शास्त्रमा वर्णित फागु 

राम्रो अनलाइन     २२ फागुन २०७९, सोमबार
शास्त्रमा वर्णित फागु 

पुराणमा होली चाडबारे विभिन्न रोचक, ज्ञानबर्धक जानकारी पाइन्छ, जसमा बालक कृष्ण र पुतना, तन्नेरी कृष्ण र गेपिनीहरू एवं भक्त प्रह्लाद र होलिकाको प्रसङ्गले बढी प्रसिद्धि पाएको छ ।

श्रीकृष्णको जन्म विष्णु भगवान्को आठौँ अवतारको रूपमा भएको थियो । श्रीकृष्णलाई महाभारत, भागवत महापुराण, हरिवंश आदि ग्रन्थमा सर्वोपरि परमात्माको रूपमा व्याख्या गरिएको छ । यी ग्रन्थहरूमा कृष्णलाई बालसुलभ कार्य गरेर सबैलाई चकित पारेको, गोपिनीसँगको रासलीला र महाभारतको प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । पुतना वधलाई पनि फागु पर्वसँग जोडेर वर्णन गरिन्छ । फागुको बेला हनुमान ढोका, वसन्तपुर र पाटन कृष्ण मन्दिरको अगाडि मयलको काठ ठड्याएर रङ्गीन कपडाको टुक्राहरू टाँगेर चीर गाड्ने प्रचलन छ । यसलाई गोपिनीहरूको यमुना स्नानसँग जोडिएको छ । एक दिन गोपिनीहरू यमुनामा जलक्रीडा गर्न गएका थिए । गोपिनीले आफ्ना सबै वस्त्र फुकालेर  नुहाउन गए । श्रीकृष्णले नदीको स्वच्छताबारे चेतना जगाउन गोपिनीहरूका ती रङ्गीन वस्त्र रुखमा झुन्ड्याइदिनु भयो । गोपिनीहरूले आफ्नो गल्ती स्वीकार गरेपछि ती वस्त्र फर्काउनु भयो । त्यसैको प्रतीक हनुमानढोकामा ड्याइएको मयलको काठको चीरमा तीन तहको ससाना कपडा टाँगिन्छ । चीर सेलाउने दिन चीरमा टाँगिएका कपडा स्थानीयबासीले साना बच्चालाई रक्षा गर्न प्रसादस्वरूप लैजान्छन् । 

यस्तै होलीको प्रसङ्ग हिरण्यकशिपुका पुत्र प्रह्लादसँग पनि जोडिएको छ । बालक प्रह्लाद सधैँ विष्णुको नाम जप्ने र भजनकीर्तन गर्दथे । राक्षसराज हिरण्यकशिपुले विभिन्न तरिकाले सम्झाउने प्रयत्न गरे । साम, दाम, दण्ड, भेद सबै नीति अवलम्बन गरे । तर प्रह्लादको नसा नसामा भक्ति रस दौडिरहेको थियो । गर्भमा हुँदै उनले नारदबाट भक्ति मार्ग र विष्णु नाम जप्नेबारे ज्ञान प्राप्त गरेका थिए । त्यसैले उनले विष्णु नाप जप्न छोडेनन् । पहाडबाट खसाल्ने, हात्तीलाई कुल्चिन लगाउने, सर्पद्वारा डसाउने जस्ता विभिन्न कार्य गर्दा पनि प्रह्लादलाई केही नभएपछि हिरण्यकशिपुले आफ्नी बहिनी होलिकासँग छलफल गरे । दाजुबहिनीको छलफलपछि होलिकाले ब्रह्माबाट पाएको वरदानको स्मरण गर्दै प्रह्लादलाई आफूसँगै अग्निमा राखेर दाह गर्ने निर्णय गरिन् । होलिकालाई आगोले नजलाउने वरदान ब्रह्माबाट प्राप्त थियो । होलिका लामो समयदेखि समाज सेवामा समर्पित थिइन् । कुनै घरमा आगो लागेर मानिस बाहिर निस्कन नसक्ने अवस्थामा उनी आफ्नो ज्यानको वास्ता नगरेर आगोमा प्रवेश गरेर धनजन सुरक्षित ढङ्गले बाहिर निकाल्थिन् । उनको यस्तो कामको सबैतिर प्रशंसा हुन्थ्यो । सृष्टिकर्ता ब्रह्माले उनलाई आगोले नजलाउने विशेष वरदान प्रदान गरेका थिए । होलिकाले त्यही वरदानको दुरुपयोग गर्दै सुकेको काठले तयार पारेको ठूलो वेदीमा आफ्नो भदालाई काखमा लिएर बसिन् । हिरण्यकशिपुका सिपाहीहरूले आफूले पाएको निर्देशनअनुसार होलिका बसेको वेदिकामा आगो लगाइदिए । प्रल्हाद विष्णुको स्मरण गर्दै पूर्ण रूपले भक्ति रसमा डुबे । अग्निदेवले बालक प्रल्हादलाई नडढाएर नियमविरुद्ध कार्य गर्ने, वरदानको दुरुपयोग गर्ने होलिकालाई जलाइदिए । यसरी वरदानको दुरुपयोग गर्नेलाई शिक्षा दिँदै अग्निले होलिकालाई जलाएको शुभ दिनको स्मरणमा फागु मनाउने चलन परम्परादेखि चल्दै आएको छ । फागुको विभिन्न रस्ममध्ये होलिका दहन प्रमुख हो । 

प्रतिक्रिया