काठमाडौँ– छालारोगको नाममा सौन्दर्य केन्द्र, ब्यूटी पार्लर तथा अनधिकृत संस्थाबाट भइरहेका गैर–वैज्ञानिक एवं गैर–व्यवसायिक उपचारहरूले नेपाली जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको भन्दै नेपाल डर्माटोलोजिष्ट, भेनेरोलोजिष्ट र लेप्रोलोजिष्ट समाजले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
समाजले शुक्रबार स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई भेटेर समेत यसबारे ध्यानाकर्षण गराएको छ । स्वास्थ्मन्त्री पौडेलसँग समाजका अध्यक्ष डा. मनिषा सिंह बासुकला र महासचिज डा अदिती मिश्र, नेपाल सोसाईटी अफ हेयर रिस्टोरेसन सर्जनका अध्यक्ष डा. धर्मेन्द्र कर्ण, नेपाल मेडिकल काउन्सिका सदस्य रूपक घिमिरेलगायत चिकित्सकहरूले चार बुँदे माग सहित स्वास्थ्यमन्त्री पौडेललाई ध्यानाकर्षण गराएको हो ।
समाजका महासचिव डा. मिश्र र अध्यक्ष डा. सिंहले संयुक्त रूपमा जारी गरेको प्रेस विज्ञप्तिमा चिकित्स नभएका व्यक्तिहरूले आफूलाई ‘स्किन स्पेसलिष्ट’ भनेर चिनाउँदै इन्जेक्सन, औषधि, लेजर, प्लाज्मा थेरापी जस्ता संवेदनशील विधिहरू प्रयोग गर्दै आएको उल्लेख गरिएको छ ।
यस्ता अनइथिकल प्रक्टिसले बिरामीको छालामा स्थायी दाग, संक्रमण, छाला पातलो हुने, छालासँग सम्बन्धित विभिन्न जटिलता उत्पन्न हुने र ज्यानैसमेत जोखिममा पार्ने घटनाहरू बढ्दै गएको भन्दै चिकित्सकहरूले स्वास्थ्यमन्त्री समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन् ।
चिकित्सहरूले यस्ता कार्यहरू स्वास्थ्य सेवा प्रवाहको मर्यादा र प्रचलित कानुन विपरीत भएको स्पष्ट गरेका छन् ।
समाजले नेपाल मेडिकल काउन्सि, औषध व्यवस्था विभाग तथा स्थानीय प्रशासनलाई यस विषयमा पटक–पटक ध्यानाकर्षण गराउँदै आएको समेत उल्लेख गरेको छ ।
हालै चिकित्स नभएका एक व्यक्तिलाई डर्मेटोलोजिष्टको रूपमा सार्वजनिक रूपमा सम्मान गरिएको घटना सार्वजनिक भएपछि समाजले यस्ता भ्रामक कार्य विरुद्ध कडा कानुनी कारबाही र निगरानीको माग गरेको छ ।
गलत प्रक्रियामा संलग्न व्यक्ति तथा संस्थाहरूलाई कानुन अनुसार कारबाही एवं नियामक निकायहरूबीच समन्वय गरी निगरानी र अनुशासन कायम गर्नसमेत चिकित्सकहरूले माग गरेका छन् ।