कतिपय किशोरकिशोरी शारीरिक तथा मानसिक समस्याबाट प्रताडित भइरहेका हुन सक्छन् । किशोरहरूमा हस्तमैथुन, लिंगको आकार, यौन दुर्बलता, शीघ्र स्खलन, कन्डमबारे जिज्ञासा वा चिन्ता भइरहेको हुन्छ भने किशोरीहरू महिनावारी गडबडी, तल्लो पेट दुख्ने समस्या, कुमारीत्व, मोटोपनाको समस्या आदिबारे चिन्तित भइरहेका हुन सक्छन् । समग्रमा किशोरकिशोरीमा तीव्र यौनेच्छा, यौनरोग, गर्भधारणको समय, असुरक्षित यौनसम्पर्क, यौन दुव्र्यवहार, बलात्कार, हाडनाताको करणी, आकस्मिक परिवार नियोजन, अस्वस्थ गर्भपतन, कलिलै उमेरमा गर्भधारण, निःसन्तानबारे पनि उत्तिकै खुलदुली हुन्छ । सारांशमा केटाहरूमा हस्तमैथुन, स्वप्नदोष, लिंगको आकार तथा केटीहरूमा महिनावारी, स्तन, जननेन्द्रियका विषयमा बढ्ता जिज्ञासा र चिन्ता दुवै हुन सक्छ ।
यसबाहेक उनीहरू भविष्यको लक्ष्य, व्यक्तित्व, प्रतिस्पर्धा, लक्ष्य प्राप्तिका विषयमा पनि चिन्तित हुन सक्छन् । कतिपयमा नैराश्य एवं मानसिक तनाव त छँदै छ, त्यसमाथि यौन साहित्य, पत्रपत्रिका, फिल्म, साइबर सेक्स, मोबाइल सेक्सको लत, धूम्रपान, मद्यपान, लागुपदार्थको लत हुन सक्छ । यही उमेरमै युवायुवतीले पशुकरणी, मुखमैथुन, गुदद्वार मैथुन, समलिंगी मैथुनजस्ता पृथक यौन व्यवहारप्रति आशक्ति देखाउन सक्छन् । यसैबेला प्रेम, माया, ‘ब्रेकअप’, अन्तरर्जातीय विवाह, कलिलै उमेरमा पारिवारिक बोझ, आर्थिक समस्या, ‘जेनेरेसन ग्याप’को समस्या पनि व्यहोर्नुपर्ने हुनसक्छ ।
यौनसम्बन्धी कतिपय आधारभूत कुरा संसारभरि उस्तै हुने भए पनि समुदाय विशेषको सामाजिक, सांस्कृतिक, आर्थिक, बौद्धिक परिस्थितिअनुसार यौनसम्बन्धी नीति–नियम तथा सुपाच्य व्यवहार फरक–फरक हुन्छन् । यसैको आधारमा कतिपय समुदाय यौनिक हिसाबले उदार वा संकुचितजस्तो देखिन्छ । तर, जतिसुकै संकुचित समाज भए पनि स्वस्थ यौन व्यवहारको पक्षमा जनचेतना जगाउनु जरुरी छ । उमेर समूहका दृष्टिले वर्जित वा निषेधित यौन व्यवहार वा यौन कार्य गरिरहेको भेटिए पनि सकारात्मक तरिकाले परामर्श दिनुपर्दछ । यौन जिज्ञासा राखे यसलाई स्वाभाविक वा प्राकृतिक मानी यौन खुलदुली मेटाइदिनुपर्छ । यस कार्यबाट यौन विचलन हुन नदिई स्वस्थ यौन व्यवहारको विकास गर्न सघाउ पुर्याउँछ ।
उमेरसुहाउँदो लैंगिक व्यवहार गर्नु पनि महत्वपूर्ण छ । स्वस्थ तवरले यौन चेतना जगाएमा यौन हिंसामा पर्न तथा यौन दुव्र्यवहार गर्न रोक्दछ । प्रक्रियागत तवरले विद्यालय तथा कलेजमा यौन शिक्षा दिने भए पनि प्रारम्भिक यौन शिक्षा घरबाटै थाल्नुपर्छ । नेपालमै गरिएको एक अध्ययनअनुसार महिला (युवती) हरूले औसतमा १७.२ वर्ष र पुरुष (युवा) हरूले १९.७ वर्षमा पहिलो यौन सम्पर्कको अनुभव लिएको पाइयो । युवाहरूको दाँजोमा युवतीहरूको चाँडै विवाह हुने र विवाहपछि मात्र अधिक नेपालीले यौन सम्बन्ध राख्ने गरेबाट पनि यस्तो भएको हुनसक्छ । झण्डै २० प्रतिशत अविवाहित युवाहरूको एकभन्दा बढी यौन साथी रहेको पाइयो भने १५ देखि १९ वर्षका करिब २२ प्रतिशत पुरुषले यौनसम्पर्क राखिसकेको पाइयो ।
