भोजपुर हत्या घटनाः शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

राम्रो अनलाइन     २३ असार २०८२, सोमबार
भोजपुर हत्या घटनाः शवलाई  ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

भोजपुर– भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो ।  भोजपुर नगरपालिका– २ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिसा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए । अभियुक्त पनि घाइते रहेकाले उनको पनि धरानमा उपचार भइरहेको छ । 

मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव परीक्षणका लागि धरान पठाउन रामप्रसादराई गाउँपालिकाको सचिवालयले सङ्कलन गरेको सहयोग  परिवारलाई हस्तान्तरण गरिएको  छ । गाउँपालिका अध्यक्ष थामबहादुर राईले सङ्कलित एक लाख १४ हजार आठ सय ७१ रुपैँया रकम मृतक आफन्तलाई हस्तान्तरण गरेका हुन् । मृतक परिवारको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकोले गाउँ कार्यपालिकाको बैठक बसेर पालिकाको तर्फबाट पनि सहयोग गर्ने उनको भनाइ छ । 

‘मृतक परिवारको आर्थिक अवस्था कमजोर छ’ अध्यक्ष राईले भने,‘सचिवालयबाट सङ्कलन भएको एक लाख १४ हजार रकम हस्तान्तरण गरेका छौँ । गाउँपालिकाको तर्फबाट पनि सहयोग गछौँ ।’ शनिबार राति आफ्नै ज्वाइँले एकै परिवारका चार जनाको सामूहिक हत्या गरेका थिए । 

प्रतिक्रिया