बिपी समावेशी लोकतन्त्रका प्रणेता

धर्मेन्द्र झा     ०६ साउन २०८२, मङ्गलबार
बिपी समावेशी लोकतन्त्रका प्रणेता

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो, यो भन्न कञ्जुस्याइँ गरिरहनु जरुरी छैन । उहाँ यथास्थितिवादी राजनीतिका एक यथास्थितिवादी नेता हुनु हुन्थेन, बरु विचार र दर्शनका आधारमा विद्यमान राजनीतिलाई गति दिनसक्ने र समयानुकूल मोड्न सक्ने तथा तार्किक निष्कर्षमा पुर्‍याउन सक्ने क्षमतायुक्त राजनेता हुनुहुन्थ्यो । 

राजनीतिमा विकसित प्रत्येक परिस्थितिलाई प्रजातन्त्र अनुकूल बनाउन सक्ने अद्भूत क्षमता र व्यवहार कुशलता भएका अन्तरराष्ट्रियस्तरको राजनेताका रूपमा उहाँ सुपरिचित हुनुभयो । नेपालको राजनीतिमा बिपी कोइराला एउटा व्यक्तिमात्र नभएर युगद्रष्टा पनि हुनुहुन्थ्यो भनेर भनियो भने अतिशयोक्ति हुने छैन । जति बेला नेपालको समाज विकसित भइसकेको थिएन उहाँले उतिबेलै मुलुकको समृद्धिको सपना देखिसक्नुभएको थियो । सपना देख्ने मात्र होइन, त्यसलाई कार्यान्वयन गर्ने परिकल्पनासहितको योजनाको खाका पनि बनाइसक्नुभएको थियो । 

नेपालका सन्दर्भमा झण्डै १८ महिने उहाँको प्रधानमन्त्रित्वकाल प्रजातन्त्रका लागि स्वर्णकाल मानिन्छ । यो अवधि देशको आधुनिकीकरण अनि विकासको दिशामा एउटा प्रस्थानविन्दु मात्रै थिएन, बरु त्यो प्रस्ट दृष्टिकोण र दूरदृष्टिपूर्ण राजनीतिको एउटा सुरूआत पनि थियोभन्दा अस्वभाविक हुँदैन । उहाँको नेतृत्वमा समाजवादको मौलिकीकरण अनि सिद्धान्तको राजनीतिको गर्भरचना हुन सकेको थियो र देशको एउटा भविष्यरेखा कोरिएको थियो । आज नेपाली राजनीतिमा त्यो नै बिपी चिनाउने एउटा विम्ब बनेको छ । यतिमात्र होइन, आज नेपालको विकासको खाकाको बिपीकै चिन्तनमा आधारित छभन्दा असङ्गत ठहर्दैन ।  

आर्थिक रूपान्तरण गरी जनताको जीवनस्तर माथि नउठाएसम्म लोकतन्त्र फलदायी हुन सक्दैन र लोकतन्त्रको अभावमा देशको विकासले कोल्टो फेर्न असम्भव हुने दर्शनका आधारमा उहाँले उद्योग, कलकारखाना स्थापनामा जोड दिनुभएको थियो । उहाँले जनता केन्द्रित राजनीतिका आधारमा नेपाली समाज र भूगोललाई जोड्ने कालजयी प्रयास गर्नुभएको थियो । उहाँले राजनीतिलाई नयाँ अर्थ प्रदान गर्ने सन्दर्भमा बहिष्करणमा परेका जात, समुदाय र भूगोललाई राज्यको मूलधारमा प्रवाहीकरण गर्ने अवधारणा कार्यान्वयनको प्रयास थाल्नुभएको थियो । 

आज समावेशीका नाममा राजनीति गर्नेहरूले बुझ्नु जरुरी छ, बिपीले उतिबेलै समावेशी सिद्धान्तको प्रतिपादन मात्र होइन कार्यान्वयन नै गर्नुभएको थियो र राष्ट्र निर्माणको प्रक्रियालाई दिशानिर्देश गर्ने प्रयत्न गर्नुभएको थियो । आज समावेशीकरणको कुरा जति भएको छ, त्यसको आधार बिपीले २०१५ सालमै खडा गरिसक्नुभएको थियो । उहाँँको मन्त्रिमण्डल, उहाँँले नियुक्ति गरेका व्यक्तिहरूलाई हेर्दा देशको सबै भूगोल, जातजाति, वर्ग समुदायको प्रतिनिधित्व भएको पाइन्छ । यस आधारमा भन्न सकिन्छ कि समावेशीकरणका माध्यमले उहाँले सामाजिक न्यायमा पनि जोड दिनुभएको थियो । उहाँपछिका दिनमा यो अवधारणाको कार्यान्वयनले सार्थक अर्थमा निरन्तरता प्राप्त गर्न सकेन । 

