नेपालले भारतबाट बुधबार (आज) कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । भारत सरकारले नेपालसहित छिमेकी मुलुकलाई आजबाट खोप उपलब्ध गराउने घोषणा गरेको हो ।
भारतले नेपालसहित भुटान, बंगलादेश, माल्दिभ्स, सेसल्स र म्यानमारलाई खोप उपलब्ध गराउने बताएको छ ।
कति मात्रामा खोप उपलब्ध गराउने बारे भने आधिकारिक जानकारी आएको छैन । भारतीय मिडियाका अनुसार भारतका अन्य केही छिमेकी देशहरुलाई पनि सम्बन्धित देशले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने बताइएको छ । भारतले अनुदानको रुपमा उक्त खोप उपलब्ध गराउन लागेको हो ।
भारतले शनिबारदेखि नै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको छ । उसले अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकता दिई खोप दिन थालेको हो ।
भारतले अक्स्फोर्ड एस्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गर्दै आएको छ । सोही खोप उसले आफ्ना नागरिकलाई प्रदान गरिरहेको छ भने अब छिमेकीलाई समेत उपलब्ध गराउन लागेको हो ।