काठमाडौँ– प्रमुख विपक्षी नेकपा एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी देखिएका मन्त्रीहरुको राजीनामा माग गरेका छन् । बर्तौँलाले संसद बैठकमा मन्त्रीको राजीनामा मागेका हुन् ।
‘पुस १३ गते सिंगो देशलाई शोकमा डुबाउने घटना भयो । सरकारले आयोग बनायो । आयोगको निष्कर्ष बहालवाला भौतिक मन्त्रीको लापरबाहीको कारणले त्या घटना भयो र दुई युवकको मृत्यु भयो भन्ने छ,’ बर्तौलाले भने । कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित ईपीएस कोरिया शाखा कार्यालय परिसर र चक्रपथ सडकमा प्रदर्शन भएको थियो । त्यसक्रममा मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो भने प्रदर्शनमा सहभागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।
उक्त घटनामा मन्त्री ज्वाला पनि दोषी रहेको छानबिन प्रतिवेदनको निष्कर्ष हुँदा पनि कारबाही नभएको भन्दै उनले बर्खास्तीको माग गरेका हुन् । ‘आयोगले सरकारको मन्त्री दोषी भन्यो । तर, मन्त्री पदमा बहाल हुनुहुन्छ । त्यसकारण घटनामा जोडिएका मन्त्रीलाई अविलम्ब हटाइयोस् । बर्खास्त गरियोस्,’ उनले भने ।