संस्कृति र परम्पराको प्रभावमा बाँच्नु गुलामी हो । अर्काे कुनै व्यक्ति र बजारको सिफारिसमा बाँच्नु भनेको गुलामी हो । गुलामीले कहिल्यै पनि मानव कल्याण गर्दैन । हामी संस्कृति, परम्परा, रीतिथिति, मान्यता र धारणाको गुलाम बन्दै आइरहेका छौँ ।
संस्कृति संरक्षण विश्वकै जल्दोबल्दो विषय बनिरहेको छ । आफ्नो इतिहास जोडिएको अतीत, पहिचान र आजसम्मको प्राप्ति वा उपलब्धिसम्म संस्कृतिको महत्व रहने हुँदा यसलाई संसारभर उच्च रूपमा लिइएको हो । पछिल्ला दशकमा संस्कृति पर्यटनको अभिन्न अंगका रूपमा स्थापित भएपछि यो अर्थाेपार्जनको सशक्त माध्यम पनि भएको छ । वर्तमानको संस्कृति संरक्षणको विषय अति प्राथमिकतामा पर्नुको पछाडि पर्यटन उद्योगको ठूलो हात छ । अर्काेतर्फ पहिचानको राजनीतिले पनि संस्कृतिलाई एक प्रमुख मुद्दा बनाइरहँदा हाम्रो देशमा मात्र होइन, संसारभर संस्कृतिको विषय जबर्दस्त बहसमा छ ।
बन्धन कि पहिचान ?
पहिचान र आफ्नो समुदाय वा सभ्यता विकासको आधार भएका कारण संस्कृतिको महत्व र गरिमालाई विशेष स्थान दिनु अस्वाभाविक मान्न सकिन्न । तर, कतिपय अवस्थामा संस्कृतिसँग जोडिएर आउने संस्कार, दृष्टिकोण, प्रथा, परम्परा र जीवनशैली मानिसको सम्पूर्ण विकासका लागि बाधा पनि बन्ने गरेका छन् । मानिसका लागि संस्कृति चिनारी मात्र होइन, बन्धन पनि हो । यस्तो बन्धन जसले मानिसको सम्पूर्णतालाई पाइला–पाइलामा अवरोध गरिरहन्छ । संस्कृतिसँग परिवार र समाज सञ्चालनका वैज्ञानिक विधि र आधार मात्र हुँदैनन्, अन्धविश्वास, अर्थहीन कर्म र कतिपय अवस्थामा पीडा र हिंसासमेत हुन्छन् ।
संस्कृतिको पालना गर्ने भन्नेबित्तिकै मौलिकता रहँदैन । कसैले उहिल्यै निर्धारण गरिदिएको मान्यता, विधि र पक्रिया वहन गर्नु भनेको अरूको विचार र धारणालाई आत्मसात् गर्नु हो । संस्कृति वहन गर्ने भनेपछि सम्बन्धित व्यक्ति वा समाजको आधुनिक मान्यता र सोचको खासै स्थान हुुँदैन । उहिलेको परम्परालाई आज पनि बोक्ने, विगतका आधारमा निर्धारित नीति–नियमलाई आज पनि अक्षरशः स्विकार्ने परिपाटीलाई नै संस्कृतिप्रतिको विशेष श्रद्धाका रूपमा अथ्र्याइन्छ ।
नेपाली संस्कृति कमजोर भयो भनेर एकथरी मानिसले ठूलो चिन्ता व्यक्त गरिरहेका छन् । खास गरी, पाश्चात्य पर्व र संस्कृतिप्रति नेपालीको बढ्दो रुचिलाई लिएर नेपाली संस्कृति संरक्षण पक्षधरहरू कतिपय अवस्थामा आक्रोशितसमेत हुने गरेका छन् । अरूको समाज वा संस्कृतिलाई कमजोर पार्ने उद्देश्यले सम्बन्धित देश र संस्कृतिमाथि अतिक्रमण गर्नु कुनै पनि अर्थमा जायज होइन । नेपाली संस्कृति र सभ्यतामाथि यो वा त्यो बहानामा अन्य संस्कृति थोपर्ने प्रयास हुँदा त्यसविरुद्ध आवाज उठ्नुलाई अस्वाभाविक मान्न सकिन्न ।
जसरी हामी हाम्रो संस्कृति मेटिने भो वा नासिने भो भनेर चिन्तित छौँ र संरक्षणका लागि यथासक्य प्रयत्न पनि गरिरहेका छौँ, त्यसरी नै हामीले अनुसरण गर्दै आएको संस्कृति ठीक छ कि छैन भनेर समीक्षा पनि गर्न सक्नुपर्छ । हाम्रो संस्कृतिले निर्धारण गरेका सम्पूर्ण विधि र प्रक्रिया अहिलेको समयसुहाउँदो छ ? कतै संस्कृति मानिराख्ने नाममा हामीले दुःख र हैरानी त बेहोरेका छैनौँ ? संस्कृतिको खिलाफ जान नमिल्ने पाबन्दीका कारण हाम्रो जीवनको विकास त रोकिएको छैन ? हामीले मान्दै आएका संस्कृति र परम्पराका विषयमा यसरी प्रश्न गर्नैपर्छ । यसरी प्रश्न नगर्ने हो भने हामी समाजमा प्रचलित उही ‘बिरालो बाँधेको कथा’को पात्र मात्र बन्नेछौँ ।
सोच्न छाडेपछि...
