अयोध्यामा नवनिर्मित राममन्दिरको 'प्राण प्रतिष्ठा' आज हुँदै

राम्रो अनलाइन     ०८ माघ २०८०, सोमबार
अयोध्यामा नवनिर्मित राममन्दिरको 'प्राण प्रतिष्ठा' आज हुँदै

काठमाडौँ –  भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । नवनिर्मित भव्य राम मन्दिरमा भगवान श्रीरामको मूर्तिको प्राण प्रतिष्ठासँगै मन्दिरमा पुजा शुभारम्भ हुने छ ।

भारतमा भइरहेको उत्सवलाई नेपालमा पनि धार्मिक संघ संगठनले उत्साहका साथ स्वागत गरेका छन् । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन धर्मावलम्वीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

नेपालबाट माता सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुगेका छन् । नेपालबाट राममन्दिरका लागि शिला, जल र विभिन्न उपहार पठाइएको छ । विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र मर्यादा पुरुषोत्तम श्रीरामको जन्मभूमिमा भव्य मन्दिर बन्नु र उक्त मन्दिरमा भगवान रामको मूर्तिको प्राण प्रतिष्ठा हुनु आफैमा ऐतिहासिक दिनका रुपमा लिइएको  छ ।

यस अवसरमा पूरै अयोध्या सहरलाई हजारौँ क्विन्टल फूलले सजाइएको छ। भव्य राम मन्दिरलाई ३ हजार किलो फूलले सजाइएको छ । अभिषेकपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिर निर्माण गर्ने मजदुरहरूसँग भेट गर्नेछन्। कुबेरटिलामा गएर उनले भगवान् शिवको पूजा गर्ने  कार्यक्रम पनि रहेको छ । साँझ दीप प्रज्वलन गरी देशभर फेरि दीपावली मनाइँदैछ ।

राम जन्मभूमि ट्रस्टका अनुसार कार्यक्रमको सबै तयारी पूरा भएको छ। प्राण प्रतिष्ठा समारोहमा आमन्त्रित व्यक्तिहरू अध्योध्या पुग्ने क्रम जारी छ। समारोहमा प्रमुख सन्त, नेता, फिल्मका कलाकार, खेलाडीहरूलगायत ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति हुनेछ।
 

प्रतिक्रिया