नेपालको राजनीतिक विकासक्रमलाई मिहीन ढङ्गले विश्लेषण गरिएका खण्डमा उहाँको समयमा नेपालको राजनीति एउटा खास भूगोल र क्षेत्रमै सीमित रहेको पाउन सकिन्छ । उहाँले यस अवस्थामा परिवर्तन खोज्नुभयो । समाजको यथार्थलाई राम्ररी बुझ्नुभएका उहाँले बहुलवादमा आधारित समाजवादको नीति तय गर्नुभएको थियो । उहाँले सोहीअनुसारको नीति, योजना र कार्यक्रमहरू ल्याउनुभएबाट यो तथ्यको पुष्टि हुन्छ । यसको एउटा मुख्य उदाहरण भूमि सुधारलाई मान्न सकिन्छ । अहिले देशमा भूमि व्यवस्थासम्बन्धी जे जति काम हुन सकेका छन्, उहाँकै नीतिमा आधारित रहेका छन् ।    

बिपी चिन्तनको विश्लेषण्का आधारमा भन्न सकिन्छ, उहााका लागि आधारभूत मानवीय मूल्य भनेको समानतामा आधारित सिद्धान्त थियो । उहाँमा यो अवस्था प्रजातान्त्रिक पद्धति र समाजवादबाट हासिल हुन्छ भन्ने दृढ विश्वास थियो । कुनै दुईमत हुन सक्दैन, बिपीको यही दृढता नै आजको नेपाली राजनीतिको मार्गदर्शनको सिद्धान्त हो । त्यो बेला नेपाली कांग्रेसले अख्तियार गरेका धेरै नीतिहरू कांग्रेसको गर्भसिद्धान्तअर्थात् समाजवादी दर्शनका विम्ब हुन् । 

त्यसअघि बीरगञ्जमा सम्पन्न नेपाली कांग्रेसको छैटौँ महाधिवेशनले प्रजातान्त्रिक समाजवादको सिद्धान्तलाई पार्टीको मूल सिद्धान्तका रूपमा प्राणप्रतिष्ठा गरेको थियो । यही महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी समाज निर्माणका लागि राष्ट्रिय योजना समिति निर्माण गर्नेलगायत विभिन्न १८ वटा प्रस्ताव पारित गरेको थियो । उहाँले त्यतिबेला समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौंँ भन्नुभभएको थियो । आज पनि यसैको जगमा नेपाली कांग्रेस बाँचिरहेको छ ।

राजनीतिक दृष्टिकोण र बदलिँदो विश्व राजनीतिका कारण राष्ट्र निर्माणका लागि राष्ट्रिय एकताको आवश्यकता जहिले पनि पर्दछ । लोकतन्त्रलाई सञ्चालन गराउने केही आवश्यकीय संरचनाहरूको कल्पना उहाँले पहिले नै गर्नुभएको थियो । जस्तै, प्रेस स्वतन्त्र नभएसम्म लोकतन्त्र बलियो हुन सक्दैन भन्ने उहाँको प्रष्ट बुझाइ थियो । प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गरेका बिपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेका दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ । उहाँको विश्वास थियो, यस्तो सामूहिक अभियानले नेपाली जनताको भावनात्मक एकताको संस्थागत आधार तयार पार्छ । 

