–आइन्सटाइन दिनमा १० घण्टा सुत्थे
–हरेक दिन हिँड्थे
–स्पागेटी खान्थे
–मोजा लगाउँदैनथे
जारिया गोर्भेट
भौतिकशास्त्री निकोला टेस्ला हरेक रात आफ्ना दुवै कुर्कुच्चा सय–सय पटक बलपूर्वक दबाउँथे । ‘यसरी कुर्कुच्चाको कसरत गर्दा दिमाग तेजिलो बन्छ,’ उनी भन्ने गर्थे । अर्का भौतिकशास्त्री न्युटन चाहिँ ब्रह्मचर्य पालन गर्दा दिमाग तेजिलो हुन्छ भन्ने गर्थे र ब्रह्मचर्यको कडा पालनमा जोड दिन्थे । टेस्ला पनि ब्रह्मचारी थिए ।
विज्ञानको संसारमा कहलिएका यस्ता थुप्रै मानिस छन्, जसका स्वभाव र आनीबानी पृथक् खालका थिए । पाइथागोरस गेडागुडी खाँदैन थिए । बेन्जामिन फ्र्यांकलिन नांगै खुला ठाउँमा उभिएर ‘एयर बाथ’ लिने गर्थे ।
यी वैज्ञानिकहरूको यस्तो स्वभाव ‘लहड’भन्दा बढ्ता पो थियो कि ? जिनसँग व्यक्तिको बौद्धिकता हामीले सोचेभन्दा निकै कम सम्बन्धित हुन्छ भन्ने विभिन्न शोधले देखाइरहेका छन् । तसर्थ, हाम्रो दैनिकीले हाम्रो दिमागलाई धेरै हदसम्म प्रभावित गरिरहेको हुन्छ र हाम्रो सोचाइको ढाँचा परिवर्तन गरिरहेको हुन्छ ।
तेज दिमाग भएकाहरूबारे चर्चा गर्दा भौतिकशास्त्री अल्बर्ट आइन्सटाइनको प्रसंग सबैभन्दा अगाडि आउँछ । परमाणुबाट असीमित शक्ति दोहन गर्ने तरिका सिकाउने आइन्सटाइनले आफ्ना दैनिक क्रियाकलापबाट दिमागका लागि चाहिने ऊर्जा दोहन पो गर्थे कि ? उनका केही स्वभावबारे यहाँ चर्चा गरिएको छ ।
१० घण्टाको निद्रा
दिमागका लागि निद्रा आवश्यक छ भन्ने कुरालाई आइन्सटाइनले बढी नै गम्भीरतापूर्वक लिएका थिए । त्यसैले उनी हरेक दिन १० घण्टा सुत्ने गर्थे, जबकि अहिले अमेरिकीहरू औसत ६.८ घण्टा मात्रै सुत्छन् ।
सन् २००४ मा जर्मनीको लुबेक विश्वविद्यालयमा निद्रा र दिमागबीचको सम्बन्ध पत्ता लगाउन एउटा अनुसन्धान गरिएको थियो । अनुसन्धानअन्तर्गत केही व्यक्तिलाई अंकसम्बन्धी खेल सिकाइयो र ‘ह्याङ’ भइञ्जेल अभ्यास गर्न लगाइयो । खेलमा ‘पजल’ छिचोल्दै क्रमशः भित्र पसेर रहस्य पत्ता लगाउनुपर्ने थियो । आठ घण्टाको ‘ग्याप’पछि सबैलाई पुनः खेल्न लगाउँदा सुत्न दिइएकाले नसुतेकाहरूभन्दा दोब्बर राम्रो ‘पर्फर्म’ गरेको पाइयो ।
हामी सुत्दा दिमागले निश्चित चक्र पार गरिरहेको हुन्छ । हरेक ९० मिनेटदेखि १ घण्टा २० मिनेटका बीचमा हाम्रो दिमागले पातलोे निद्रा, गहिरो निद्रा र स्वप्नयुक्त निद्राको चक्र पार गर्छ ।
अमेरिकाको ओटावा विश्वविद्यालयका न्युरोवैज्ञानिक स्टुवार्ट फोगेल भन्छन्, ‘निदाएको कुल अवधिमध्ये ६० प्रतिशत अवधिमा हामी सपना देख्दैनौँ । सपना नदेखी निदाएको बेला हाम्रो दिमागमा गतिविधि तीव्र हुन्छन् र तरंगका लहर पैदा हुन्छन् । एक चरणको औसत सुताइमा यस्ता गतिविधि हजारौँ पटक दोहोरिन्छन् ।’ यी गतिविधिले मानिसलाई निद्राको अर्को चरणमा क्रमशः पु¥याउँदै लैजान्छ । तसर्थ, जति बढी सुत्यो, दिमागमा यस्ता गतिविधि त्यति नै बढी हुन्छन् ।
