‘भद्रगोल’ले व्यवस्थित भएका सुजित 

राम्रो अनलाइन     ०७ असार २०७८, सोमबार
‘भद्रगोल’ले व्यवस्थित भएका सुजित 

मेरो नाम इन्सपेक्टर थापा, जतिखेर चाहियो त्यतिखेर मार्न सक्छु छापा ।
यस संवादबाट दर्शकमाझ ‘नोटिस्ड’ भए, हास्य कलाकार सुजित थापा । नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘भद्रगोल’मा उनले ‘इन्सपेक्टर’ र ‘माने’ को भूमिकामा अभिनय गरेका थिए । भन्छन्, ‘भद्रगोलमा काम गरेपछि मात्र मेरो करिअर सुरु भयो । नत्र, यस क्षेत्रमा लागेको त सात वर्ष भइसक्यो ।’ 

भक्तपुर, चांगुनारायण उनको जन्मथलो हो । उनका बुबा सरकारी जागिरे थिए । ‘जहाँ–जहाँ बुबाको सरुवा हुन्थ्यो, हामी त्यतै पुग्थ्यौँ,’ उनी भन्छन्, ‘मैले सानै उमेरमा धेरै ठाउँ घुम्न पाएँ । १५ वटाजति त स्कुलै फेरियो ।’ भक्तपुरको वासुकि माध्यमिक विद्यालयबाट उनले एसएलसी दिए । 

मानविकी संकायबाट स्नातक गरेपछि थापाले १० वर्षजति यती एयरलाइन्समा काम गरे । ‘त्यहाँ काम गर्दा कलाकारहरूसँग राम्रै चिनजान भयो, घुलमिल भएँ,’ उनी भन्छन्, ‘मलाई पनि कलाकार बन्ने रहर जाग्यो ।’ परिवारको आर्थिक अवस्था राम्रो भएकाले कलाकारितामा ‘रिक्वेस्ट’को भरमा सहजै छिरेको उनी बताउँछन् । ‘तर, यहाँ आफूलाई स्थापित गर्न भने धेरै संघर्ष गर्नुप¥यो,’ थापा भन्छन् ।

बाल्यकालमा चञ्चले स्वाभावका थिए, उनी । पाँच कक्षामा हुँदा उनले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको ‘लोभी पापी’ फिल्म हेरेका थिए । ‘फिल्मको ‘स्याउझैँ गाला तिम्रो’ भन्ने गीतले मन छोयो,’ उनी सम्झिन्छन्, ‘त्यही गीतलाई रमाइलो पाराले गाउँथेँ । मैले गाएको सुनेर एक जना दाइले ‘यस्तो रमाइलो गर्ने मान्छे त हास्य कलाकार बन्नुपर्छ’ भने । त्यही बेलादेखि मलाई हास्य क्षेत्रमा रस बस्यो ।’ 

आफूलाई यस क्षेत्रमा कलाकार सीताराम कट्टेलले भित्र्याएको उनी बताउँछन् । ‘‘मेरी बास्सै’ बाट उहाँले मलाई इन्ट्री गराउनुभयो,’ थापा भन्छन्, ‘त्यसको सात एपिसोडमा काम गरेँ ।’ तर, कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘घरभेटी बा’ लाई उनी आफ्नो डेब्यू मान्छन् । काम र कलाकारिता दुवैलाई उनले सँगसँगै अगाडि बढाए । ‘‘भद्रगोल’मा काम गर्न थालेपछि व्यस्तता बढ्यो,’ उनी भन्छन्, ‘जागिर छोडेर यसैमा लागिपरेँ । पछि यही क्षेत्रमा काम गर्ने नशा लाग्यो । खासमा भन्ने हो भने ‘भद्रगोल’ले मलाई व्यवस्थित बनाइदियो ।’

थापाले ‘कलेज’, ‘दृष्टि’, ‘हाकाहाकी’, ‘हाउ फन्नी’लगायत हास्य टेलिसिरियलमा विभिन्न क्यारेक्टरमा काम गरिसकेका छन् । ‘हाकाहाकी’मा उनी सात÷आठ क्यारेक्टरमा देखापरे । उनको ‘डेभिड’ र ‘जिते’ चरित्रलाई दर्शकले रुचाए । 

कलाकारिता क्षेत्रमा टिक्न सहज नभएको उनी बताउँछन् । ‘कलाकार बन्नु मुखले बोलेको जस्तो सजिलो हुँदो रहेनछ,’ उनी भन्छन्, ‘बाहिरबाट हेर्दा यो क्षेत्रमा ‘चार्म’ देखिन्छ । नाम नभएकोलाई यहाँ काम चलाउन एकदमै गाह्रो छ ।’ नाम कमाएपछि त्यसलाई बचाउन पनि चुनौतीपूर्ण रहेको उनको अनुभव छ । अरू क्षेत्रजस्तै कलाकारितामा पनि प्रतिस्पर्धा बढेको उनी बताउँछन् । ‘पहिला ‘हिजो आजका कुरा’ सिरियल हेर्न मान्छेहरू खाना खाएर कुरेर बस्थे, आज त्यो अवस्था छैन,’ उनी भन्छन्, ‘बजारमा प्रतिस्पर्धा बढेको छ । चुनौती थपिएको छ ।’ 

समाजमा भएका पात्रलाई ठट्यौली पाराले पर्दामा प्रस्तुत गर्नु नै हास्य कलाकारको खुबी भएको उनी बताउँछन् । भन्छन्, ‘अरूलाई रुवाउन सजिलो छ तर हँसाउन धेरै गाह्रो छ ।’ आगामी दिनमा जँड्याहा र पागलको भूमिका गर्न चाहने थापा बताउँछन् । ‘‘जिते’जस्तो सोझोदेखि ‘डेभिड’सम्मको ‘रफ एन्ड टफ’ चरित्र गर्न भ्याइसकेँ,’ उनी भन्छन्, ‘अब मलाई जँड्याहा र पागलको रोल गर्न मन छ ।’ 

अभिनयका साथै क्यारिकेचरमा पनि उनको रुचि छ । ‘मैले अहिलेसम्म ७० भन्दा बढी नेतादेखि विभिन्न चर्चित व्यक्ति, कार्टुनको क्यारिकेचर गरिसकेँ,’ उनी भन्छन्, ‘क्यारिकेचर गर्नु अभिनय गर्नुसरह गाह्रो छ ।’ क्यारिकेचर गर्दा उनी व्यक्तिको हाउभाउदेखि उसको लवाइ, बोल्ने तरिका सबै अध्ययन गर्छन् । क्यारेक्टर र क्यारिकेचर दुवै एकअर्काका परिपूरक रहेको उनी बताउँछन् । ‘पर्दामा क्यारेक्टरले काम गर्छ, स्टेजमा क्यारिकेचर जम्छ,’ उनी भन्छन् । 

उनले अहिले डिस होमको ‘इन्टरटेनमेन्ट च्यानल’ रमाइलो टीभीमा स्ट्यान्डअप कमेडी सो ‘ओएमजी’ चलाउँछन् । सोमा रमाइलो अन्तर्वार्ता, डकु ड्रामा हुन्छ । युवा पुस्तालाई लक्ष्य गरेर सो तयार गरिएको उनी बताउँछन् । भन्छन्, ‘यो सोमा मैले सामान्य सुजित थापाकै रोल गरेको छु । आफूलाई स्थापित गर्न नयाँ प्रयास गर्दै छु ।’ 

प्रतिक्रिया