अभिनेत्री आशा भुसाल आफूलाई औधी रुचि भएको क्षेत्र कलाकारिता भएकाले यसमै करिअर बनाउन संघर्षरत रहेको बताउँछिन् । सिन्धुली, कमलामाईमा जन्मेकी उनी शिक्षाशास्त्रकी स्नातक हुन् । पढाइ र मोडलिङलाई एकसाथ अघि बढाउँदै आएकी उनले ‘सुनौलो संसार’ टेलिसिरियलबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । तीन वटा भोजपुरी फिल्ममा मुख्य अभिनेत्रीका रूपमा अभिनय गरेकी उनी नेपाली फिल्ममा स्थापित हुन संघर्षरत छिन् । उनले केही नेपाली फिल्ममा अभिनय गरेकी छिन् । ‘‘दुश्मनी’ र ‘सुनपानी’ दर्शकले पनि ‘नोटिस’ गरेका फिल्म हुन्,’ आशा भन्छिन्, ‘दलितको विषयवस्तुमा बनेको सुनपानी विश्वप्रसिद्ध फिल्म अवार्ड अस्करका लागि नेपालको तर्फबाट मनोनयनमा पनि परेको थियो ।’ दलितले भोग्नुपर्ने सामाजिक भेदभाव र उत्पीडनलाई मुख्य विषय बनाइएको फिल्म ‘सुनपानी’मा आशाले दलित युवतीको भूमिका निर्वाह गरेकी छिन् । ‘फिल्ममा मेरो अभिनयको धेरै तारिफ गरेका थिए,’ उनी भन्छिन् ।
आशालाई सकेसम्म ‘बेस्ट’ काम गरूँ भन्ने लाग्छ । भन्छिन्, ‘स्क्रिप्टमा कल्पना गरिएको क्यारेक्टरमा आफूलाई ढालेर अभिनय गर्ने कोसिस गर्छु । तर, फिल्म सम्पूर्णतः टिम वर्क हो । फिल्मको कथा, कथा भन्ने तरिका, कथाको सान्र्दभिकता, कलाकारको अभिनय आदि सबै पक्ष मिलेपछि मात्रै फिल्मले दर्शक तान्न सक्छ जस्तो लाग्छ ।’
तीन दर्जनभन्दा बढी म्युजिक भिडियो र केही विज्ञापनमा समेत अभिनय गरेकी उनी फिल्मको संख्या बढाउने भन्दा पनि आफ्नो अभिनयमा निखार ल्याएर दर्शकको मन छुने फिल्ममा अभिनय गर्न प्रतीक्षारत रहेको बताउँछिन् । ‘फरक खालको भूमिका गर्दा दर्शक तथा समीक्षकबाट सकारात्मक कमेन्ट पाइने रहेछ भन्ने थाहा पाएपछि म अझै मेहनत गर्न लागिपरेकी छु,’ उनी भन्छिन्, ‘सात वर्ष कलाकारितामा लागेर पनि फिल्मको संख्या धेरै भएन भनेर म हतास भएकी छैन । आफूलाई रुचि भएको क्षेत्रमा निरन्तर लागिपर्दा एक दिन अवश्य सफल हुन सकिन्छ भन्ने विश्वास भएर नै मैले कलाकारितालाई मुख्य पेशा बनाउने निर्णय गरेकी हुँ ।’
परिवारबाट पूर्ण साथ र समर्थन पाएकी उनी घरखर्च कसरी चलाउने, काठमाडौँमा कसरी टिक्ने भन्ने तनावबाट मुक्त छिन् । ‘म्युजिक भिडियो तथा विज्ञापनमा अभिनय गर्दा हुने आम्दानीले आफूलाई चाहिने खर्च पुग्छ,’ आशा भन्छिन्, ‘राम्रो कलाकार बन्छु भन्ने अठोट गरेर लागिसकेपछि कमाइ भएन भनेर चिन्ता गर्ने कुरा पनि आउँदैन ।’
अभिनेता वीरेन्द्र हमालसँग एक्टिङ क्लास लिइरहेकी उनी हिजोआज ‘कादम्बिनी’ फिल्मको वर्कसपमा व्यस्त छिन् । छिट्टै फ्लोरमा जाने तयारी रहेको यो फिल्ममा उनले अभिनेता आयुष रिजालसँग स्क्रिन सेयर गर्नेछिन् । ‘फिल्म ‘सुनपानी’मा मेरो अभिनय हेरेपछि कादम्बिनी फिल्म युनिटले मलाई छनोट गरेको हो,’ आशा भन्छिन् ।
नेपाली फिल्ममा भन्दा भोजपुरी फिल्ममा पारिश्रमिक आकर्षक हुने भए पनि तत्काल भोजपुरी फिल्मतिर लाग्ने सोचाइ नभएको उनी बताउँछिन् । ‘भोजपुरीको अनुभव बटुलिसकेकाले अब नेपाली फिल्ममै राम्रो अभिनय गरेर स्थापित हुने कोसिस गर्छु,’ उनी भन्छिन् । कलाकारमा हुनुपर्ने लगाव र धैर्य आफूमा भएको बताउने उनी कलाकारिताबाहेक अन्य क्षेत्रमा मन नडुलाउने बताउँछिन् । भन्छिन्, ‘केही वर्ष फिल्मको रंगिन दुनियाँको चमकदमक हेरिहालुँ भनेर म यो क्षेत्रमा आएकी होइन् । सानैदेखिको कलाकार भन्ने रहरले मलाई यो क्षेत्रमा डो¥याएको हो ।’
फिल्मको रंगिन दुनियाँका अँध्यारा पाटालाई चिर्दै अघि बढ्ने साहस गर्नेहरू नै स्थापित हुन सक्ने आशा बताउँछिन् । अभिनयमा रुचि छ भन्दैमा, अरूले ‘राम्री छेस् हिरोइन बन्नुपर्छ’ भनेर हौसाएको भरमा मात्रै फिल्म तथा मोडलिङ क्षेत्रमा हाम्फाल्न नहुने उनको सुझाव छ । आफूले काम गर्ने चाहेको विधाका बारेमा आधारभूत ज्ञान लिएर र कम्तीमा स्नातक तहसम्मको शिक्षा लिएर फिल्म क्षेत्रमा लाग्नुपर्ने उनको भनाइ छ । ‘कलाकार बन्ने भएपछि किन पढ्नुप¥यो भनेर बीचैमा पढाइ छोड्ने, राम्री छँदैछु भनेर अभिनय तथा कलाकार बन्न चाहिने अन्य सीप हासिल नगर्ने र हचुवाका भरमा फिल्म लाइनमा लाग्नेले राम्रो काम गर्न सक्दैनन्,’ आशा भन्छिन् ।