हिन्दु, बौद्धलगायत विभिन्न धर्मावलम्बी मिलेर मनाइने होली पर्वलाई सामाजिक सद्भावको पर्व पनि भन्न सकिन्छ । उचनीच, धनीगरिब, ठूलोसानो केही भेदभाव नहेरी सबै मिलेर मनाइने पर्व हो यो ।
–हरिराम जोशी
होली नेपाल र भारतमा प्राचीनकालदेखि निकै प्रचलित विशिष्ट पर्व हो । यस पर्वलाई मदनोत्सव वा वसन्तोत्सवका रूपमा पनि मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आउने पर्व भएकाले उपर्युक्त नाम रहन गएको हो भन्ने मलाई लाग्छ । शीतकालको अन्त्य भई वसन्तको बहारसँगै यो पर्व प्रारम्भ हुन्छ । त्यसैले शीतकालका पीडा, उत्पीडनबाट उन्मुक्त भई मानवसहित सम्पूर्ण प्रकृतिमा नै बहार आउने हुँदा यो पर्वलाई विजयोत्सवका रूपमा पनि मनाइन्छ । यस प्राचीन उत्सवको आरम्भिक शब्दरूप होलाका थियो । जैमिनीपूर्वमीमांसासूत्र १।३।१६ यस कुराको साक्षी रहेको छ । छुवाछूत, जातिहरूबीच भेदभाव केही नराखी सबै मानिसबीच आपसी एकताको भाव सन्निहित हुने भएकोले यसलाई आपसी भाइचाराको भावना वृद्धि हुने पर्वका रूपमा पनि लिइन्छ । एक आख्यानअनुसार यो पर्व प्राचीनकालमा निम्नस्थ वर्गमा मात्र प्रचलित थियो । तर, अहिले यो सबैका निम्ति रमाइलो गर्ने उत्सवका रूपमा स्थापित भइसकेको छ ।
फागुनको पूर्णिमाको दिन खेलिने होली पर्वको प्रादुर्भावबारे विभिन्न विचार हामीले सुनेका छौँ । दानवराज हिरण्यकशिपुले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई बहिनी होलिकासँगै आगोमा राखी दाह गर्ने प्रयास गरेका थिए । तर, प्रह्लादको साटो अग्निले नछुने वरप्राप्त होलिका स्वयं नै दाह भएको घटनाबाट नै होली उत्सव मनाइएको विचार बढी प्रचलित छ । संवत् आरम्भ भएको एवं वसन्तागमनको निमित्त जुन यज्ञ गरिन्छ र त्यसद्वारा अग्निका अधिदेव स्वरूपको जुन पूजन हुन्छ, अनेकौँ शास्त्रकारहरूले यसलाई होलिकाको पूजन मानेका छन् । यसै कारण कुनै कुनै शास्त्राकारहरूले होलिका दहनलाई संवत्को आरम्भमा अग्निस्वरूप परमात्माको पूजन मान्छन् । फाल्गुुण पूर्णिमाको दिन चतुर्दश मनुमध्ये एकको जन्मदिन पनि हो । यसकारण यो मन्वादि तिथि पनि हो । यसर्थ त्यसको उपलक्ष्यमा पनि उत्सव मनाइन्छ ।
त्यस्तै, होली पर्व कृष्णलीलाका कारण बढी प्रचलित छ । यमुना नदीमा गोपिनीहरू निर्वस्त्र भई नुहाउने गर्दथे । यसरी नुहाउनु अशोभनीय कार्य रहेको हुँदा श्रीकृष्णले ती गोपिनीलाई पाठ सिकाउन तिनीहरू नुहाइरहेको बेला तिनका सम्पूर्ण वस्त्र रूखमा झुण्ड्याइदिएका थिए । आइन्दा नदीमा निर्वस्त्र भई ननुहाउने वाचा गरेपछि मात्रै श्रीकृष्णले ती वस्त्र फिर्ता गरिदिएका थिए । चीरोत्थान गर्दा फहराइने विभिन्न रंगीचंगी कपडा झुण्ड्याउने परम्परा यही घटनाको सम्झनामा गरिएको मानिन्छ ।
होली पर्वको सम्बन्ध श्रीकृष्ण, भक्त प्रह्लादसँग मात्र होइन, शिवसँग पनि रहेको छ । पहिले–पहिलेका मानिसहरू होलीका बेला ‘सुमेरू या शिव बाँला रसिया’ भन्दै गीत गाउने गर्दथे ।
धर्मशास्त्रका वर्णनअनुसार होली पर्व आठ दिन मनाइन्छ । नेपालमा पनि उपत्यकालगायत विभिन्न स्थानमा फाल्गुणशुक्ल अष्टमीका दिन चीरोत्थान गरेदेखि आठ दिनसम्म होली पर्व मनाउने चलन छ । काठमाडौँमा वसन्तपुर कुमारी घरछेउमा चीरोत्थान गरिन्छ भने पाटनमा दरबार क्षेत्रनजिकै रहेको कृष्ण मन्दिरअघिल्तिर । काठमाडौँको वसन्तपुरमा ठड्याइने ध्वजापताकासहितको रङबिरंगी तीनतले चीरले तीन त्रिभुवन, स्वर्ग, पृथ्वी र पाताल, सबैतिर यो पर्व उल्लासपूर्वक मनाइने संकेत गर्दछ । पाटन दरबार