कोरोना खोप किन्न विश्व बैंकले ८ अर्ब ७० करोड ऋण दिने

राम्रो अनलाइन     ०६ चैत २०७७, शुक्रबार

काठमाडौं । कोरोना खोप किन्न विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । विश्व बैंकको बिहीबार बसेको कार्यकारी निर्देशक बोर्डले ऋण दिने निर्णय गरेको हो । यसको नेपाली ८ अर्ब ७० करोड रुपैयाँ हुन्छ । 

नेपालमा सुरक्षित र प्रभावकारी कोभिड १९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा(मार्फत नेपालले  ऋण सहायता प्राप्त गर्नेछ । यो ऋणबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्नेछ ।

७२ प्रतिशत जनतालाई खोप दिने सरकारको योजनालाई सघाउन विश्व बैंकले सहायता प्रदान गर्न लागेको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताए । 

रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ खोप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने भएको छ । बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड १९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिने  छ ।
 

प्रतिक्रिया