काठमाडौँ–सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले व्यक्ति स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा जोगाउने गरी काम गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन्।
सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदानपछि आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोकमा आयोजित समारोहमा उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सङ्गठनको गरिमा र छविलाई उच्च बनाई राख्न निःस्वार्थ भावनाका साथ अघि बढ्नुहोस् ।’
कार्यक्षेत्रमा आइपर्ने जस्तोसुकै कठिन परिस्थिति र चुनौतीको समाना गर्न सङ्गठनका राष्ट्रसेवकहरु एक ढिक्का भएर लाग्नुपर्ने उल्लेख गर्दै उनले सशस्त्र प्रहरी कर्मचारीको वृत्तिविकासलाई ध्यान राख्दै सङ्गठनले कदम चालिरहेको उल्लेख गरे । उनले पदोन्नतिसँगै थप भएको जिम्मेवारीलाई कर्तव्यनिष्ठ र लगनशील भई त्रुटिरहित ढङ्गबाट सम्पादन गर्न पनि निर्देशन दिए । नेपाल सरकार गृह मन्त्रालय ९सचिवस्तर०को भदौ १३ को निर्णयले ८४ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायब उपरीक्षकमा बढुवा भएका थिए।
आजको कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिति रहेको थियो । हिजो आइतबार सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा हुनुभएका अधिकृतहरुलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए। नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को भदौ १२ गतेको निर्णयले ५६ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरु सशस्त्र प्रहरी उपरीक्षकमा बढुवा भएका थिए।