प्रांगणमा कृष्ण मन्दिरअघिल्तिर रंगीचंगी कपडा झुण्ड्याइएको रूख ठड्याइन्छ । यो रूखरूपी चीर ठड्याउनुलाई माथि उल्लिखित कृष्णलीलाको वास्तविक प्रतिविम्ब मान्न सकिन्छ । ललितपुरको हरिसिद्धिमा हुने जात्रा, भक्तपुरको भैरव मन्दिरमा गरिने भीमसेनको लिंगको जात्रा आदि फरक प्रकृतिले मनाइने फागु पर्व हुन् । भक्तपुरस्थित स्थानीय दत्तात्रेय मन्दिरसँगै रहेको भैरव मन्दिरमा लिंगको आकृति भएको काठ र योनि आकारमा चिरिएको रातो कपडालाई एकापसमा जुधाएर होलीको सुरुवात गर्ने परम्परा छ । भीमसेनको लिंग र दौपदीको योनिका रूपमा लिइने यो परम्परा फागु पर्वको अश्लील पक्ष हो । भीमसेनको लिंगरूपी काठलाई विभिन्न टोलमा घुमाएर पुनः मन्दिरमा लगेर झुण्ड्याएपछि होली पर्व सुरु भएको मानिन्छ । यसले यो पर्वलाई कामुकताको प्रतीकका रूपमा पनि लिन सकिने देखिन्छ । वास्तवमा होली पर्वको रौनक ऋतु परिवर्तनसँगै आउने शिलाचह्रे (शिवरात्रि) बाटै सुरु हुने गर्छ ।
होलीलाई थारू समुदायले फगुवा पर्व भन्ने गर्छन् । उनीहरू १० दिनसम्म यो पर्व मनाउँछन् । थारूहरू नाचगानमा निकै धनी जाति हुन् । उनीहरू फगुवामा रोटीका विभिन्न परिकार, मासुका थरीथरी परिकार बनाउने गर्छन् । होलिका दहन गर्न थारूहरू परालको छाप्रो बनाई त्यसभित्र प्रह्लादको प्रतीकका रूपमा कुखुराको भालेलाई खुल्ला छाडेर बाहिरबाट आगो लगाउने गर्छन् । आगो लाग्न थालेपछि भाले भाग्दछ । होलिकाको रूपमा दानवराजको महल आगोले ध्वस्त भई प्रह्लादका रूपमा कुखुराको भाले जीवित भई अमरत्व प्राप्त गरेको मानिन्छ । फगुवा थारूको निकै ठूलौ पर्व हो । त्यसैले यो पर्व मनाउन आफ्नो गाउँठाउँ छाडेर बाहिर गएका मानिस पनि घर फर्किने गर्छन् ।
यो पर्व ख्रिष्टाब्दपूर्वदेखि नै प्रचलित थियो । यो उत्सव पूर्णिमान्त गणनाअनुसार वर्षको अन्त्यमा हुन्थ्यो । होलीलाई हेमन्त र पतझडको अन्त्य सूचकका रूपमा लिइन्छ भने वसन्तलाई प्रेममय लीलाहरूको द्योतक । त्यसैले वसन्तागमनलाई मस्ती भरिएको गाना, नृत्य एवं संगीतका साथ उल्लासपूर्वक मनाइन्छ । यसका लागि रंगिन जल एवं राता रङ, अबिर भरिएको लोला हान्ने परम्परा अझै यथावत् छ । अहिलेसम्मको अध्ययनले नेपालमा होली पूर्वमध्यकालदेखि मनाइन लागेको देखिन्छ । खेतमा बाली काटिसकेपछि मनाइने पर्व भएकाले पनि मानिसहरू फुर्सदमा हुने हुँदा मनोविनोदादि कार्य अत्यधिक मात्रामा हुने गर्दथे ।
पहिले–पहिले झौ (लाहा) को गोलामा अबिर पानी मिसाएर होली खेल्ने गरिन्थ्यो । झ्यालमा, बार्दलीमा बसेका केटीहरूलाई ताकेर हान्ने लाहाका गोला भोटतिरबाट आएका व्यापारीले ल्याउँथे । बेलुन, प्लास्टिक जस्ता चिजहरूको प्रयोग हुँदैनथ्यो । टोलछिमेक सबै मिली खेलिने होली निकै रौनकमय हुन्थ्यो । केटीहरू जिस्काउन केटाहरू भाका हालेर विभिन्न गीत गाउँथे ।
हिन्दु, बौद्ध लगायतका विभिन्न धर्मावलम्बी मिलेर मनाइने यो पर्वलाई सामाजिक सद्भावको पर्व पनि भन्न सकिन्छ । उचनीच, धनीगरिब, ठूलोसानो केही भेदभाव नहेरी सबै मिलेर मनाउने यो पर्व मनाउने तरिकामा व्यापक परिवर्तन आइसकेको छ । जबर्जस्ती रङ दल्ने, फोहर पानीले छ्याप्ने जस्ता छाडापन र अराजक समूहको अश्लील व्यवहारका कारण सामाजिक सद्भावको यो पर्व मनाउनेको संख्या घट्दै गएको छ । प्रकृति र ऋतु परिवर्तनसँग सोझो सम्बन्ध रहेको यस पर्वलाई सद्भाव कायम गरी हर्षोल्लासपूर्वक मनाउनसके कालान्तरसम्म यसको महत्व रहिरहनेछ ।
(संस्कृतिविद् जोशीसँग शिशिर वैद्यले गरेको कुराकानीमा आधारित ।)