अतीतमा अल्झेको संसार

एजेन्सी     ०७ चैत २०७७, शनिबार
अतीतमा अल्झेको संसार

दी इकोनोमिस्ट

राजनीति गर्नेले जहिले पनि अतीतबाट फाइदा लिन्छन्। वर्तमानमा पनि धनी राष्ट्र तथा उदाउँदा अर्थतन्त्र अचानक ‘नोस्टाल्जिया’को प्रकोपमा परेका छन्। दक्षिणपन्थी होस् या वामपन्थी, लोकतन्त्र होस् या एकतन्त्र, सबै विगतको महिमा गाइरहेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकालाई फेरि महान् बनाऔँ’ को रटान लगाइरहँदा राष्ट्रपति सी जिनपिङ ‘चिनियाँ सपना’ को कुरा गरिरहेका छन्। 

एक शताब्दीको अपमानलाई बिर्साएर उनी चीनलाई सुनौलो युगमा फर्काउन चाहन्छन्। मेक्सिकोका नयाँ राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज ओब्राडोर विश्वव्यापी पुँजीवादको जोडदार प्रतिरोध गरेर आफ्नो देशको आर्थिक स्वतन्त्रता कायम गर्ने अभियानमा छन्। 

पोल्यान्डका सबैभन्दा शक्तिशाली नेता जारोस्लाव कजिन्स्की सोभियत कम्युनिज्मको अन्तिम चिह्नलाई समेत मेटेर परापूर्वकालको पोलिस मूल्य पुनर्जागृत गराउन चाहन्छन्। 

स्मृतिको यस्तो ताण्डव किन चल्यो त ? देशैपिच्छे यसका फरक कारण छन्। उदाउँदा देशमा अतीतको प्रतिष्ठाले भविष्यको विजयलाई अभिव्यक्त गर्छ। चीनले गत ४० वर्षमा ठूलो परिवर्तन र विकास गरेको छ। 

उसलाई लाग्छ, ऊ कुनै महान् सफलताको सँघारमै पुगेको छ। भारतमा हिन्दू राष्ट्रवाद ब्युँतिरहेको छ। नरेन्द्र मोदीको नेतृत्वमा यो देश आफ्नो भू–राजनीतिक महत्व बढेको खुशी मनाइरहेको छ। 

धनी देशमा भने नोस्टाल्जियाले फरक यथार्थलाई संकेत गर्छ। हेनरी ज्याक्सन सोसाइटीकी सोफिया गास्टनले भनेझैँ सम्पन्न संसारमा ‘ओरालो लागेको सर्वव्यापी भावना’ले नोस्टाल्जियालाई जन्म दिन्छ। लगभग दुईतिहाइ बेलायतीहरू जिन्दगी अहिलेभन्दा पहिले सुन्दर थियो भन्छन्। 

दुईतिहाइ नै फ्रान्सेलीहरूलाई अहिले आफ्नो घरमा बसेजस्तो महसुस हुँदैन। यस वर्षको ‘वल्र्ड ह्याप्पिनेस रिपोर्ट’ अनुसार अमेरिकीहरू असन्तुष्ट बन्दै गएका छन्। धनी र विकासशील देशका अधिकांश मानिस रोबोट र स्वचालित प्रविधिले असमानता झन् बढाउने र रोजगारी खोस्ने विश्वास गर्छन्। 

सन् २०१७ मा २८ देशमा गरिएको सर्वेक्षणमा आधाभन्दा बढी सहभागीले आगामी दिनमा आफ्नो जीवनस्तर जहाँको त्यहीँ रहने वा अझ खराब हुने आशंका गरेका थिए। जापानमा १५ प्रतिशत मात्रै मान्छे आफ्ना सन्तान आफूभन्दा धनी हुने ठान्छन्। 

