‘बी–गर्ल’ आश्मा 

राम्रो अनलाइन     १४ वैशाख २०७८, मङ्गलबार
‘बी–गर्ल’ आश्मा 

युट्युबमार्फत चर्चा बटुलेको डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ की एक सदस्य हुन्, आश्मा विश्वकर्मा । उनको मूल थलो धरान भए पनि आश्मा काठमाडौँमा जन्मिन् र यहीँ हुर्किन् । स्कुलमा हुने हरेक सांस्कृतिक कार्यक्रममा उनी अगाडि सर्थिन् । स्कुलकी ‘फस्ट गर्ल’ उनी गायनमा पनि रुचि राख्थिन् ।

‘आठ कक्षामा पढ्दा एक जना मिल्ने साथी थियो,’ उनले विगत सम्झिइन्, ‘उसले एक दिन बाहिर देशका केटीहरूले बी–गर्ल डान्स गरेको भिडियो देखायो ।’ साथीले देखाएको भिडियो हेर्नेबित्तिकै उनलाई ‘म पनि गर्न सक्छु’ भन्ने भावना जाग्यो । ‘मनमनै सोचेँ– ‘म पनि नेपाललाई प्रतिनिधित्व गर्ने खालको बी–गर्ल बन्छु,’’ उनले भनिन् । आश्मा स्वभावैले ‘टम ब्वाई’ खालकी थिइन् । ‘बी–गर्ल बन्ने सुर चलेपछि त झन् पूरै केटा जस्तै भएर हिड्थेँ,’ उनले भनिन्, ‘मैले डान्स सुरु गर्दा नेपालमा बी–गर्ल थिएनन् ।’ नृत्य अभ्यासका क्रममा उनको भेट ‘कार्टुन्ज क्रू’सँग भयो । त्यो सन् २०१० तिरको कुरा हो । क्रूबाट आफूले धेरै कुरा सिकेको उनी बताउँछिन् । ‘गु्रपमा एकले अर्कालाई सघाउँछन्,’ उनले भनिन्, ‘क्रूको सबैभन्दा राम्रो कुरा भनेकै एकता हो । कोही तल झ¥यो भने सबैले मिलेर माथि तान्छौँ । हिम्मत हार्न दिँदैनौँ ।’ 

बी–बोइङ सिकेपछि उनको दैनिकी विभिन्न कार्यक्रममा बित्न थाल्यो । ‘घर जान ढिला हुँदा निकै गाली खाइन्थ्यो,’ उनले भनिन्, ‘वरिपरिका मान्छेले ‘छोरी बिग्री’ भनेर घरमा कुरा लगाइदिने रहेछन् ।’ जस्तोसुकै अवस्थामा पनि उनले डान्स गर्न भने छोडिनन् । ‘बरु कहाँ–कहाँ अवसर पाइन्छ भन्दै खोज्दै हिड्थेँ,’ उनले भनिन्, ‘क्रूका दाइहरूले धेरै पटक घरमा गएर परिवारलाई कन्भिन्स्ड गराउनुभयो ।’ एक दिन एउटा म्यागजिनले उनको फोटो कभर पेजमा छाप्यो । ‘डान्सिङ पोजको त्यो फोटो देखेर घरका सबै खुशी भए,’ उनले भनिन्, ‘त्यो दिनदेखि मलाई परिवारले विश्वास गर्न थाल्यो ।’

बी–गर्ल बन्न सोचे जस्तो सजिलो नभएको उनी बताउँछिन् । ‘नयाँ स्टेप सिक्दा प्रायः चोटपटक लाग्छ नै,’ उनले भनिन् ‘अहिले त अभ्यासले बानी पारिसक्यो । सानोतिनो चोट त चोट जस्तै लाग्दैन ।’ उनको भाषामा बी–गर्ल बन्न मेहनत र समर्पण चाहिन्छ । ‘केटाहरूको भन्दा दोब्बर अभ्यास गर्नुपर्छ,’ उनले भनिन् ‘हरेक मान्छेले आफ्नो खूबी चिन्नुपर्छ । आफूले आफूलाई विश्वास गर्नुपर्छ ।’ 

फुर्सदमा उनी डान्स भिडियो हेरेर बस्छिन् । ‘आफ्नै भिडियो पनि बेला–बेला हेर्छु,’ उनले भनिन्, ‘त्यतिबेला मलाई काम गर्न थप ऊर्जा मिल्छ ।’ यो क्षेत्रमा अगाडि बढ्न समय कुर्नुपर्ने उनी बताउँछिन् । ‘आठ कक्षादेखि कोसिस गर्दा–गर्दा बल्ल पालो आएको छ,’ उनले भनिन्, ‘बीचमै छाडेको भए कहाँ पुग्थेँ कहाँ ?’
आश्मा प्लस टू सकेर बसेकी हुन् । ‘अब छिट्टै नै ब्याचलर्स पढ्ने योजना छ,’ उनले भनिन् । उनको दैनिकी अहिले कार्टुन्ज क्रूका सदस्यहरू सरोज अधिकारी, लाक्पा लामा, विकास राई, राम घले र सुबिन अधिकारीसँग बित्छ । ‘उनीहरूसँग नाच्दा समय बितेको पत्तै लाग्दैन,’ उनले भनिन्, ‘अब त उनीहरूलाई देखेन भने, भेटेन भने खाएको खाना पनि नपच्ने भइसक्यो ।’ सरोजलाई उनी बेस्ट लिडर मान्छिन् । सुबिनले उनले जे भने पनि मान्छ । लाक्पा हँसिलो र विकास उनलाई कमेडियन लाग्छ । रामले आफूलाई नजानेको कुरा सिकाउने उनी बताउँछिन् । 

आश्मा डान्ससँग अभिनयमा पनि अगाडि बढिरहेकी छिन् । उनीहरूको वेब सिरिज ‘ट्वान्टी फस्ट लभ’ को चौथो भाग युट्युबमा प्रसारण भइरहेको छ । 
कार्टुन्ज क्रूको हरेक भिडियोले लाखौँ भ्यू पाउने गरेको छ । उनीहरूको भिडियो पहिलो वा दोस्रो दिनमै ट्रेन्डिङमा पर्छ । क्रूको फिल्म ‘रेसम फिलिली’को ‘जालमा’ गीत, ‘पुरानो डुंगा’ को ‘निर जहिल्ये रिसाउने’ गीत र ‘प्रेम गीत–२’ को ‘मोटरसाइकलमा’ लगायत गीतको कभर डान्स युट्युबमा निकै हिट छन् । पछिल्लो समय उनीहरूले डान्स गरेको म्युजिक भिडियो ‘दिलको भित्तामा’, ‘माछीले खाने खोलीको लेउ’, ‘कम्मरको ट्याटु’ र ‘नाइँ मलाई थाहा छैन’ निकै चर्चित छन् । केही दिनअघि मात्रै सार्वजनिक भएको ‘रेलीमाई’ पनि युट्युबमा टे«न्डिङमा परेको छ । ‘आगामी दिनमा पनि यसरी नै नाच्छु र अरूलाई पनि नचाउँछु,’ आश्माले भनिन् ।  
 

प्रतिक्रिया