यस्ता गतिविधि हुँदा दिमागको थेलामस भन्ने भाग बढी सक्रिय हुनछ । थेलामसले सूचना ग्रहण गरी दिमागको उपयुक्त ठाउँमा यसलाई पठाउने गर्छ । हामी सुतिरहेका बेला यसले कानमा खाँद्ने ठेडीले जस्तै काम गर्छ । अर्थात्, मानिस सुतेको बेला यसले बाहिरका सूचना अथवा होहल्लालाई दिमागभित्र पस्न दिँदैन र मानिस चैनसँग निदाउन पाउँछ । सपनारहित निद्रामा दिमागमा हुने यस्ता गतिविधि दिमागको बाहिरी सतहसम्म पुग्छन् र पुनः भित्र फर्किने गर्छन् । जसको दिमागमा यस्ता गतिविधि बढी हुन्छ, ऊसँग नयाँ समस्या समाधान गर्ने, नयाँ परिस्थिति विश्लेषण गर्ने र त्यस्ता कुराका ढाँचा तथा विभिन्न पक्ष बुझ्ने बढी क्षमता हुन्छ । यसबाट बढी सुत्ने स्वभाव र आइन्सटाइनको तेजिलो दिमागबीच सम्बन्ध रहेको देखिन्छ ।
‘यद्यपि, यस्ता खालका गतिविधिबाट तथ्य र तथ्यांक कण्ठ गर्ने क्षमतालाई तिखार्दैन, मानिसको तार्किक क्षमतालाई चाहिँ यसले बढाउँछ,’ न्युरोवैज्ञानिक फोगेलले भने । औपचारिक शिक्षाको विरोध गर्ने र कुनै पनि कुरा कण्ठ गर्न नहुने मान्यता राख्ने आइन्सटाइनको स्वभावसँग फोगेलले निकालेको निष्कर्ष मिल्दोजुल्दो छ । राति राम्ररी सुत्ने महिला र दिउँसो छोटो निद्रा पूरा गर्ने पुरुषमा तार्किक तथा समस्या समाधान गर्ने क्षमता बढी हुनेसमेत विभिन्न अनुसन्धानबाट पुष्टि भइसकेको छ । ‘निदाउँदा सक्रिय हुने थेलामस र कोर्टेक्स समस्या समाधान गर्ने तथा नयाँ परिस्थिति बुझ्ने क्षमता निर्धारण गर्ने ठाउँ हुन्,’ फोगेलले भने, ‘त्यही भएर निद्रा र यस्ता खालका क्षमताबीच सम्बन्ध भएको हो ।’ आइन्सटाइन दिउँसो छोटो निद्रा पनि लिने गर्थे । यसले पनि उनको दिमागलाई तेजिलो बनाएको हो भन्ने वैज्ञानिकहरूको ठहर छ ।
हरेक दिन हिँड्ने बानी
हरेक दिन हिँड्नु आइन्सटाइनको अर्को स्वभाव थियो । अमेरिका, न्युजर्सीस्थित प्रिन्सटन विश्वविद्यालयमा काम गर्दा उनी हरेक अढाइ किलोमिटरजति पर रहेको निवासबाट हिँडेर विश्वविद्यालय आउँथे । काम सिध्याएपछि हिँडेरै घर फर्किन्थे । अर्का वैज्ञानिक चाल्र्स डार्बिन पनि सधँै ४५ मिनेटजति हिँड्ने गर्थे ।
हिँडाइको सम्बन्ध शारीरिक आरोग्यसँग मात्र छैन, मानसिक स्वास्थ्यसँग पनि छ । हिँडाइले स्मरणशक्ति बढाउने गर्छ । त्यस्तै, रचनात्मक क्षमता र समस्या समाधान गर्ने सीप पनि बढाउने गर्छ । हिँड्दाखेरि हाम्रो दिमाग अन्य कुरामा त्यति सक्रिय हुँदैन । एकपछि अर्को पाइला चाल्नमा र सन्तुलन बिग्रिएर नलडौँ भन्नेमा दिमाग बढी व्यस्त हुन्छ । यसो हुँदा दिमागका केही भाग केही समयका लागि कम सक्रिय हुन्छन् र दिमागको ‘फ्रन्टल लोब्स’मा बढी ध्यान केन्द्रित हुन्छ । शरीरलाई सन्तुलनमा राख्न मद्दत गर्ने दिमागको यो भागको सम्बन्ध मानिसको स्मरणशक्ति, मूल्यांकन क्षमता, भाषासम्बन्धी दख्खल आदिमा पनि हुन्छ । हिँड्दा ‘फ्रन्टल लोब्स’ बढी सक्रिय हुने भएकाले कुर्सीमा बस्दा नफुरेका कतिपय कुरा हिँडेपछि फुर्छन् । हिँडाइसँग दिमागको सम्बन्धबारे बढी कुरा अझै आइनसकेको भए पनि यसले दिमाग तेजिलो बनाउन मद्दत गर्छ भन्नेमा चाहिँ कसैको असहमति छैन ।