धनी देशको निराशाभन्दा उदाउँदो देशको आशावाद बढी यथार्थ भएको अनुसन्धानहरूले प्रमाणित गरेका छन्। संसारभर मानिसको औसत आयु बढिरहेको छ। युद्ध वा अनिकालको मारमा पर्नेहरूको संख्या घटिरहेको छ। शिक्षाको पहुँच बढ्दा विभेद घटिरहेको छ। 

तर, आधारहीन भनेर निराशा र नोस्टाल्जियालाई खारेज गर्नु ठीक हुँदैन। यी शक्तिशाली चीज हुन्। यिनले राजनीतिको दिशा बदलिरहेका छन्। नोस्टाल्जियाले आशावादी र निराशावादी दुवैलाई उस्तै व्यवहार गर्छ। यसले संसार परिवर्तन भइरहेको जनाउँछ। 

आर्टिफिसियल इन्टेलिजेन्सलगायत नयाँ प्रविधिले सम्पूर्ण उद्योगलाई नै गडबड तुल्याइदिने खतरा छ। यसले राज्य र नागरिकको सम्बन्धलाई तलमाथि पार्न सक्छ। दुई शताब्दीपछि शक्ति पश्चिमबाट चीनतर्फ सरिरहेको छ। इतिहासको कुनै पनि समयभन्दा अहिले पृथ्वी छिटो बूढो भइरहेको छ। यसको जलवायु परिवर्तन भइरहेको छ। जाति र संस्कृति सबैभन्दा बढी मिसिएका छन्। 

यस्तो क्षणमा मानिसहरूलाई नोस्टाल्जियाले आकर्षित गरेको छ। किनभने त्यो आश्वासन र आत्मसम्मानको स्रोत हो। ब्रेक्जिट चाहनेहरूको आशा के छ भने युरोपेली युनियन छोडेपछि बेलायत पुनः पहिलेझैँ गतिशील र विश्वव्यापी बन्नेछ। 

क्याटलानवासी भिन्न पहिचानको खोजीमा आफ्नो आदर्श अतीतलाई कोट्याइरहेका छन्। भ्रष्टाचार र मन्दीले आक्रान्त ब्राजिलीहरूले नयाँ राष्ट्रपति चुनेका छन्, जो तीन दशकअघि फालिसकिएको सैन्य तानाशाहको प्रशंसा गर्छन्। ट्रम्पले कोइला र फलामको कुरा गर्दा सीमान्तमा पारिएका फोहोर र मृतप्रायः उद्योगमा काम गर्ने मान्छेहरूले आफ्नो भाउ बढेको महसुस गरे। 

धनी विश्वमा अरू कसैको प्रगतिको विचारविरुद्ध विद्रोह गर्ने तरिका पनि बनेको छ, नोस्टाल्जिया। ‘नियन्त्रण आफ्नो हातमा लिने’ प्रेरणा बनेको छ। जर्मनीको अतिदक्षिणपन्थी शक्तिलाई पहिलेको पूर्वी जर्मनीमा बढी समर्थन छ। त्यहाँका मतदाता आफ्नो समुदाय र सुरक्षा गुमेकोमा पछुतो मान्छन्। 

बिहान–बेलुका छाक टार्न नसकेका कारण फ्रान्समा पहेँला भेस्टधारीहरूले शँ एलिजीका झ्याल फुटाए। राष्ट्रपति इम्यानुएल म्याक्रोँले राष्ट्रिय समृद्धि र व्यक्तिगत आर्थिक सुरक्षाबीच गरेको बन्दोबस्तको प्रस्ताव तिनले खारेज गरिदिए। 

यसले नोस्टाल्जियालाई खतरनाक बनाउँछ। विगतमै फर्किनुपर्छ भन्ने तिनको माग नहुन सक्छ। उनीहरूले मात्र गति कम गर्न चाहेका हुन सक्छन्। तथापि, यस्तो जडताले अधोगतिको आभासलाई अझ तीक्ष्ण बनाउँछ। 

