हरेक वर्ष विश्व स्वास्थ्य संगठनले सेप्टेम्बर १० लाई आत्महत्या रोकथाम दिवसका रूपमा मनाउने गरेको छ । यो दिन विश्वभरि नै आत्महत्या रोकथामका लागि जनचेतनामूलक विभिन्न कार्यक्रम आयोजना गरिन्छन् । नेपालमा भने सरकारी तहबाट आत्महत्या रोकथाम दिवसमा विशेष कार्यक्रम आयोजना गरिएको पाइँदैन । केही गैरसरकारी संस्था तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने यो दिन जनचेतना जगाउन विभिन्न गतिविधिका साथै अन्तरक्रियात्मक कार्यक्रम गर्ने गरेका छन् ।
मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी मनाइँदै छ । आत्महत्या गर्ने सोच बनाएको व्यक्तिलाई यदि हामीले एक पल दिन सक्यौँ भने उसलाई आत्महत्या गर्नबाट जोगाउन सक्छौँ । यदि हामीले बेलैमा पहिचान गरेर सम्बन्धित व्यक्तिको कुरा सुन्न सक्यौँ र उसको उपचार गराउन सक्यौँ भने आत्महत्याको प्रयासलाई रोक्न सकिन्छ ।
जानी–जानी आफ्नो जीवन अन्त्य गर्नुलाई आत्महत्या भनिन्छ । यो एक जटिल मानसिक, जैविक एवं सामाजिक घटना हो । आफ्ना समस्याप्रति पूर्ण रूपले असहाय र निराश भएर जिन्दगी जिउनुभन्दा मर्नु उचित ठानी आत्महत्या गरिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार बर्सेनि १० लाख अर्थात् प्रत्येक ४० सेकेन्डमा एक जनाको आत्महत्याका कारण मृत्यु हुने गर्छ । हरेक ४ सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छ भने हरेक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्छ । यो संख्या विद्यमान युद्ध, आंतकारी हमला वा हत्या हिंसाले एकसाथ निम्त्याउने वार्षिक मृत्युदरभन्दा बढी हो । सन् २०२० सम्म आत्महत्याले मर्नेहरूको संख्या प्रतिवर्ष १५ लाख पुग्ने अनुमान गरिएको छ । सन् २०१२ मा गरिएको एक अध्ययनले नेपालको आत्महत्याको दर संसारभरिमै सातौँ उच्च भएको देखिएको छ । नेपालमा आत्महत्याको तथ्यांक राम्रोसँग संकलन गरिँदैन । नत्र, यो स्थान अझै माथि हुन सक्ने अनुमान गरिएको छ । प्रायः पुरुषभन्दा महिलाले बढी आत्महत्याको प्रयास गर्छन् । तर, पुरुष नै बढी मर्ने गरेका छन् । विश्वका प्रायः सबै ठाउँमा बालबालिका तथा किशोर किशोरीले आत्महत्या गर्ने क्रम बढ्दो छ ।
आत्महत्याका कारण
आत्महत्याका थुप्रै अस्पष्ट कारण हुन्छन् । आत्महत्याको प्रयास गर्नेमध्ये झन्डै ९५ प्रतिशत मानसिक रोगले ग्रस्त पाइएका छन् । तीमध्ये डिप्रेसन प्रमुख (८० प्रतिशत) मानिन्छ । त्यस्तै, सिजोफ्रेनिया, डिमेन्सिया, रक्सी तथा लागुपदार्थ दुव्र्यसन, व्यक्तित्व गडबडी आदि पनि मानसिक रोगमै पर्छन् ।
आत्महत्याबारे केही अन्धविश्वास छन् । जसले गर्दा पनि यसको रोकथामका उपाय अपनाउन सकिएका छैनन् । ‘साँच्चै आत्महत्या गर्ने व्यक्तिले यसबारे केही कुरा गर्दैनन्’ भन्ने अन्धविश्वास छ । वास्तवमा हरेक प्रयासअघि कुनै न कुनै रूपमा कसै न कसैलाई आत्महत्याबारे सम्बन्धित व्यक्तिले व्यक्त गरेकै हुन्छ । तर, धेरैले यसलाई गम्भीर रूपमा लिँदैनन् । जसले गर्दा आत्महत्याको संकेत गरेका मानिसलाई जोगाउन सकिँदैन । ‘आत्महत्या गर्ने अठोट गरेकालाई कसैले रोक्न सक्दैन’ भन्ने अन्धविश्वास पनि छ । साँच्चै भन्ने हो भने उचित ध्यान एवं उपचार पाएमा अधिकांश आत्महत्याका प्रयासलाई रोक्न सकिन्छ । ‘आत्महत्यासम्बन्धी सोधपुछ गर्दा आत्महत्या गर्ने सोच बढ्छ’ वास्तवमा सोधपुछले रोकथामका बाटो खुलाउँछ ।
आत्महत्या प्रयास गर्नेलाई के गर्ने, के नगर्ने ?