बिपीको राजनीतिक दूरदर्शिता उहाँको मेलमिलापको नीतिबाट छर्लङ्ग हुन्छ । उहाँ ३० डिसेम्बर १९७६ अर्थात् २०३३ पुस १६ का दिन भारत निर्वासनबाट स्वदेश फर्किनुभएको थियो । निर्वासनको यो आठ वर्ष बिपीका लागि अत्यन्त कष्टपूर्ण, कठिन र सङ्घर्षयुक्त रहेका थिए । निर्वासनबाट स्वदेश फर्कनु स्वयं बिपीका लागि, नेपाली कांग्रेसका लागि र समग्रमा नेपालका लागि निकै महत्वपूर्ण राजनीतिक खुड्किलो रहेको त्यसबेला स्वीकार गरिएको थियो । यो नीति अहिले पनि सान्दर्भिक र सामयिक छ । 

निकै जोखिम मोलेर नेपाल फर्कने सन्दर्भ बिपीको निकै ठूलो साहसिक निर्णय थियो, । तत्कालीन राजनीतिक अवस्थाको विश्लेषण गर्ने हो भने यो जोखिमको अनुमान सहजै गर्न सकिन्छ । मृत्युदण्डसमेत हुनसक्ने प्रकृतिका आठवटा मुद्दा खेपिरहेका बिपीका लागि स्वदेश आगमनको निर्णय कम जोखिमपूर्ण थिएन । 

तर बिपी देश, प्रजातन्त्र र राष्ट्रियताको सम्वद्र्धनको उद्देश्य राखी स्वदेश फर्किनुभयो । यो उहाँको राजनीतिक दूरदर्शिता थियो । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुनसक्छ भन्ने उहाँको सोचलाई सबैले आत्मसात् गर्नु आवश्यक छ । राष्ट्रिय एकता सम्पूर्ण नेपाली जनताको सामूहिक प्रयासबाट हुने अभियान र कार्यले मात्र स्थापित हुन्छ ।

आज नेपालमा राजतन्त्र छैन । कम्युनिष्ट आन्दोलन पनि हिजोको अवस्थामा छैन । विश्वमा असंलग्न आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन । यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ रु नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा औचित्य छ ? यसको एउटै जवाफ हो, छ । 

देश आज सङ्घीयतामा गएको छ । नयाँ संविधान कार्यान्वयनको अवस्थामा छ । हिजोका भन्दा फरक राजनीतिक अवस्था छ । राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ । भूराजनीतिक अवस्था संवेदनशील छ । यस्तो अवस्थामा सायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ । यस्तोमा उहाँको देखाउनुभएको मेलमिलापको बाटोको सान्दर्भिकता अझ बढेर गएको कुरामा दुई मत हुन सक्दैन । नेपालको विकास अपरिहार्य रहेको अवस्थामा नेपालका सबैथरि राजनीतिक शक्तिका बीच न्यूनतम समझदारीको आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन । 

दुर्भाग्यवश उहाँले आफूले थालनी गरेका कार्यक्रम, योजना र नीतिहरूको कार्यान्वयन गर्न लामो समय पाउनुभएन । केही वर्ष उहाँले आफ्नो सोचअनुसार काम गर्न पाउनुभएको भए विश्वका अन्य धेरै राष्ट्रहरूले जसरी समृद्ध बन्न सके, नेपालले पनि त्यही गति समात्न सक्ने थियो । त्यहीँबाटै मुलुकले लामो समयसम्म सही बाटो पहिल्याउन सकेन । फलस्वरूप नेपालले एकदलीय निरङ्कुशता, सशस्त्र द्वन्द्व, राजनीतिक अस्थिरता भोग्नुपर्‍यो । अब मुलुकमा लोकतन्त्र छ, उहाँको उत्तराधिकारीमाथि उहाँको त्यो सपना पूरा गर्नुपर्ने दायित्व थपिएको छ । 

बिपीका नारा र समाजवादको मन्त्र पढेर अनि कोरा अक्षरमा बिपीको नाम पुकारेर उहाँले देख्नुभएको सपना र उहाँले हाम्रो काँधमाथि छोडेर जानुभएको लक्ष्यको भारीलाई हामीले गन्तव्यसम्म कहिल्यै पुर्‍याउन सक्दैनौँ । बिपीले यो धर्ती छोड्नुभएको आज ४२ वर्ष पुगिसकेको छ । तथापि हामीलाई उहाँले छोडिजानुभएको कतिपय नीति, सिद्धान्त र आदर्शहरू युगौँयुगसम्म पनि हामीसँगै रहनेछन् । (लेखक राससका कार्यकारी अध्यक्ष हुन्) 

प्रतिक्रिया