त्यसमाथि अतीतमुखीहरूले खोजेको आत्मसम्मानले प्रायः अन्य जातिप्रति घृणा बढाउँछ। भारतमा हिन्दू राष्ट्रवादको पुनरुत्थानपछि मुस्लिममाथि घृणाजन्य अपराध बढेका छन्। पश्चिममा दक्षिणपन्थीहरू विगतमा रहेको श्वेत जाति र संस्कृतिको रजगजलाई सम्झिन्छन्। 

वामपन्थीहरूसमेत विश्वव्यापी व्यापार संयन्त्रको विरोध गर्छन्। त्यसैले यहुदीविरोध बढ्नु कुनै दुर्घटना मात्र होइन। अतीतमुखी जेरेमी कोर्बिनको नेतृत्वमा रहेको बेलायतको लेबर पार्टीमा यहुदीप्रति घृणा बढिरहेको छ। 

यही जातिघृणाको कलंकका कारण प्रगतिवादीहरू सबै अतीतमुखीलाई पूर्वाग्रही ठान्छन्। जसले गर्दा प्रगतिशीलहरू समाजको एउटा सिंगो हिस्साको डरलाई बेवास्ता गर्न पुग्छन्। यही सोलोडोलो मूल्यांकनका कारण लोकप्रियतावादीहरू नोस्टाल्जियाको फाइदा लिन यति धेरै सफल भएका हुन्। उनीहरू सजिलै जितिरहेका छन्।

नोस्टाल्जियालाई राम्रो कामका लागि पनि उपयोग गर्न सकिन्छ। बीसौँ शताब्दीको सुरुवातमा युरोप र अमेरिका दुवै नोस्टाल्जिक बनेका थिए। नयाँ प्रविधि, भू–राजनीति र सांस्कृतिक परिवर्तनले त्यसबेलाको विश्वलाई अहिलेझैँ प्रभावित बनाएको थियो। 

त्यसपछि युद्ध तथा सामाजिक उथलपुथलको समय आयो। त्यसले सर्वव्यापी मताधिकार र सबैका लागि शिक्षाको बाटो खोलिदियो। आजका राजनीतिकर्मीले त्यो समयबाट सिक्न सक्छन्। निश्चय नै तिनले युद्धबाट बच्नैपर्छ। त्यसका लागि देशहरू मिलेर काम गर्ने वातावरण बनाउने संस्थालाई संरक्षण र संवद्र्धन गर्नुपर्छ। तर, असुरक्षा र अलगावलाई ठीक गर्ने साहसिक तरिका पनि उनीहरूले खोज्नैपर्छ। 

यसका लागि नागरिकको जीवन सहज बनाउन काम गर्नुपर्छ। सबैलाई शिक्षा उपलब्ध गराउनुपर्छ। कर प्रणालीको सुधार, शहर तथा क्षेत्रलाई अधिकार हस्तान्तरण तथा जलवायु संकट टारेर आप्रवासको कुशल व्यवस्थापन गर्नुपर्छ। 

संसार चलाउने एउटा तरिका असफल भएपछि र अर्को तरिका पत्ता नलाग्दासम्म अतीतबाट महत्वपूर्ण पाठ सिक्न सकिन्छ। जब हरेक चिज निरर्थक लाग्छन्, तब इतिहास सबैभन्दा ठूलो शिक्षा बन्न पुग्छ। तपाईं को हो र कहाँबाट आउनुभएको हो भन्ने कुराले ठूलो अर्थ राख्छ। 

पक्षपातलाई त्यागेर क्षितिज फराकिलो पार्नु विगतलाई उपयोग गर्ने सबैभन्दा उत्तम तरिका हो। कठिन समस्याको सामना गरेर मात्रै प्रगति गर्न सकिन्छ भन्ने ज्ञान इतिहासको सही बुझाइले दिन्छ। कहिलेकाहीँ यसले पनि प्रेरणा दिन सक्छ। 

अनुवादः के. गिरी

प्रतिक्रिया