निरन्तरतामाथि प्रश्न नउठाई कुनै पनि रूपान्तरण सम्भव छैन । निरन्तरतासँगको विद्रोहलाई नै हामी क्रान्तिकारिता भन्ने गर्छाैं । विगतदेखि चल्दै आएको मान्यताविरुद्ध धावा बोल्ने व्यक्ति नै क्रान्तिकारी हो । संस्कृतिमाथि प्रश्न गर्नु वा प्रथा, पर्व र सदियौँदेखिका सामाजिक मान्यताविरुद्ध उभिनु सहज कर्म होइन । यसरी परम्पराविरुद्ध उभिनेहरू सम्बन्धित समाज र राज्यका नजरमा दुश्मनसमेत प्रतीत हुन्छन् ।
अहिले हामीले भगवान् मानेका गौतम बुद्ध तत्कालीन समयका क्रान्तिकारी व्यक्ति हुन् । उनलाई अनुसरण गर्न लगाइएको संस्कृति, परम्परा र मान्यतासँग उनले विद्रोह गरे । ईश्वर छ कि छैन ? कहिल्यै अन्त्य नहुने सुख पाइन्छ कि पाइँदैन ? दुःख मानिसको नियति हो कि छनोट हो ? लगायत प्रश्न गरेकै कारण एक जना सामान्य राजकुमार संसारकै शान्ति र प्रेरणाका दूत बने । अरूले जस्तै संस्कृति र परम्परालाई मानेर ‘मरेपछि स्वर्ग गइन्छ’ भन्दै उनी बसेका भए सिद्धार्थ बुद्ध बन्ने थिएनन् । संसारका जति पनि सन्त पुरुष छन्, उनीहरू ले परम्परामाथि शंका र प्रश्न गर्ने आँट गर्दै यो ठीक हो कि होइन भनेर सत्यको खोज गरेका हुन् ।
हामीले पनि परम्परा, प्रथा, मान्यता र संस्कृतिप्रति प्रश्न गर्न सक्नुपर्छ । हामीले चाहेको रूपान्तरण र परिवर्तनका लागि निरन्तरतामा क्रमभंगताको अवस्था सिर्जना हुनैपर्छ । फ्रेन्च दार्शनिक अल्बर्ट स्वेजरलाई नोबेल पुरस्कार प्रदान गर्ने समारोहमा ‘मानव जातिको सबैभन्दा ठूलो खराबी के हो ?’ भनेर सोधिएको थियो । यति गम्भीर प्रश्नको उत्तर सरल भाषामा दिँदै उनले भनेका थिए, ‘वी स्टप थिङकिङ ।’ अर्थात्, मानव जातिले सोच्न छाड्नु नै उसको सबैभन्दा ठूलो कमजोरी हो भन्ने स्वेजरको निष्कर्ष थियो । यहाँ सोच्न थाल्नु भन्नुको अर्थ चिन्ता लिनु वा दिमागमा विचार खेलाइरहनु भन्ने होइन । आफूले जेलाई ठीक मानिएको छ, आफूले जे गर्दै आइएको छ, आफूसँग जेजस्ता मान्यता, बुझाइ र दृष्टिकोण छन्, ती ठीक हुन वा होइनन् भनेर चिन्तन गर्नु भनिएको हो । मैले जे बुझेँ, ठीक छ कि छैन ? मलाई संस्कार, समाज र परम्पराको नाउँमा जे सिकाइएको छ, त्यो सही हो कि होइन ? भनेर नसोच्नु नै मानिसको सबैभन्दा ठूलो खराबी हो भन्ने स्वेजरको भनाइ हो ।
परम्परा र बानी
