को हुन् राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका नारायणप्रसाद दाहाल ?

राम्रो अनलाइन     २९ फागुन २०८०, मङ्गलबार
को हुन् राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका नारायणप्रसाद दाहाल ?

 

काठमाडौँ– कास्कीको ढिकुरपोखरीमा बुबा कुलप्रसाद दाहाल र आमा देउरुपा दाहालका जेठो सन्तानका रुपमा दाहालको जन्म विसं २०१२ साल चैत १६ गते भएको हो । माओवादीभित्र उनलाई ‘सरल’ नामले चिनिन्छ । 

विसं २०१९ उनी सात वर्षको हुँदा नै परिवार चितवन बसाइँसराइ गरेको थियो । उनले शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा पूरा गरेका दाहाल विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएका थिए ।  उनी बाल्यकालमै  कम्युनिष्ट पार्टीप्रति आस्थावान् बनेका थिए। 

कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढिरहेको अवस्थामा बजारका पुस्तक पसलमा समेत कतिपय चिनियाँ कम्युनिष्ट पार्टीका प्रकाशनहरु निःशुल्क र कतिपय पुस्तकहरु सस्तो मूल्यमै पाइन्थ्यो । विद्यार्थीकालमा नै दाहाललाई धेरै चिनियाँ कम्युनिष्ट पार्टीका ‘चीन सचित्र’, ‘रेडबुक’ जस्ता पुस्तकले थप प्रेरित गरेको थियो  । विसं २०२७ जेठ १ मा विद्यार्थी दिवसका अवसरमा अनेरास्ववियूद्वारा आयोजित कार्यक्रममा नेपाल कम्युनिट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै दुई घन्टा हिँडेर जुलुस र कार्यक्रममा सहभागी भएका दाहाल दाजुभाइ दुवैले सोही दिन सँगै अनेरास्ववियूको सदस्यता लिएका थिए ।

माध्यमिक विद्यालय पढ्दै अनेरास्ववियूमा आबद्ध दाहालले २०३१ सालमा वीरेन्द्र क्याम्पस भरतपुरमा अध्ययन गर्न थालेपछि नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको पार्टी सदस्यता लिए।  तीन सदस्यीय स्थानीय पार्टी युनिट गठन गरी दाहाल पार्टी गतिविधिमा सक्रिय बने । 

विसं २०३६ मा स्नातक तह उत्तीर्ण गरेपछि एरिया पार्टी कमिटीको कोषाध्यक्ष चयन भए । सो कमिटीमा एक वर्ष काम गरेका दाहाललाई मोहनविक्रम सिंहको सल्लाहअनुसार नै पूर्णकालीन सदस्य भई भारत प्रवासको जिम्मेवारीमा काम गर्न पुगेका थिए । 

अखिल भारत नेपाली एकता समाजको केन्द्रीय सह–सचिव, कोषाध्यक्ष र सचिव हुँदै २०३८ सालदेखि समाजको केन्द्रीय सचिव हुँदै दोस्रो सम्मेलनपछि महासचिव र अध्यक्षको जिम्मेवारी बहन गर्दै दाहाल पार्टी सङ्गठन विस्तारमा समर्पित रहे । सङ्गठनको मुखपत्र नेपाली एकता प्रकाशन गरी भारतमा रहने नेपालीबीच राजनीतिक कार्य अगाडि बढाउन मुख्य भूमिका खेले । 

विसं २०३७ देखि पार्टीको पूर्णकालीन सदस्य बनेका दाहालले निरन्तर १८ वर्ष अखिल भारत एकता समाज र पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।  नवनिर्वाचित अध्यक्ष दाहालले २०५७ सालदेखि पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए । 

तत्कालीन नेकपा माओवादीको मुख्य राजनीतिक ‘एजेन्डा’ मानिएको संविधानसभामार्फत नयाँ संविधान बनाउने उद्देश्य पूरा गर्न गठन गरिएको व्यवस्थापिका–संसद् २०६३ मा उनी सदस्यका रुपमा भूमिका निर्वाह गरे । विसं २०६४ को संविधानसभा सदस्यको निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्यमा निर्वाचित बनेका दाहालले नेपालको ऐतिहासिक संविधानसभामार्फत समाजवाद उन्मुख संविधान निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याए । अध्यक्ष प्रचण्डको दोस्रो  प्रधानमन्त्रीकालमा दाहालले प्रधानमन्त्री कार्यालयमा प्रमुख प्रशासनिक सल्लाहकारको भूमिकासमेत कुशलतापूर्वक निर्वाह गरे ।

वामपन्थी आन्दोलनमा नयाँ विचारको विकाससहित वैज्ञानिक समाजवादमा पुग्न सकिने उनको कथन छ । प्रधानमन्त्री प्रचण्ड र दाहालका हजुरबुबा भने सहोदर दाजुभाइ थिए । प्रचण्डका बुबा र नारायणका बुबा कास्कीको ढिकुपोखरीबाट एकै दिन २०१९ सालमा पाँच कट्ठा जमिन किनेर चितवन बसाइँ सरेका थिए हाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्)०को स्थायी समिति सदस्यसमेत रहेका दाहाल २०७८ साल चैत २५ गते राष्ट्रपतिबाट मनोनित भई राष्ट्रियसभा सदस्य बनेका थिए । 

प्रतिक्रिया