व्यवसाय गर्नेहरू सबै लक्ष्मीपुत्र मानिन्छन् । व्यवसायीका लागि धनकी देवी लक्ष्मी आमा नै हुनुहुन्छ । अफिसमा हरेक दिन गणेश र लक्ष्मीको पूजा गरिन्छ । तर, लक्ष्मीपूजाका दिन विशेष पूजाआजा हुन्छ । ढुकुटी र खातापाताको पूजा गरिन्छ ।
लक्ष्मीपूजाको दिन एक दाउ जुवा खेल्नैपर्ने चलन छ । यो दिन एक दाउभन्दा बढी चाहिँ खेल्न नहुने मान्यता छ । राशिअनुसार लक्ष्मीपूजाको लगन जुर्छ । विशेष गरेर सिंह लगनमा लक्ष्मीपूजा गर्दा बढी फलिफाप हुन्छ भन्ने मान्यता छ । लक्ष्मीपूजासँगै मारवाडी समुदायमा ‘स्नेह मिलन’ कार्यक्रम पनि आयोजना हुन्छ । यस्तो कार्यक्रममा आफूभन्दा ठूलासँग आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । लक्ष्मीपूजाको दुई दिनअघि धनतेरसको दिन ढुकुटीबाट पैसा निकाल्नु हुँदैन । यो दिन सुन वा चाँदीको एउटा सिक्का किनेर ढुकुटीभित्र भएको थैलीमा राख्नुपर्छ । धनतेरसको दिन यही एउटा सिक्काबाहेक अरू सामान नकिन्ने प्रचलन छ । धनतेरस र लक्ष्मीपूजाका दिन कसैलाई पनि भुक्तानी नदिने चलन छ ।