धेरैलाई लाग्ने गरेको छ। सुन्दरतासँग सम्बन्धित उत्पादन महिला केन्द्रित छन्। विश्वमा नाम चलेका सौन्दर्य सामग्री उत्पादक कम्पनीहरूले महिलालाई ध्यानमा राखेर नै आफ्ना उत्पादन बजारमा पठाउने गरेका छन्। महिलाले प्रयोग गर्ने केही सौन्दर्य सामग्री पुरुषका लागि पनि उपयोगी हुन्छन्।
टेलिभिजन तथा सिनेमामा काम गर्ने पुरुषले मेकअप गर्दा फाउन्डेसन क्रिम लगाउनुपर्ने हुन्छ। अनुहार चम्किलो देखाउन विभिन्न किसिमका क्रिम लगाउनुपर्ने हुन्छ। पुरुष र महिलाको छाला फरक–फरक भएर अलग खालका सौन्दर्य सामग्री चाहिने होइन। छालाको प्रकृतिअनुसार सौन्दर्य सामग्री प्रयोग गर्नुपछ।
छाला ड्राइ, अइली र नर्मल गरी तीन किसिमको हुन्छ। केही सौन्दर्य सामग्री उत्पादक कम्पनीले पुरुष र महिलाको छालाको प्रकार फरक–फरक हुने भएकाले उनीहरूका लागि सौन्दर्य सामग्री पनि अलग–अलग हुनुपर्छ भनेर प्रचार गरिरहेका हुन्छन्। यो व्यापार बढाउने काइदा मात्र हो। मेडिकल साइन्समा छालाको प्रकार महिला र पुरुष भनेर छुट्याइएको हुँदैन।
पुरुष आफ्नो अनुहारको छालामा डन्डीफोर, चायापोतो तथा दाग आउँदा चिन्तित हुन्छन्। तर, पुरुष भएर पनि अनुहारलाई लिएर चिन्ता गर्ने भनेर साथीभाइले खिसी गर्छन् भन्ने ठानेर बेवास्ता गर्नेहरू पनि भेटिन्छन्। सौन्दर्यको कुरा गर्दा लाज मान्ने धेरै छन्।
आफ्नो समस्यालाई लुकाएर राख्नेको संख्या पनि त्यति नै छ। महिलाले जस्तै पुरुषले पनि आफ्नो अनुहारको छालाको प्रकृतिअनुसार चिकित्सकको सल्लाहमा क्रिम छनोट गर्नुपर्छ। यसो गर्दा अनुहारको छाला स्वस्थ र सुन्दर राख्न सकिन्छ। सुन्दरताले जोकोहीको पनि आत्मविश्वास बढाउँछ। त्यसैले सुन्दर हुन खोज्नुलाई सकारात्मक रूपमा लिनुपर्छ।
अनुहारको छालाको सुन्दरतालाई लिएर परामर्शका लागि आउने पुरुष दिन प्रतिदिन बढ्दै गएका छन्। सामान्य हेरचाह गर्दा सुन्दर राख्न सकिने छालालाई बेवास्ताकै कारण बिगार्नेहरू धेरै छन्। कुन उमेरदेखि छालामा बढी म्वाइस्चराइजर चाहिन्छ र कुन सनस्क्रिन प्रयोग गर्दा छालालाई घामको नकारात्मक प्रभावबाट बचाउन सकिन्छ भन्ने सामान्य जानकारी हरेक पुरुषलाई भएको राम्रो। यसो गरेर पुरुषले आफ्नो अनुहारको छाला सुन्दर राख्न सक्छन्।
छालामा आउने चाउरी तथा चायापोतोका प्रकृति महिला र पुरुषमा एकै किसिमको हुने भएकाले उपचार पनि उस्तै विधिबाट गर्नुपर्ने हुन्छ। छाला ड्राई, अइली वा नर्मल कुन हो, त्यहीअनुसार क्रिम, जेल वा अक्वा जेल के लगाउने ? त्यो छालारोग विशेषज्ञले सामान्य चेकजाँच गरेर परामर्श दिन सक्छन्।
पुरुषहरू लुकी–लुकी क्रिम लगाउने तथा खुलेर चाहिँ म यो क्रिम प्रयोग गर्छु भन्न लाज मान्ने किसिमका हुन्छन्। अनुहारमा क्रिम लगाउन लाज मान्नुपर्ने कुनै कारण छैन। छाला रोग विशेषज्ञसँग भेटेर आफ्नो छालालाई सुट गर्ने क्रिम प्रयोग गर्ने हो भने कम खर्चमै अनुहारको छालामा चमक ल्याउन सकिन्छ। त्यसैले पुरुषले विज्ञापनको पछि लागेर पुरुषको छालाका लागि भनिएको महँगो क्रिम किन्नुको साटो आफूलाई पायक पर्ने छाला रोग विशेषज्ञसँग परामर्श गरेर क्रिम लगाउने हो भने अनुहारको छालाको उचित स्याहार गर्न सकिन्छ। सुन्दर देखिन पुरुषले लाज मान्नुपर्ने कुनै कारण छैन।