काठमाडौँ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजदेखि काठमाडौं उपत्यकाका १४ स्वास्थ्य संस्थाबाट लगाइने भएको छ ।
खोप पहिलो चरणमा चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, व्यक्ति, होटेल, ट्रेकिङ, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, प्राध्यापनमा संलग्नलगायतलाई लगाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यी संस्थाबाट लगाइन्छ खोप
खोप उपत्यकाका १४ अस्पतालबाट लगाउने सूची स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, प्रसुति गृह थापाथली, निजामती कर्मचारी अस्पताल बानेश्वर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र टीयू, नेपाल मेडिकल कलेज अत्तरखेल र काठमाडौ मेडिकल कलेज सिनामंगलबाट खोप लगाइने छ ।
त्यस्तै नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी निशुल्क चिकित्सालयबाट पनि खोप लगाइने मन्त्रालयले जनाएको छ ।
चीनले नेपाललाई आठ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।