बागमतीसँग पुलिस ७ विकेटले पराजित

राम्रो अनलाइन     ०४ माघ २०७७, आइतबार
बागमतीसँग पुलिस ७ विकेटले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिाताको आफ्नो पहिलो खेलमा विभागीय टोली पुलिस क्लब बागमती प्रदेशसँग ७ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा बलियो टोली पुलिस पराजित भएको हो ।

पुलिसले टस हारेर पहिलो ब्याटिङ गरेको थियो । उसले २९.३ ओभरमा अलआउट हुँदै मात्र ११२ रन बनाउन सक्यो । जवाफमा ११३ रनको लक्ष्य बागमतीले ३४.४ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

बागमतीका लागि पृथु बास्कोटाले नटआउट ४८ रन बनाए । त्यस्तै उनलाई राम्रो साथ दिएका इशान पाण्डे नटआउट १७ रन जोडे । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले पनि १७ रनको योगदान गरे भने अदिल खान १२ रनमा बोल्ड आउट हुन पुगे ।

पुलिसका लागि दिपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीले समान १÷१ विकेट हात पारे ।

यसअघि ब्याटिङ गरेको पुलिस बागमतीका बलरसामु निरह रह्यो । उसका ७ ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २१÷२१ रन जोड्दा ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले पनि समान १७÷१७ रन बनाए ।

पुलिसलाई सस्तैमा समेट्न बागमतीका युवा खेलाडी तिलक भण्डारीले ४ विकेट हात पारे । उनले ७.३ ओभर बलिङ गर्दा १ मेडन राखेर मात्र १७ रन खर्चिए । त्यस्तै नन्दन यादवले पनि समान ४ विकेट लिए । ९ ओभर बलिङ गरेका उनले १ मेडन राखेर ३१ रन खर्चिए । यसैगरी रामनरेश गिरीले २ विकेट हात पारे ।

यसैबीच अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि ८० रनको जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ११५ रनमै अलआउट भएको हो ।

आर्मीले टस जितेर पहिले ब्याटिङ गर्दै ४३.१ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो । जवाफमा कर्णाली ३३.३ ओभरमा ११५ रनमै अलआउट भएको हो।

आर्मीका लागि सुशान भारीले ४ तथा शहब आलमले ३ विकेट लिए ।

यसअघि पनि आर्मीले आफ्नो पहिलो खेलमा गण्डकी प्रदेशमाथि ९८ रनको फराकिलो जित निकालेको थियो । 

प्रतिक्रिया