तनहुँ– भानुभक्तको समाधिस्थल मात्रै नभएर यस ठाउँ धार्मिक तथा ऐतिहासिक क्षेत्रका रुपमा सतीघाटलाई लिने गरिएको छ । डुम्रे भन्सारमा सामान ढुवानी र मुख्य आवतजावतको स्थलका रुपमा पनि सतीघाट परिचित छ ।
डुम्रे बजार मुख्य व्यापारिक केन्द्र हुँदा त्यहाँबाट सामग्री ल्याएर बिक्री वितरणका लागि लैजान पनि यही बाटो हुँदै डुङ्गा, काठको फेरीमार्फत मस्र्याङ्दी नदी पार गरी गोर्खा हुँदै नुवाकोट, काठमाडौँ पुर्याउने गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा भन्सार रहेको र यस क्षेत्रमा नै कर लिने प्रचलन थियो ।
सतीघाट परापूर्वकालदेखि नै धार्मिक एवं ऐतिहासिकरुपमा महत्त्वपूर्ण रहेको त्रिपाठीले बताए । उनका अनुसार विशेषगरी बुटवलबाट बन्दीपुर हुँदै आएका कपडा तथा खाद्यान्न सामग्री गोरर्खा, नुवाकोट हुँदै काठमाडौँ लगिने गरिन्थ्यो । धार्मिक एवं ऐतिहासिक महत्व बोकेको यस स्थानको विकास र संरक्षणका लागि गुरुयोजना निर्माणको तयारी भइरहेको उनले जानकारी दिए ।
‘भानुभक्तसँग सम्बन्धित विषय भएकाले जनस्तरसँग समन्वय गर्दै सतीघाट संरक्षण समिति तथा संवद्र्धन समिति निर्माण गरी गुरुयोजना बनाउने र समितिमार्फत विकास गर्ने तयारी गरेका छौँ’, त्रिपाठीले भने, ‘यसका लागि बजेट पनि विनियोजन गर्ने छौँ । पुरानो क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि पुल निर्माण गर्ने योजना बनाएका छौँ ।’
बाइसेचौबिसे राज्यका बेलामा सेनाले पदयात्रा गर्ने मुख्य नाका यही रहेको उनले जानकारी दिए । बाइसी चौबिसी राज्यका बेलामा सेनासहित पृथ्वी नारायण शाहले बाटो प्रयोग गरेको इतिहास छ । शाहले राज्य एकीकरणको समयमा कालु पाण्डेलगायत सेना सतीघाट (मस्र्याङ्दी नदी) पार गरी आवतजावत गर्ने मुख्य बाटो भएको स्थानीय बताउँछन् । तनहुँ सुरका राजा, गोर्खाली राजा एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने मुख्य नाका यही भएकाले यसक्षेत्र विशेष महत्त्वपूर्ण रहेको स्थानीय बताउँछन् ।