भोजनमा स्पागेटी
आइन्सटाइनको मन पर्ने भोजन थियो– स्पागेटी । उनले एकपटक ठट्टा गर्दै भनेका थिए– ‘मलाई इटालीका दुइटा कुरा मन पर्छन् । स्पागेटी र गणितज्ञ लेभी–सिभिटा ।’
कार्बोहाइड्रेट शरीरका लागि त्यति राम्रो होइन । तर, आइन्सटाइन चाहिँ कार्बोहाइड्रेट बढी पाइने स्पागेटी भनेपछि हुरुक्क हुने गर्थे । हामीले खाएको खानाबाट बढी लाभ लिने अंगमा दिमाग पर्छ । शरीरको कुल वजनको दुई प्रतिशत हुने दिमागले शरीरको कुल ऊर्जाको २० प्रतिशत भाग ग्रहण गर्छ । आइन्सटाइनको दिमाग अरूको भन्दा अझ सानो थियो । सामान्यतया दिमाग १४ सय ग्रामको हुन्छ, आइन्सटाइनको दिमाग १२ सय ३० ग्रामको थियो ।
दिमागसँग ऊर्जा सञ्चय गर्ने क्षमता हुँदैन । त्यही भएर शरीरमा ऊर्जाको मात्रा कम भयो भने दिमागले ग्लुकोज, कार्बोहाइड्रेटयुक्त खाना मागिहाल्छ । ‘यस्तो बेला दिमागले कोर्टिसोललगायत स्ट्रेस हार्मोन उत्सर्जन गरेर शरीरभित्र सञ्चय भएको ग्लाइकोसेन तत्व बाहिर निकाल्छ, जसले ऊर्जाको कमीलाई ‘कभर’ गर्छ । तर, यसो गर्दा शरीरलाई हानि हुन्छ,’ ब्रिटेनको रोहाम्पटन विश्वविद्यालयमा मनोविज्ञान तथा शरीरविज्ञानका अध्यापक ली गिब्सनले भने । छाक छोडेको बेला रिंगटा लागेजस्तो अथवा अन्योलग्रस्त भएजस्तो हुने समस्या सञ्चित गरिराखेको ग्लाइकोसेन उपयोग गर्दाको ‘साइड इफेक्ट’ भएको उनी बताउँछन् ।
कार्बोहाइड्रेट कम खाने व्यक्तिले ढिलो प्रतिक्रिया जनाउने गर्छन् र उनीहरूको स्मरण शक्ति अस्थायी रूपमा कमजोरसमेत हुने गर्छ । यसको अर्थ के हो भने दिमाग तेजिलो पार्न शरीरलाई चिनी चाहिन्छ । शरीरमा २५ ग्राम कार्बोहाइड्रेट हुनु फाइदाजनक हुन्छ । आधा प्लेटजति स्पागेटी खाएमा दिमागलाई आवश्यक पर्ने कार्बोहाइड्रेट हासिल हुन्छ । आइन्सटाइनले स्पागेटी बढी मन पराउँथे भनेर उनको जस्तै तेजिलो दिमाग बनाउन खोज्नेले स्पागेटी बढी खाने गर्नु चाहिँ हुँदैन ।
मोजा लगाउँदैनथे
प्रेमिका इल्सालाई विवाह हुनुअघि लेखेको एउटा पत्रमा आइन्सटाइनले भनेका थिए, ‘म जवान छँदा मोजाको कुर्कुच्चामा सधँै प्वाल पर्ने गथ्र्यो । त्यसपछि मैले मोजा लगाउनै छोडिदिएँ ।’ त्यसपछि उनले चप्पल लगाउन थाले । चप्पल नभेट्दा उनी श्रीमतीको कुर्कुच्चा खुला हुने चप्पल लगाएरै निस्किन्थे । तर, जुत्ता लगाउँदैन थिए ।
मोजा नलगाउँदा दिमाग तेजिलो बन्छ÷बन्दैन भन्नेबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन । तर, औपचारिक खालका पहिरन लगाउँदाभन्दा खुकुला आरामदायी किसिमका पहिरन लगाउँदा गम्भीर तथा अमूर्त विषयमा चिन्तन गर्ने क्षमता बढ्छ भन्ने चाहिँ पत्ता लागेको छ । यस अर्थमा मोजा नलगाउने उनको स्वभावलाई अणु–परमाणुजस्ता अमूर्त विषयमा चिन्तन गर्ने उनको क्षमतासँग सम्बन्धित गराउने गरिन्छ ।
–बीबीसी