एक महिनामै यति धेरै परिवर्तन सम्भव हुन्छ भन्ने धेरैले कल्पना पनि गरेका थिएनन्।, तर जब नेतृत्वमा दृढ इच्छाशक्ति, स्पष्ट सोच र निर्मम अडान भएको व्यक्ति आउँछ, तब कामको गति कस्तो हुन्छ भन्ने अहिले देशले देख्न थालेको छ।
वर्षौंदेखि “यस्तै चल्छ” भनेर थन्क्याइएका धेरै विषयहरूमा अहिले हस्तक्षेप भइरहेको छ। राजनीतिक भागबन्डा, पहुँचका आधारमा हुने नियुक्ति, राज्यस्रोतको दुरुपयोग, कमजोर प्रशासनिक अनुशासन–यी सबै कुरामा अब प्रश्न उठ्न थालेको छ। यही कारणले केही मानिसहरू असहज महसुस गरिरहेका छन्, किनकि परिवर्तनले सबैभन्दा पहिले गलत प्रणालीलाई नै झस्काउँछ।
असल नेतृत्वको पहिचान भाषणले होइन, निर्णयले हुन्छ। कसैको दबाबमा नझुकी राष्ट्रहितलाई केन्द्रमा राखेर निर्णय लिन सक्नु नै वास्तविक नेतृत्व हो।
लोकप्रियताको लागि सबैलाई खुसी बनाउने प्रयास सजिलो हुन्छ, तर देश बनाउने काम कहिलेकाहीँ कठोर निर्णयबाट मात्रै सम्भव हुन्छ।
छोटो समयमा देखिएका कामहरू केवल सुरुवात मात्र हुन्। अझ धेरै सुधार गर्न बाँकी छ–प्रशासनमा पारदर्शिता, विकासको गति, युवालाई अवसर, भ्रष्टाचारमाथि नियन्त्रण, र राज्य संयन्त्रलाई जिम्मेवार बनाउने ठूलो काम अझ अगाडि छ। तर, कम्तीमा अहिले देशले एउटा कुरा महसुस गर्न थालेको छ– इच्छाशक्ति भयो भने परिवर्तन सम्भव रहेछ।
देश बनाउने यात्रा एक दिनमा पूरा हुँदैन, तर सही दिशा समातिएको छ भने परिणाम अवश्य आउँछ। आज देखिएको अडान, कार्यशैली र निर्णय क्षमता यही रूपमा अगाडि बढिरह्यो भने आगामी एक वर्षमा अझ धेरै परिवर्तन देख्न सकिने आशा गर्न सकिन्छ।