अहिले भारतमा गौ अर्थात गाईको रक्षाको विषय आन्दोलनका रूपमा अगाडि बढिरहेको छ । खास गरी, हिन्दू धर्मसँग सम्बन्धित संघसंस्थाहरू गाई रक्षाको विषयलाई जोडतोडका साथ अगाडि बढाइरहेका छन् । ‘गाई रक्षा’को बहानामा कतिपय स्थलमा गैरहिन्दू भारतीयको ज्यानसमेत गइरहेको छ । हिन्दू धर्म–संस्कृतिले गाईलाई आमा मान्छ । यहाँ गाईको मासु खानु त के, गाई मार्ने कल्पना गर्नुसमेतलाई महापाप मानिन्छ । हिन्दू धर्मका अनुसार गाईको मासु खानु भनेको सम्पूर्ण रूपमा मतिभ्रष्ट हुनु हो । गाईको मासु खाने मानिसले कहिल्यै उन्नति गर्न सक्दैन भन्ने कतिपय हिन्दू शास्त्रको मत छ । हिन्दू धर्मले यसो भनिरहँदा हामीले के भुल्नु हुँदैन भने संसारका बहुसंख्यक मानिस गाईको मासु खान्छन् । मुसलमान र इसाईलाई गाईको मासु खान धार्मिक र सांस्कृतिक रूपमा रोकतोक छैन । यदि ‘काउ मिट’ खाँदा मानिस सम्पूर्ण रूपमा भ्रष्ट हुने हो भने क्रिस्चियन धर्म मान्ने अधिकांश युरोप र अमेरिकी देशहरू ले यस्तो औधी आर्थिक र सामाजिक विकास कसरी गर्न सकेका होलान् ? हाम्रो सांस्कृतिक मान्यताको नजरले हेर्ने हो भने त उनीहरू कमजोर मात्र होइन, विनाशको सँघारमा पुग्नुपर्ने हो । हामीले आजसम्म यसरी सोच्ने वा प्रश्न गर्ने हिम्मत गरेका छैनौँ, किनकि हामीले होश सम्हालेदेखि नै गाईलाई माता वा भगवान्का रूपमा स्विकार्दै आयौँ । ‘काउ मिट’ खाने सोच कल्पनामा ल्याउनुलाई नै हामीले अपराध मान्यौँ । मैले यसो भनेर ‘काउ मिट’ खानुपर्छ वा खानु ठीक हो भन्न खोजेको होइन । ‘काउ मिट’ खानु हुन्न भन्नुका पछाडि हामीसँग सुझबुझ र ज्ञान छैन । त्यसै गरी, क्रिस्चियन र मुस्लिम समुदायमा पनि गाईको मासु खानुको खास कारण र तर्क छैनन् । यता ‘काउ मिट’ नखाएर परम्परागत भएको र उता खाएर क्रान्तिकारी भएको पनि होइन । परम्परागत रूपमा जे चल्दै आयो, त्यसलाई अनुसरण गरेको मात्र हो । यो खानु र नखानुमा बुद्धिभन्दा पनि बानीको स्थान बढी छ । मानिस जब बानीमा बाँच्न थाल्छ, तब उसको विकास र सम्भावनाका ढोका बन्द हुँदै जान्छन् । बानीबाट माथि नउठुञ्जेल मानिसले ज्ञान, विज्ञान, कला, प्रयोग र प्राज्ञिकताको कर्म नै गर्न सक्दैन । संस्कृति, परम्परा र मान्यता पनि बानीकै संगठित र व्यवस्थित रूप हुन् । यिनीहरू को सम्पूर्ण प्रभावमा परेको मानिसले आफूलाई माथि उठाउन सक्दैन ।