आत्महत्याको प्रयासलाई चिकित्सकीय एवं मानसिक संकटकालीन घटनाको रूपमा लिनुपर्छ र तुरुन्त अस्पतालको आकस्मिक विभागमा लग्नुपर्छ । लाज, डर, संकोच मानेर वा हल्का घटना ठानेर हेलचेक्य्राइँ गर्दा बचाउन सकिने ज्यान गुम्न सक्छ ।
आकस्मिक उपचारपछि तत्काल मानसिक रोग विशेषज्ञको परामर्श लिनुपर्छ । मानसिक रोग भए÷नभएको, आत्महत्याको भवितव्य खतरा भए÷नभएको निक्र्यौल गरी उपचार गराउनुपर्छ । फेरि प्रयास गर्दा झन् खतरनाक उपाय अपनाउन सक्ने हुँदा बिरामीलाई अत्यन्त सावधानीपूर्वक निगरानीमा राख्नुपर्छ । विशेषज्ञको सल्लाहबमोजिम नियमित औषधि, मनोचिकित्सकको निगरानीमा राख्नुपर्छ । परिवार, आफन्त वा अन्यले पनि संवेदनशील भएर मद्दत गर्नुपर्छ । गालीगलौज गर्ने, लज्जित पार्ने वा सजाय दिएर सो व्यक्तिलाई थप पीडा दिनुहुन्न । सुरक्षित एवं आत्मीय वातावरणमा सो व्यक्तिलाई आफ्नो भावना व्यक्त गर्न दिनुपर्छ ।
आत्महत्या रोकथाम
सही समयमा उचित कदम चालेर, उपचार गरेर, सजग भएर आत्महत्यालाई रोक्न सकिन्छ । अधिकांश आत्महत्या मानसिक रोगको प्रतिफल हुने हुँदा सर्वप्रथम त मानसिक स्वास्थ्य प्रवद्र्धन हुने सबै खाले कदम फलदायी हुन्छन् । यसका लागि आत्महत्या एवं मानसिक रोगसम्बन्धी चेतना वृद्धि प्रमुख प्राथमिकतामा पर्छ । जनमानसमा मात्र नभई स्वास्थ्यकर्मी, अभिभावक, शिक्षक, समाजसेवी, राजनीतिज्ञलगायत सबै तहमा चेतना वृद्धि आवश्यक छ । जोखिमका संकेत देख्नासाथ उचित हस्तक्षेप गर्नु रोकथामको प्रमुख कडी हो । मिडियाले पनि आत्महत्याका घटनालाई संवेदनशील भएर प्रसारण गर्नुपर्छ ।
सरोकार पक्षद्वारा आत्महत्याका साधनका पहुँच घटाउने हिसाबले नियम–कानुन बनाएर पनि आत्महत्या रोकथाम गर्न सकिन्छ । पश्चिमा देशमा गाडीको धुवाँमा कार्बनमोनोअक्साइड न्यून हुने प्रविधि अपनाउन थालेदेखि र घरेलु बन्दुक बिक्रीवितरणमा कडाइ गरेदेखि आत्महत्या गर्नेको संख्या घटेका उदाहरण छन् । छिमेकी देश श्रीलंकामा कीटनाशक औषधि बेचबिखन र भण्डारणमा कडा नियम–कानुन ल्याएपछि आत्महत्याका घटनामा कमी आएको पाइन्छ । यस्तै किसिमले सर्तक भएर नेपालमा पनि आत्महत्याका घटनामा कम गर्न सकिन्छन् । आत्महत्या रोकथामका लागि सम्बन्धित सरोकारवालाहरूले गम्भीर भएर आवश्यक अध्ययन गरी आफ्नै परिस्थितिअनुकूल दीर्घकालीन योजना ल्याउनुको विकल्प छैन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको छ । मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन अझै चुनौती छ । संयुक्त राष्ट्रस¬ङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०) मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ । (डा. शाक्य पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक हुन्)