किशोर–किशोरीले यौन जिज्ञासा राख्नेबित्तिकै अश्लील तथा अनुशासनहीन मान्नुभन्दा असावधानी, अज्ञान एवं असुरक्षित तवरले यौन सम्बन्ध स्थापित भएको थाहा पाउनासाथ गोप्यता कायम राखी सुरक्षित व्यवस्थापनतर्पm ध्यान नदिई गालीगलौज, बेइज्जती, बहिष्कारलगायत गलत नीति एवं व्यवहार अद्यापि विद्यमान छ ।
यौन शिक्षाको मुख्य उद्देश्य असुरक्षित यौन व्यवहारबाट हुन सक्ने जटिलताको न्यूनीकरण गर्नु हो । यौन शिक्षाको नाममा संकुचित वा बन्द समाजमा जस्तै नैतिक शिक्षा र यौनिक मूल्य–मान्यता लाद्ने मात्र होइन । विद्यालयस्तरमै यौन शिक्षाको पाठ्यक्रममार्फत किशोरावस्थामा आउने परिवर्तन, प्रजनन् प्रणाली, गर्भ तथा यसका सम्भावित जटिलता, यौनजन्य संक्रमण, सुरक्षित मातृत्वबारे जानकारी दिन सकिन्छ । तर, कतिपय दुर्गम तथा विकट क्षेत्रमा तालिमप्राप्त विषयगत शिक्षक–शिक्षिकाको अभावमा तथा यौन शिक्षालाई लाज, संकोच, अश्लीलताको विषय मान्ने चलनका कारण यौन शिक्षाको वास्तविक उद्देश्य प्राप्त गर्न कठिनाइ भइरहेको छ ।
यौन शिक्षा दिने क्रममा केवल प्रजनन् प्रणलीको जानकारी तथा यसका काम मात्र नभई यौन तथा प्रजनन् सम्बन्धी सामाजिक मूल्य–मान्यता, सांस्कृतिक तथा मनोवैज्ञानिक पक्षबारे यथेष्ट जानकारी दिनु जरुरी छ । यसै क्रममा लैंगिक अधिकार, यौन दुव्र्यवहार, यौन हिंसा, यौन सम्बन्धका विविध पक्ष पनि उजागर गरिदिनुपर्छ । यौन शिक्षाको मामिलामा एकातिर यो आवश्यक रहेको र यसलाई पाठ्यक्रमबाट हटाउन नहुने अपेक्षा राखिएको छ भने अर्कोतिर विषयगत शिक्षकले कक्षाकोठामा प्रष्ट तरिकाले बुझाउन गाह्रो भइरहेको बताउने गरेका छन् ।
यौनेच्छा स्वाभाविक प्राकृतिक कुरा हो, जुन किशोर–किशोरीका हकमा पनि लागू हुन्छ । यौनको मामिलामा डर, त्रास देखाई दुश्मनको नीति अपनाउनुभन्दा मर्यादित तवरले आमसञ्चारका माध्यम तथा तालिमप्राप्त व्यक्तिमार्फत यौन शिक्षा दिनु आजको आवश्यकता हो ।
कलिलै उमेरमा यौन दुव्र्यवहार तथा यौन हिंसापीडित व्यक्ति कालान्तरमा यौन विचलन तथा यौनिक मनोरोगबाट ग्रस्त हुने पाइएको छ । नेपाली समाजमा विवाहपूर्वको यौन सम्बन्धलाई अवैध मान्ने गरिए पनि सानै उमेरमा विवाह गरिदिने, कलिलै उमेरमा गर्भाधान हुने कार्यलाई सजिलै स्वीकार गर्ने गरिएको छ । यो एक आपसमा विरोधाभासपूर्ण कार्य हो । किशोर–किशोरीलाई यौन शिक्षा दिँदैमा यौन क्रियाकलाप बढ्ने होइन । बरु यौनजन्य अपराध एवं असुरक्षित यौन क्रियाकलापको घटना कम हुने विश्वास गरिएको छ ।
इन्टरनेट, साइबरमा यौन सामग्री सहजै उपलब्धता तथा सञ्चारमाध्यममा यौन, बलात्कारको समाचारको बढोत्तरीलाई हृदयंगम गरी अभिभावक, शिक्षक–शिक्षिका, सामुदायिक कार्यकर्ता, स्वास्थ्यकर्मी मिली बेलैमा यौन शिक्षा दिनु बुद्धिमानी हुन्छ ।