बानी वा परम्पराले हामीलाई कतिसम्म प्रभावित गर्छ भन्ने विषयमा एउटा ताजा उदाहरण प्रस्तुत गर्न सकिन्छ । नेपालका सम्पूर्ण गाउँ र बस्तीमा मधुमेहका रोगी फैलिसकेका छन् । मधुमेह रोग लागेका प्रायः रोगीले बेलुका भात खाँदैनन्, गहुँको रोटी खान्छन् । भातभन्दा रोटी फाइदाजनक हुन्छ भन्ने आम बुझाइ छ, तर भातभन्दा रोटी झन् खराब पनि हुन सक्छ । गहुँमा ‘ग्लुटिन’ भन्ने तत्व हुन्छ । जुन मधुमेह रोगीका लागि हानिकारक तत्व हो । कुनै पनि डाक्टरले सामान्यतया ‘रोटी नै खाऊ’ वा ‘खानुपर्छ’ भन्दैन । अर्काेतर्फ मधुमेह रोगको सामान्य अवस्थामा कुनै पनि कुरा खानै नहुने भन्ने पनि हुँदैन । मेडिकल साइन्सले ‘यो खाऊ, त्यो नखाऊ’ भन्दा पनि ‘सबै खान सक्छौ, तर मात्रा मिलाएर खाऊ’ भनिरहेको छ । तर, हामी मधुमेह लागेपछि रोटीलाई प्रमुख भोजन बनाउँछौँ । डाक्टरले नभन्दानभन्दै पनि, मेडिकल विज्ञानले सिफारिस नगर्दानगर्दै पनि रोटी खानुपर्छ भन्ने धारणा कहाँबाट आयो ? यसको स्पष्ट जवाफ हामीसँग छैन । तर, मधुमेहका रोगीले रोटी नै खानुपर्छ भन्ने विषयलाई हामीले परम्परा र मान्यताका रूपमा स्विकारिसकेका छौँ । जसको परिणाम हामी रोटी खानु ठीक हो कि होइन भनेर कहिल्यै प्रश्न गर्दैनौँ । ‘मधुमेह लागेको अंकलले रोटी खानुहुन्थ्यो, मलाई पनि अहिले मधुमेह लाग्यो र त्यही भएर म पनि रोटी नै खान्छु’ भन्नुबाहेक हामीसँग कुनै तर्क छैन ।
प्रश्नः रूपान्तरणको आधार
अहिले हामी बडो अनौठो समयमा बाँचिरहेका छौँ । आफूलाई के ठीक छ वा छैन भन्ने मूल्यांकन गर्ने परिपाटी त्याग्दै गइरहेका छौँ । कसैले फिल्म राम्रो नभनी हामी हलमा जाँदैनौँ । कसैले यो किताब राम्रो छ भनेपछि मात्र हामीलाई पढ्ने जाँगर चल्छ । कसैले यो खानु ठीक हुन्छ भनेपछि मात्रै हामी उक्त कुरा खान्छौँ । संस्कृति र परम्पराले पनि हामीलाई यसो गर, उसो नगर भनिरहेको छ र त्यो पाबन्दीलाई हामी तोड्न सकिरहेका छैनौँ । आधुनिकताका नाउँमा प्रचारमुखी बजारले निर्धारण गरेका मानकलाई आधार बनाउँदै हामी स्वमूल्यांकन सामथ्र्य गुमाइरहेका छौँ । संस्कृति र परम्पराको प्रभावमा तथा अरू व्यक्ति र बजारको सिफारिसबाट बाँच्नु भनेको गुलामी हो । गुलामीले कहिल्यै पनि मानव कल्याण गर्दैन । गुलामी भन्नेबित्तिकै हामी अरू देशले गर्ने अतिक्रमण, राज्यले जनतामाथि गर्ने थिचोमिचो वा एक व्यक्ति तथा समुदायले अर्काे व्यक्ति वा समुदायलाई गर्ने दमन र उक्त दमनको स्वीकारोक्तिलाई बुझ्छौँ । तर, हामी संस्कृति, परम्परा, रीतिथिति, मान्यता र धारणाको पनि गुलाम बन्दै आइरहेका छौँ । जबसम्म हामी ठीक–बेठिक, गर्न हुने– गर्न नहुनेलगायत विषयमा प्रश्न गर्दैनौँ, तबसम्म हामी यो वा त्यो रूपमा गुलाम नै रहन्छौँ ।